विश्व अल्जाइमर दिवस २०२४ को विषयवस्तु 'अबको आवश्यकता : अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता' हो। यो विषयवस्तुले डिमेन्सिया/विस्मृतिको समस्या समाधान गर्नको लागि तत्कालै लिनुपर्ने पहलकदमीको आवश्यकतालाई जोड दिएको छ, जसमा जनचेतना वृद्धि र समुदाय तथा राज्यले समयमा नै कदम चाल्नुपर्ने कुरालाई प्राथमिकता दिइएको छ।
अल्जाइमर विश्वव्यापी रूपमा डिमेन्सियाको प्रमुख कारण हो, जसले करिब ६०-८० प्रतिशत अनुपात ओगटेको छ। यो मुख्यतया ज्येष्ठ नागरिकहरूमा देखापर्ने रोग हो र उमेर बढेसँगै यसको जोखिम उल्लेखनीय रूपमा बढ्छ। विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर करिब ५.५ करोड मानिसहरू डिमेन्सियाबाट ग्रस्त छन्, जसमध्ये अधिकांश अल्जाइमर रोगका बिरामी हुन्।
नेपालमा अल्जाइमारको सम्बन्धमा यकिन तथ्यांक नभएता पनि एक प्रक्षेपणअनुसार सन् २०१५मा ७८,००० जना व्यक्तिहरु यस रोगबाट पिडित थिए भने यो संख्या बढेर सन् २०३० सम्ममा करिब १,५०,००० र सन् २०५० सम्ममा २,८०,००० पुग्ने अनुमान गरिएको छ।
अल्जाइमरको प्रकोप भौगोलिक क्षेत्रअनुसार फरक-फरक हुन्छ। पश्चिमी देशहरूमा लामो आयु र राम्रो निदान क्षमताका कारण यो रोगको दर उच्च देखिएको छ। महिलाहरूमा यो रोग बढी देखिन्छ, र अल्जाइमर रोगका दुई तिहाईभन्दा बढी बिरामी महिला नै हुन्छन्। यो लैङ्गिक असमानता महिलाहरूको लामो आयुका कारण हो, यद्यपि जैविक कारणहरूले पनि महिलाहरूलाई बढी जोखिममा राखेको हुनसक्छ।
जोखिमका कारकहरू
अल्जाइमर डिमेन्सियाको विकासमा अनुवांशिक, वातावरणीय र जीवनशैली लगायतका विभिन्न कारकहरू सम्मिलित छन्। मुख्य जोखिम कारकहरू यसप्रकार छन्:
१. उमेर: अल्जाइमर रोगको सबैभन्दा ठूलो जोखिम कारक उमेर हो। ६५ वर्षको उमेरपछि, हरेक पाँच वर्षमा यसको जोखिम दोब्बर बढ्छ र ८५ वर्षपछि यो जोखिम ४०-५० प्रतिशत सम्ममा देखिन सक्छ।
२. अनुवांशिकता: धेरैजसो अल्जाइमर रोगहरू अनुवांशिकतासँग सम्बन्धित नभएतापनि अनुवांशिक कारकले, विशेषगरी कम उमेरमै देखिने अल्जाइमर (६५ वर्षभन्दा कम उमेरमा हुने) मा महत्त्वपूर्ण भूमिका खेल्छ। एपीपी (अमाइलोइड प्रिकर्सर प्रोटिन), पीईएसएन-१, पीएसऐएन-२ जस्ता जीनहरूमा हुने उत्परिवर्तनहरू पारिवारिक अल्जाइमरको कारण बन्छन्। एपोलिपोप्रोटिन-ई (एपीओई) जीन, विशेषगरी एपीओई- ε४ एलील, ढिलो उमेर (६५ वर्षभन्दा बढी) मा हुने अल्जाइमर रोगको प्रमुख जोखिम कारक हो।
३. हृदय र मस्तिष्क स्वास्थ्य: उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र मोटोपनजस्ता हृदय र रक्तधमनी सम्बन्धी अवस्थाहरूले अल्जाइमर रोगको जोखिम बढाउँछन्। यी अवस्थाहरूले मस्तिष्कको रक्तनलीलाई क्षति पुर्याअउँछन् र न्यूरोडिजेनेरेशनको कारण बन्न सक्छन्।
४. जीवनशैली: निष्क्रिय जीवनशैली, अस्वास्थ्यकर आहार, धुम्रपान र अत्यधिक मद्यपान अल्जाइमरको जोखिमसँग सम्बन्धित छन्। अर्कोतर्फ, नियमित शारीरिक गतिविधि, स्वस्थ आहार र मानसिक गतिविधिले यस रोगको जोखिमलाई कम गर्न सक्छन्।
