तनहुँ– तनहुँमा दैनिक डेंगु संक्रमित बिरामीको सङ्ख्या बढेको छ। पछिल्ला समय जिल्लाका १० पालिकामध्ये नौ वटामा डेंगु सङ्क्रमण देखिएको छ।
डेंगु सङक्रमणका बिरामी बढ्न थालेपछि ‘लामखुट्टेको लार्भा खोजौँ र नष्ट गरौं’ अभियानलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। यतिबेला जिल्लाका सबै पालिकामा सरसफाइ र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको छ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म एक हजार नौ सय ६० जनामा डेंगु संक्रमित पुष्टि भइसकेको छ। सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकामा सङ्क्रमित देखिएका छन्। जसमा एक हजार तीन सय १९ जना रहेको स्वास्थ्य शाखा प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।
उनका अनुसार शुक्लागण्डकीमा दुई सय ३५, व्यासमा दुई सय १९, बन्दीपुरमा एक सय १५, म्याग्देमा ३०, भानुमा १९, देवघाटमा नौ, भीमादमा सात, ऋषिङ तीन र अन्य जिल्लाका चार जना रहेका छन्।
डेंगु संक्रमितको सङ्ख्या बढ्दै जान थालेपछि सतर्कता अपनाउन थालिएको व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिए। उनले अनुसार टोल बस्तीमा पुगेर सरसफाइका साथै सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइएको छ।
प्रत्येक घरघरमा पानीका भाँडा छोपेर राख्ने, पानी जम्न नदिने, लामो बाहुला भएका कपडा लगाउने र सुत्दा झुलको प्रयोग गर्न सचेत गराइएको चिकित्सकहरु बताउँछन्। दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार अस्पतालमा अउने बिरामीमध्ये अधिकांश झाडापखाला, ज्वरो र डेंगुका बिरामी हुने गरेका छन्।