काठमाडौं- मेडिको-लीगल सोसाइटी अफ नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सोसाइटीका महासचिव डा कश्यप श्रेष्ठले स्वागत मन्तव्य राख्दै विगत वर्षमा सोसाइटीले हासिल गरेका प्रगति, चुनौतीहरू र भविष्यमा अघि बढ्न आवश्यक पहलहरूबारे आफ्नो धारणा राखे। उनले सोसाइटीले कानूनी चिकित्सा क्षेत्रमा गरेको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्दै यसलाई थप सशक्त र प्रभावकारी बनाउने दिशामा काम गर्न आग्रह गरे।
कार्यक्रममा कोषाध्यक्ष डा सम्झना घिमिरेद्वारा प्रस्तुत वार्षिक वित्तीय प्रतिवेदनले समाजको आर्थिक स्थितिको विस्तृत विवरण दिएको थियो। साथै अध्यक्ष डा हरिहर वस्तीद्वारा प्रस्तुत प्रगतिविवरणले विगत वर्षभरि समाजले गरेका विविध गतिविधिहरू, सेमिनार, कार्यशाला, तथा अनुसन्धानमूलक परियोजनाहरूको चर्चा गर्यो, जसले समाजको क्रियाकलापलाई नयाँ उचाइमा पुर्याएको छ।
सभामा नयाँ कार्यसमितिको चयन प्रक्रिया पनि सम्पन्न भयो। निर्वाचन समितिका संयोजक डा तुलसी कंडेलले प्रक्रिया अगाडि बढाउँदै सम्पूर्ण सदस्यहरूको सहमतिमा नयाँ कार्यसमिति चयन भएको घोषणा गरे। नयाँ कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, र सदस्यहरू चयन भएका छन्।
समितीको अध्यक्षमा डा नुवादत्त सुवेदी, उपाध्यक्षमा डा सृजना कुँवर, महासचिवमा डा सम्झना घिमिरे, कोषाध्यक्षमा डा सामली यादव र सदस्यहरुमा डा आलोक आत्रेय, डा मदन प्रसाद बराल, डा देबेन्द्र पालिखे र डा धिरज साह निर्वाचित हुनुभएको छ। समितीको निवर्तमान अध्यक्ष डा हरिहर वस्ती छन्।
मेडिको लिगल सोसाईटी फरेन्सिक चिकित्सकहरूको छाता संगठन हो। फरेन्सिक मेडिसिनले कानुनी प्रयोजनका लागि शव परीक्षण, जिवित ब्यक्तिहरुको परीक्षण जस्तै घाउ जाँच, यौन हिंसा पिडित र पिडकको परिक्षण, उमेर निर्धारण, मादक पदार्थ सेवन गरेका आदिको जाँँच गरी न्याय सम्पादनमा सहयोग पुर्याउँछ।
नेपालमा अन्य चिकित्साका विधाको विकास हुँदैग र्दा फरेन्सिक मेडिसिनको भने सन्तोषजनक प्रगती हुन सकेको छैन। फौजदारी न्याय सम्पादन र मानवीय सेवाको महत्वपूर्ण निकाय हुँदा हुँदै पनि राज्यले फरेन्सिक मेडिसिनलाई उपेक्षा गरेको गुनासो चिकित्सकहरुको छ।
नेपालमा हाल करिव ७० फरेन्सिक चिकित्सक उत्पादन भइसकेको र धेरैजसो चिकित्सकहरु विश्वविद्यालय र मेडिकल कलेजहरुमा अध्यापन गराइरहेका छन्।