मुटुमा रक्तसञ्चार बन्द भएको अवस्थामा रगतका धमनी वा शिराबाट पठाई रक्तसञ्चार प्रभावकारी बनाउन जाली आकारको सानो धातुले बनाएको नलीको प्रयोग गरिन्छ, जसलाई स्टेन्ट भनिन्छ। यो धातुले बनाइएको हुन्छ। मुटुमा साँघुरिएको नशालाई तारको माध्यमबाट हटाई उक्त स्थानमा स्टेन्ट राखिन्छ।
एन्जियोप्लास्टी सर्जरी र स्टेन्ट
मुटुरोग अन्तर्गत हृदयाघातको उपचारको एक विधीका रुपमा एन्जियोप्लास्टी सर्जरीलाई लिइन्छ। मुटुमा साँघुरिएको नशालाई तारको माध्यमबाट हटाई साँघुरिएको स्थानमा स्टेन्ट राख्ने काम गरिन्छ। स्टेन्ट विभिन्न प्रकारका धातुबाट बनाइएको हुन्छ। कुनै स्टेन्टमा धातुका साथै औषधिको समेत प्रयोग गरिएको हुन्छ। स्टेन्टमा प्रयोग हुने औषधि तथा धातुका आधारमा स्टेन्टलाई छुट्याइएको हुन्छ।
यद्यपि समग्रमा भन्नुपर्दा स्टेन्ट एकै प्रकारका हुन्। स्टेन्टको प्रयोग गरी मुटु साँघुरिएको अवस्थालाई उपचार गर्ने विधिलाई भने एन्जियोप्लाटी सर्जरी भनिन्छ। स्टेन्ट औषधि भएको तथा नभएको गरी मुख्यतया दुई प्रकारको हुन्छ। नेपालमा अहिले बढी मात्रामा औषधिको प्रयोग भएको स्टेन्ट प्रयोग हुने गरेको छ। सबै स्टेन्टमा एकै प्रकारका औषधिको प्रयोग हुँदैन। यद्यपि स्टेन्टको काम भने एउटै हो।
बिरामीको क्ल्निीकल अवस्था, मुटुमा बन्द भएको नशाको लम्बाइ तथा चौडाइको आधारमा कस्ता बिरामीलाई कस्तो प्रकारको स्टेन्ट दिने भन्ने निर्धारण गरिन्छ। जस्तै, सानो तर लामो खालको स्टेन्ट केही सीमित कम्पनीहरुको मात्रै छ, आवश्यकता अनुसार स्टेन्ट लगाउनुपर्ने हुन्छ। कुनै विशेष अवस्थामा मात्रै कुनै प्रकारको स्टेन्ट लगाउनैपर्छ भन्ने चाहिँ हुँदैन।
हालसम्म नेपालमा स्टेन्ट उत्पादन गर्ने कुनै पनि कम्पनी छैनन्। यसरी मुटु रोगको उपचारमा प्रयोग हुने सबै प्रकारका स्टेन्ट विदेशबाट नै आयात हुँदै आएको छ। गंगालाल अस्पतालमा धेरै मात्रामा प्रयोग हुने स्टेन्ट अमेरिकाबाट आयात हुने गरेको छ।
स्टेन्टको प्रयोग र उपचार खर्च
एन्जियोप्लास्टी शल्यक्रियाका लागि गंगालाल अस्पतालले निर्धारण गरेको शुल्क ८० हजार हो। बिरामीको अवस्था अनुसार उपचारको क्रममा स्टेन्टको प्रयोग गर्नुपर्दा थप करिब ८० हजार खर्च लाग्छ। बिरामीको अवस्था अनुसार कसैलाई एक भन्दा बढी स्टेन्टको समेत प्रयोग गर्नुपर्ने हुनसक्छ।
स्टेन्ट र जनशक्ति
मुटु रोग विशेषज्ञले नै एन्जियोप्लास्टिक सर्जरीका क्रममा स्टेन्ट लगाइदिन सक्छन्। यद्यपि यस प्रकारको शल्यक्रिया गर्नका लागि इन्टभेसन कार्डियोलोजिस्टको आवश्यकता पर्नेगर्छ। मुटु रोग विशेषज्ञ भित्रको फरक विधाको रुपमा इन्टभेसन कार्डियोलोजीलाई लिइन्छ। गंगालाल अस्पतालमा १२ – १५ जना इन्टरभेसनल कार्डियोलोजिस्ट कार्यरत छन्।
स्टेन्ट सेवाको विस्तार
१० वर्ष अगाडिसम्म काठमाडौं उपत्यकाका सीमित अस्पतालहरुमा मात्रै यो सेवा पान्थ्यो। अहिलेउपत्यका बाहिरका विभिन्न अस्पतालहरुमा समेत विस्तार भइसकेको छ। उदाहरण्का लागि काठमाडौं बाहिर बिएन्डसी मेडिकल कलेज, नोबल मेडिकल कलेज, विराट अस्पताल,वीरगन्ज, भरतपुर, मेडिसिटी अस्पताल, पोखराका विभिन्न अस्पताल तथा देशभरी नै यो सेवा विस्तार भइसकेको छ।
स्टेन्ट दोहोर्याएर राख्नुपर्छ ?
धेरै मानिसहरुमा एकपटक लगाइसकेपछि अर्काे पटक स्टेन्ट लगाउनुपर्ने अवस्था आउँदैन। यद्यपि थोरै मानिसहरुमा भने पुनः स्टेन्टको प्रयोग गर्नुपर्ने अवस्था पनि आउन सक्छ। एकपटक उपचारको क्रममा स्टेन्ट प्रयोग गरिसकेका ५–१० प्रतिशत मानिसहरुमा भने पुनः स्टेन्टको प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने अध्ययनहरुले देखाएको छ। यसको प्रयोग गर्नुपर्ने अवस्था प्राय जुनसुकै उमेर समूहका मानिसहरुमा पनि आउन सक्छ।
(कुराकानीमा आधारित)