५. शिक्षा र संज्ञानात्मक सञ्चय: उच्च शिक्षा र जीवनभरि मस्तिष्कको सक्रियता भएका व्यक्तिहरूमा अल्जाइमरको जोखिम कम हुने सम्भावना छ।
६.लैङ्गिकता: महिलाहरूमा यो रोग बढी देखिन्छ। यसको कारण हर्मोनल परिवर्तन, विशेष गरी रजोनिवृत्तिमा एस्ट्रोजेनको ह्रास हुन सक्छ, जसले संज्ञानात्मक गिरावटमा योगदान पुर्याउन सक्छ।
निदान
अल्जाइमर रोगको निदान क्लिनिकल मूल्याङ्कन, न्यूरोइमेजिङ र बायोमार्कर परीक्षणमा आधारित हुन्छ। प्रारम्भिक निदान, लक्षणहरूको व्यवस्थापन र हेरचाह योजना बनाउन महत्त्वपूर्ण हुन्छ, यद्यपि लक्षणहरू ढिलो प्रकट हुने हुँदा यसलाई पत्ता लगाउन कठिन हुन सक्छ।
निदानका मुख्य चरणहरू यसप्रकार छन्
१. क्लिनिकल वार्तालाप र संज्ञानात्मक परीक्षण: यसमा विस्तृत क्लिनिकल वार्तालाप गरिन्छ, जसमा स्मृति सम्बन्धी गुनासा, दैनिक क्रियाकलापमा परिवर्तन, र व्यवहारिक लक्षणहरूलाई पहिचान गरिन्छ। मिनी-मेन्टल स्टेट परीक्षा (एमएमएसई) वा मोन्ट्रियल संज्ञानात्मक मूल्याङ्कन (एमओसीए) जस्ता मानकीकृत संज्ञानात्मक परीक्षणहरूले स्मृति, ध्यान, भाषा र दृश्यात्मक क्षमताहरूको परीक्षण गर्छन्।
२. न्यूरोइमेजिङ: क्लिनिकल परीक्षणपश्चात् ती बिरामीहरुमा संरचनात्मक इमेजिङ, सामान्यतया म्याग्नेटिक रेजोनन्स इमेजिङ (एमआरआई) वा कम्प्युटेड टोमोग्राफी (सीटी) प्रयोग गरिन्छ, जसले स्ट्रोक/पक्षघात वा ट्युमर जस्ता कारणहरुले डिमेन्सिया भएको होइन भनेर निचोड निकाल्न सहयोग पुर्याउँछ। एमआरआईले मस्तिष्कको संकुचन देखाउन सक्छ, विशेष गरी हिप्पोक्याम्पस भन्ने हिस्सामा, जुन अल्जाइमर रोगमा गम्भीर रूपमा प्रारम्भिक अवस्थामा नै प्रभावित हुन्छ।
३. बायोमार्करहरू: मस्तिष्कभित्रको पानी (सेरिब्रोस्पाइनल फ्लुइड)विश्लेषण वा रक्त परीक्षणहरूले अल्जाइमर रोगमा मस्तिष्कभित्र असाधारण हिसाबले बन्ने अमाइलोइड-बीटा र टाउ प्रोटिनका असामान्य स्तरहरू पत्ता लगाउन सक्छन्, जुन अल्जाइमर रोगका रोगजन्य सूचकहरू हुन्। रक्त-आधारित बायोमार्करहरूको विकास, जस्तै प्लाज्मा अमाइलोइड र टाउ परीक्षणहरू, छिटो र सहज निदानका लागि नयाँ उपकरणका रूपमा उभिएका छन्।सो अवस्थाका बाबजुत पनि नेपालमात्र नभएर समग्र दक्षिण एसियामै यी परीक्षणहरु नियमित रुपमा क्लिनिकल प्रयोगका निम्ति उपलब्ध छैनन्।
अल्जाइमर रोगको व्यवस्थापन:
अल्जाइमर रोगको कुनै उपचार नभएको हुँदा यसको उपचार लक्षण व्यवस्थापन, रोगको प्रगति र जटीलता ढिलो बनाउने र जीवनको गुणस्तर सुधार्नेमा केन्द्रित हुन्छ। यस रोगसंग सम्बन्धित मुख्य व्यवस्थापन रणनीतिहरू यसप्रकार छन्:
१.औषधीय उपचारहरू:
• क्लिनेस्टरस इनहिबिटरहरू: डोनेपेजिल, रिभास्टिग्मिन, र ग्यालान्टामाइन जस्ता औषधिहरू प्रायः मध्यम अवस्थाको अल्जाइमर रोगका लागि प्रयोग गरिन्छन्। यी औषधिहरूले स्मृति र संज्ञानात्मक क्रियाकलापलाई अस्थायी रूपमा सुधार्न सक्छन्, यद्यपि यिनीहरूले रोगको प्रगतिलाई रोक्न सक्ने भने होइनन्।
