काठमाडौं – स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य बिमाको दायरा बढाएर ५ लाख पुर्याउन सकिने बताएका छन्। स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको रुपमा आफ्नो कार्यकाल सकिदै गर्दा प्रगति विवरण प्रस्तुत गर्दै उनले यस्तो दाबी गरेका हुन्। डा बसौलाको कार्यकाल कात्तिक २५ गते सकिदैछ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केही दिन अगाडि स्वास्थ्य बिमाको दायरा बढाएर ५ लाख रुपैयाँ बनाउने घोषणा गरेका थिए।
उक्त घोषणा लगतै स्वास्थ्य मन्त्रालयले बिमा बोर्डलाई रायका लागि पत्र समेत पठाएको थियो । त्यसलगत्तै स्वास्थ्य बिमा बोर्डको बैठक बसेको थियो । बिमा बोर्डको विकास साझेदार संस्था जीआईजेटले १० महिनाका लागि विशेषज्ञको टोली समेत दिएको थियो।
५ लाखको बिमा दायरा बनाउनका लागि के–के आवश्यक पर्छ भनेर स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन समेत पठाइसकिएको उनको दाबी छ। मन्त्रालयले भने बिमाको दायरा बढाउने विषयमा अध्ययन गर्न छुट्टै समिति बनाएर काम गरिरहेको छ।
‘पहिले स्वास्थ्य बिमाको दायरा ५० हजार मात्रै रहेकोमा हाल १ लाख बनाइएको छ, त्यसैले स्वास्थ्य बिमाको दायरालाई बढाएर ५ लाख बनाउन सकिन्छ,’ उनले भने।
बिमा नियमावली आइसकेपछि बिमाको दायरा बढाएर १ लाख बनाइएको उनले बताए।
डा बसौलाले दाबी गरेका प्रगति विवरण
४ वर्ष अघि स्वास्थ्य बिमामा करिब १२ प्रतिशत आबद्ध रहेकामा हाल तीस प्रतिशत, परिवार आबद्वता १४ बाट ४० प्रतिशत, नवीकरण दर ५० बाट ७९ प्रतिशत, सेवा उपलब्धी बढेर ७९ प्रतिशत भएको उनले बताए।
त्यस्तै अतिगरिब तथा बीमितको जनसंख्या ४,४०,८०९ बाट ५,०२,८४० ज्येष्ठ नागरिक बीमित संख्या ३,८२,२८१ बाट १०,४०,४०९ भएको लगायतका प्रगती आफ्नो ४ वर्षे कार्यकालमा भएको उनको दाबी थियो।
स्वास्थ्य बिमामा समय सापेक्ष रुपमा परिवर्तन गरिएको उनले बताए । नागरिकले विकसित देशमा जस्तै बिमा कार्डका आधार देशका जहाँका स्वास्थ्य संस्थामा पनि स्वास्थ्य सेवा पाउन सक्ने अवस्थामा नेपाल पनि जाने उनको दाबी थियो ।
५४ जिल्लामा सीमित रहेको स्वास्थ्य बिमा कार्यक्रम हाल विस्तार भएर ७७ जिल्लामा विस्तार भएको उनको भनाइ छ। हालसम्म बिमा बोर्डमा स्थायी जनशक्ति रहेको छैन । यद्यपि बोर्डले करिब ९ सय कर्मचारीको माग स्वास्थ्य मन्त्रालयमा पेश गरिसकेको जनाइएको छ।
स्वास्थ्य बिमा कार्यक्रमका लागि सरकारले ७ अर्ब रकम दिँदै आएकोमा बिमा कार्यक्रमलाई दिगो बनाउन सकेमा सरकारले त्यो रकम विनियोजन गरिराख्न नपर्ने उनको दाबी थियो।
हाल ४ सय ७९ अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम रहेको र दैनिक तीस हजार दाबी आउने गरेको छ। आगामी वर्षदेखि दाबी समिक्षाका लागि एआई सिस्टमलाई ल्याइने उनको दाबी थियो।
बिमा बोर्डले गतवर्ष देशभरका सेवा प्रदायकलाई १३ अर्ब बराबर भुक्तानी गरिएकोमा यसवर्ष ५ अर्ब भुक्तानी भइसकेको उनले बताए।