काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संविधानको मर्म अनुरुप स्वास्थ्य सेवा विस्तारका लागि नीतिगत व्यवस्था गरिने बताएका छन्।
आइतबार मन्त्रालयमा कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै उनले नेपाल सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरुमा दोहोरोपना हुन नदिन सरकारले कार्यान्वयनको नीति अघि सार्ने तथा विद्यमान नीतिमा पुनरावलोकन गरिने बताए।
'यसका लागि स्थानीय तथा प्रदेश सरकार एवं विकास साझेदार निकायहरुसँग सहकार्य गरिने छ' उनले भने।
आँखा उपचार, अटिजम, वंशाणुगत, रक्तजन्य रोग सिकलसेल एनिमिया, लुपस रोग मानसिक रोगसँग क्रियाशिल संस्थाहरुसँग साझेदारी गरिने उनले जानकारी दिए।
दुर्गममा स्वास्थ्य सेवा लैजान जनशक्ति व्यवस्थापन, स्वास्थ्य सेवा प्रवाहमा प्रतिष्ठान मेडिकल कलेज तथा विशिष्टीकृत अस्पतालसँग साझेदारी र समन्वय गरी काम गरिने छ।
गाउँगाउँ सेवा सेवा लैजान पहल गरिने, स्थानीय तहसँगको समन्वयमा पाँच वर्षमुनिका बालबालिका किशोरी तथा आमाहरुको पोषण स्तर बुझी उपलब्ध स्वास्थ्य सेवामा समावेश गरिने कुपोषितहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिने उनले बताए ।