काठमाडौंकी एक तीस वर्षकी महिला महिनावारीको भन्दा अत्यधिक रगत बगिरहेको,तल्लो पेट दुखिरहेको भनेर अस्पताल आइन। बिरामीको जाँच गर्दा योनीबाट रक्तस्राव भइरहेको देखियो। बिरामी बोल्न सक्ने अवस्थामा थिइनन्, बेहोस जस्तै। उपचार तत्काल सुरु भयो। अत्यावश्यक जाँच तुरुन्तै गर्नुपर्छ भन्दा न त पैसा छ, न स्वास्थ्य बिमा। अस्पतालको इमर्जेन्सीबाट तत्काल जाँच गर्न पठाएर बिरामीका आफन्तललाई हालको अवस्था र जोखिमहरु बुझायौं।
"घरमा बच्चा छ, पिसाब जाँच गर्दा गर्भवती देखायो अनिच्छित गर्भ फाल्न नजिकैको पसल (फार्मेसी) बाट औषधि लिएर खाएको ३ दिन भयो रगत बगिरहेको छ, रगत रोक्नलाई पनि औषधि खाएको ठिक भएन! घर छेउको प्राइभेट अस्पतालमा उपचार र अप्रेशनको एक देखि डेढ लाख लाग्छ भन्यो" श्रीमानले सबै नालीबेली बताए।
बिरामीलाई पाठेघरभन्दा बाहिरको नलिमा बसेको गर्भ फुटेको अवस्था रहेको र तत्काल अप्रेसन गर्नुपर्ने देखियो। अप्रेशनको पैसा पनि अस्पतालकै सामाजिक सेवा इकाइबाट मिलेसम्म सबै छुट गराएर उपचार सुरु भयो। फुटेको नलि फाल्ने अप्रेसन सफल भयो। बिरामीलाई थप ६ पोका रगत चढाउन पर्यो। करिब एक घन्टाभित्रै बिरामीको उपचार सकेर बिरामीलाई निगरानीमा राखियो। बिरामीले दाहिने नलि गुमाउन पर्यो! त्यो भन्दा ठूलो बिरामीको ज्यान जोगियो, श्रीमानले श्रीमति गुमाउनु परेन, घरको निर्दोष बच्चाले आमा गुमाउनु परेन। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीका डा श्रीराम खड्काको टिमप्रति बिरामी र आफन्तले बिरामी बचाइदिनुभएको भन्दै खुसी साटे। बेहोस अवस्था कि श्रीमती, पैसा छैन भन्दै रुदै गरेका श्रीमानको जीवनमा परेको यती ठूलो चोटमा मल्हम लगाइदिनुहुने डाक्टर साबको टिम र अस्पतालप्रति मनैदेखि धन्यवाद।
यो र यस्तै घटनाले ३-४ वटा सवाल गर्न आवश्यक ठानेँ।
पहिलो:
च्याउ जस्तै उम्रेका औषधि पसललाई त आम्दानी होला तर बिरामीको भने सत्यानाश हुन्छ। पसलबाट मनलाग्दी औषधि किन्दै खाने नगर्नुहोला। औषधि पसल संचालकले पनि अवस्था हेरेर मात्र औषधि दिनुपर्छ, ब्यापारको नाममा मानवीय धर्म बिर्सनु हुँदैन। कैयौं मान्छेलाई थाहा छैन, तपाईंहरुले डाक्टरलाई देखाउनुपर्छ मात्र भनिदिए पनि ठुलो धर्म हुन्छ,यस्ता दुर्घटना न्यूनीकरण गर्न तपाईं हामी सबैको साथ अनिवार्य छ। देशमा औषधि ब्यवस्था विभाग छ। जथाभावी गर्ने माथि निगरानी बढाउनुपर्छ। काठमाडौंमै यस्ता घटना कयौं देखिन्छन्, राजधानी बाहिरको अवस्था झन बिकराल छ।
दोस्रो:
गर्भ रोक्न कैयौं साधन छन। स्वास्थ्य संस्थामा तपाईं हामीलाई उपयुक्त साधन बारे सम्पूर्ण जानकारी दिइन्छ। उपयुुक्त साधनको प्रयोग गरौं। अनिच्छित गर्भ भए डाक्टरलाई नदेखाइ कुनै पनि औषधि प्रयोग नगर्नुहोला। सरकारले गर्भपतन सेवा धेरै जसो अस्पतालमा उपलब्ध गराएको र उल्टै पैसा पनि दिने गरेको छ। गर्भपतन सेवा धेरै विकास भैसकेको भएपनि हामी आम नागरिक आफै सजग छैनौं, हाम्रा पनि कयौं कमीकमजोरी छन्।
तेस्रो:
सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ। कसलाई कहिले के पर्छ थाहा हुँदैन। ३५०० मै एक लाखसम्मको स्वास्थ्य उपचार पाउनु सामान्य कुरा होइन। वडा-पालिकामा बुझेर सबैले स्वास्थ्य बीमा गरौं। हाम्रा सरकारी अस्पताल अब्बल छन्। सबैले विश्वास गरौं।
अन्तिममा,
सामान्यरुपमा भ्रुण पाठेघरमा हुनुपर्छ! त्योबाहेक पाठेघरको नली (ट्यूब), डिम्बसाय, पेटमा गएर भ्रुण बस्यो भने त्यसलाई "एक्टोपिक प्रेग्नेन्सी" भनिन्छ। योनी, पाठेघर र नलिको बारम्बार संक्रमण हुने महिलामा पाठेघर बाहिर बच्चा बस्ने सम्भावना बढी हुन्छ। महिलामा पेट दुख्ने धेरै कारणहरु छन त्यसैले पेट दुख्नासाथ स्वास्थ्य परीक्षण गराइहाल्नु बुद्धिमानी हुन्छ। बेलैमा उपचार नभए एक्टोइपिक गर्भ फुटेर रगत बग्दा महिलाको ज्यानसमेत जानसक्ने ठूलो खतरा हुन्छ।