काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण गरिने बताएका छन्।
आइतबार मन्त्रालयमा कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै उनले राष्ट्रिय गुणस्तर मापदण्ड लागू गरी औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण गर्दै उपचार तथा निदानमा प्रयोग हुने सम्पूर्ण मेडिकल डिस्पोजेवल, इम्प्लान्ट तथा उपकरणहरुको आयात तथा उत्पादनमा गुणस्तर सुनिश्चित गरिने बताए।
साथै उनले औषधिको मूल्य समायोजन गरिने समेत बताए।
विभिन्न औषधि नेपाल सरकारले नै सिधै स्वदेशी वा विदेशी उत्पादक कम्पनी/ देशसँग ख़रीद गरी उचित मूल्यमा अस्पताल फार्मेसीमार्फत विक्री वितरणका लागि विगतमा भएका अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न आवश्यक संस्थागत र कानुनी प्रवन्ध गरिने पनि उनले बताए।
साथै नेपाली औषधि उत्पादनलाई प्रोत्साहन गर्ने सम्बन्धमा विगतमा भएका अध्ययनलाई समेत पुनरावलोकन गरी कार्यान्वयनका लागि आवश्यक प्रवन्ध गरिने, औषधि व्यवस्था विभाग अन्तर्गतका निकाय र प्रदेश कार्यालयहरु र प्रयोगशालाको संरचना पूर्वाधार र जनशक्तिको विस्तार गरी औषधि र गुणस्तर नियमनलाई व्यवस्थित र प्रभावकारी बनाइने बताए।
नेपाल औषधि लिमिटेडलाई ब्यवस्थित गर्न र औषधि उत्पादनका लागि आवश्यक श्रोतको ब्यवस्थाका लागि पहल गरिने समेत उनले बताए।