काठमाडौं- नेपाल विद्यावारिधी संघ काठमाडौँको आयोजनामा ललितपुर महानगरपालिका वडा नं २ सानेपामा निशुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न भएको छ।
ललितपुर महानगरपालिका वडा नं २ स्वास्थ्य कार्यान्वयन समिति र मिर्गौला बचाऔँ अभियान बनस्थलीको सहकार्यमा संचालीत शिविरलाई प्राविधिक सहयोग भने राष्ट्रिय मिर्गौला उपचार केन्द्र बनस्थली र नेपाल मेडिसिटी अस्पताल भैसेपाटीको रहेको थियो।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा नविन बहादुर बस्नेतको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले ३१४ जना व्यक्तिहरुको निःशुल्क मिर्गौला सम्बन्धी चिकित्सकीय सेवा प्रदान गरेको थियो। सो शिविरमा मिर्गौला जोगाउने उपाय बारे पनि सर्वसाधारणलाई जानकारी गराइएको थियो।
साथै पोषण विशेषज्ञबाट सन्तुलित खानपान बारे परामर्श दिइएको थियो। डा बस्नेतले मिर्गौला खराब हुन थालेको सुरुवाती अवस्थामा कुनैपनि किसिमका लक्षणहरु नदेखिने र मिर्गौलामा धेरै नै क्षति पुगेपछि मात्र लक्षण देखिने हुँदा सो समयमा मिर्गौलालाई पूरानै अवस्थामा फर्काउन गाह्रो भए बिरामीले डायलाइसिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्नेसम्मको अवस्था आउने हुनाले समयमा नै नियमित रुपमा मिर्गौला सम्बन्धी जाँचहरु गर्न सुझाए।
मिर्गौला परीक्षण गरिएकामा धेरैजसोमा उच्च रक्तचाप, सुगर तथा मोटोपन भेटिएकाले खानपानमा विशेष ध्यान दिन सुझाव दिएको डा बस्नेतको भनाई छ। परीक्षण गरिएकामध्ये मिर्गौलासम्बन्धी जटिल समस्या नदेखिए पनि मिर्गौलाको परीक्षणसँगै यसलाई जोगाई राख्नका लागि अपनाउन सकिने उपायका बारेमा पनि सचेत गराएको डा बस्नेतले बताए।
नेपाल विधावारिधि संघ काठमाडौँका अध्यक्ष डा सुनिल बाबु श्रेष्ठले नेपालमा नसर्ने रोगको स्थिती जटिल बन्दै गएको सन्दर्भमा आगामी दिनमा विधावारिधि संघले यस खाले शिविर नेपालका विभिन्न स्थानमा गर्दे जाने बताए। मिर्गौलासम्बन्धी निशुल्क परीक्षण शिविर आफ्नै ठाउँमा आयोजना भई उपचार तथा परामर्श सेवा पाउँदा स्थानीयवासी निक्कै हर्षित भएको र आगामी दिनमा मिर्गौला स्वास्थ्यलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम हरु संचालन गर्ने वडा नं २ स्वास्थ्य समन्वय समितिका अध्यक्ष राजेश मान महर्जनले बताए।
मिर्गौला बचाऔ अभियानका अनुसन्धान अधिकृत डा सुरक्षा सुवेदीले यस अभियानमा जतिसक्दो बढी मानिसको सहभागीत गराउने उदेश्य रहेको र मिर्गौलाको स्वास्थ्यको महत्व बारे जानकारी गराई आम सर्वसाधरणलाई बार्षिक परीक्षण गर्ने बानी बसाल्ने उदेश्यले मिर्गौला बचाऔ अभियान कार्यक्रम सुरुवात गरिएको जानकारी गराइन।