• एनएमडीए रिसेप्टर एन्टागोनिस्टहरू: मेमेन्टिन मध्यमदेखि गम्भीर अल्जाइमर रोगको लागि दिइन्छ।
• एन्टि-अमाइलोइड थेरापी: हालै, अमाइलोइड प्रोटिनलक्षित मोनोक्लोनल एन्टिबडीहरू जस्तै एडुकानुमाब र लेकानुमाब विकास गरिएका छन्। यी औषधिहरूले मस्तिष्कमा जमेको अमाइलोइडलाई कम गर्न सहयोग गर्छन्, तर यिनको मानवमा प्रयोगको प्रभावकारिता र सुरक्षामा अझै विवाद छ।
२.औषधि बाहेकका पद्धतिहरू: नियमित संज्ञानात्मकथेरापी, शारीरिक व्यायाम, र सामाजिक सहभागिता एवं अन्तरक्रियाले संज्ञानात्मक कार्यमा सुधार गर्न र गिरावट रोक्न सहयोग गर्न सक्छ। व्यवहारिक थेरापीहरू पनि मूड र व्यवहार सम्बन्धी लक्षणहरूको व्यवस्थापनमा प्रयोग गर्न सकिन्छ।
३.समर्थनात्मक हेरचाह: रोगको प्रगतिसँगै, बिरामीहरूलाई दैनिक गतिविधिहरूमा बढ्दो सहायताको आवश्यकता हुन्छ। व्यावसायिक थेरापी, घरको परिमार्जन र सहयोगी उपकरणहरूले व्यक्तिको स्वायत्तता कायम राख्न सहयोग गर्न सक्छन् ।
स्याहारकर्ताहरूको भूमिका
अल्जाइमर रोगको व्यवस्थापनमा स्याहारकर्ताहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ, जसले भावनात्मक सहयोग प्रदान गर्नुका साथसाथै दैनिक क्रियाकलापको पनि व्यवस्थापन गर्छन्। स्याहारकर्ताहरू प्रायः परिवारका सदस्यहरू हुन्छन्, र पति-पत्नी वा वयस्क सन्तानहरूले प्राथमिक स्याहारकर्ताको भूमिका निर्वाह गर्छन्।
१. स्याहारकर्ताका चुनौतीहरू: अल्जाइमर्स रोगीका नियमित स्याहारकर्ताहरूले भावनात्मक र शारीरिक तनावको सामना गर्नुपर्छ। विशेषगरी रोग थप जटिल बन्दै गर्दा बिरामीका आवश्यकताहरू जटिल बन्दै जान्छन् र स्याहारकर्ताहरुमा पनि तीव्र तनाव, डिप्रेसन र सामाजिक एक्लोपनको जोखिम बढ्दै जान्छ
२.स्याहारकर्ताका लागि समभाव र समर्थन: स्याहारकर्ताको बोझलाई कम गर्न विभिन्न सहयोग र समर्थन प्रणालीहरू आवश्यक हुन्छन्। यसमा निम्न तौर-तरिकाहरू समावेश हुन सक्छन्:
• शिक्षा र तालिम: बिरामीहरुमा देखिन सक्ने चुनौतीपूर्ण व्यवहारहरूको व्यवस्थापन, प्रभावकारी संचार गर्न र उचित हेरचाह गर्न स्याहारकर्ताहरूलाई तालिम प्रदान गर्न सकिन्छ।
• विश्राम सेवा: परिवारका अन्य सदस्य/ छिमेकी वा नातागोताले अस्थायी रुपमा विरामीलाई स्याहार गरी नियमित स्याहारकर्ताहरूलाई केहि समयको विश्राम गर्ने अवसर दिलाउन सकिन्छ।
समग्रमा भन्नुपर्दा, अल्जाइमर डिमेन्सिया एक जटिल र चुनौतीपूर्ण रोग हो। जसले बिरामी, परिवार र समग्र स्वास्थ्य सेवा प्रणालीलाई नै ठूलो प्रभाव पार्दछ। यद्यपि हालसम्म यसको रोकथाम र उपचारका लागि स्पष्ट समाधान नभएता पनि, अनुसन्धानका नयाँ दिशा र प्रयासहरूले भविष्यमा 'कालो बादलमा चाँदिको घेरा' जस्तै सुधारको आशा देखाएका छन्।
(ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ डा कँडेल राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान, घोराही, दाङमा कार्यरत छन्)