काठमाडौं- काठमाडौं कलिङ साहित्य सम्मेलनमा सूर्य नेपाल मुख्य प्रायोजक बनाएर सुर्तिजन्य पदार्थको प्रबर्द्धन गरिएकोमा सरोकारवालाहरुले आपत्ति जनाएका छन्। स्वास्थ्यका लागि अतिहानिकारक सुर्तिजन्य पदार्थको उत्पादन तथा सेवनविरुद्ध अभियान चलाइरहेका सरोकारवालाहरुले कानुन विपरित भएको उल्लेख गर्दै विज्ञप्तिमार्फत् नियामक निकायको ध्यानाकर्षण गराएका छन्।
'सुर्तिजन्य पदार्थको घातक र अनैतिक प्रकृतिकै कारण यसका उत्पादकलाई विश्वभर पापी / अपराधी उद्योग भनिएको हो,' सरोकारवालामध्ये एक एक्सन नेपालले भनेको छ, 'सुर्तीजन्य पदार्थको विज्ञापनको प्रभावले युवा पुस्तालाई सुर्तिजन्य पदार्थको प्रयोग गर्न प्रोत्साहित गर्ने यथार्थ दशकको अनुसन्धानहरूले देखाएका छन्।'
अधिकांश देशहरूले सुर्ति उद्योगहरुलाई कुनै पनि प्रकारको विज्ञापन प्रबर्द्धन र प्रायोजनमा प्रतिबन्ध लगाएकोतर्फ पनि ध्यानाकर्षण गराइएको छ। नेपालमा पनि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानून र नियमावलीहरूले यस्तो कार्यमा प्रतिबन्ध गरेको नेपाल विकास अनुसन्धान परिषद्, नेपाल क्यान्सर रिलिफ सोसाइटीले जनाएका छन्। यी दुई संस्थाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने सुर्तिजन्य पदार्थको सेवन न्युनिकरण गर्न नेपाल सरकारले विभिन्न कानुन बनाएको छ। ती कानुन विपरित कार्य नगर्न सम्बन्धितको ध्यानाकर्षण गराउन चाहन्छौं।'
यसैगरी भाष्कर-तेजश्रीकी स्मृति प्रतिष्ठानकी संस्थापक अध्यक्षा प्राडा रिता थापाले पनि विज्ञप्ति जारी गर्दै सुर्तिजन्य पदार्थको प्रबर्द्धन गर्नु कानुन विपरित र खेदजनक भनेकी छिन्।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार धुम्रपानले हरेक वर्ष ८० लाख भन्दा बढी मानिसको ज्यान लिने गरेको छ। नेपालमा मात्र सुतीजन्य पदार्थको सेवनले वर्षेनी ३७,००० भन्दा बढीले अकालमा ज्यान गुमाइरहेका छन् ।