गर्मीको तुलनामा जाडो मौसममा छालामा बढी समस्या देखिने गर्छ। चिसो मौसमको प्रभाव छालामा पर्ने भएकोले जाडोमा छालामा सुख्खापनको समस्या बढी देखिन्छ।
छाला फुस्रो हुनु, एग्जेमा, सोरायासिस, छाला फुट्नु, कोल्ड अर्टिकेरिया जाडोमा छालामा देखिने मुख्य समस्या हुन्। जाडोमा छालामा देखिने समस्या, हेरचाह तथा छालाको स्याहारका लागि गर्नुपर्ने कामका बारेमा ह्याम्स हस्पिटलकी छाला तथा यौन रोग विशेषज्ञ डा प्रगति थापासँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
जाडो मौसममा छालामा किन धेरै समस्या देखिन्छन्?
मानिसको शरीर र बाहिरी वातावरणबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ। जसका कारण मौसम परिवर्तनको प्रभाव शरीरमा पर्न जान्छ। बाहिरी वातावरणको प्रभाव शरीरको बाहिरी भागमा पर्न जान्छ।
जाडो मौसमको सुरुवातसँगै धेरैमा छालामा सुख्खापनाको समस्या देखिन थाल्छ। जसले छाला चिलाउने तथा चाया जस्तो निस्कने गर्छ। यसले छालामा अन्य समस्याहरु पनि निम्त्याउन सक्छ।
जाडोमा छालामा देखिने प्रमुख ५ समस्याहरु के-के हुन्?
छाला फुस्रो हुनु, एग्जेमा, सोरायासिस, छाला फुट्नु, कोल्ड अर्टिकेरिया जाडोमा छालामा देखिने मुख्य समस्या हुन्।
त्यस्तै गोडा तथा हातका औंलाहरु सुन्निने तथा निलो हुने, ओठ फुट्ने लगायतका छाला सम्बन्धी समस्या जाडो महिनामा प्रमुख रुपमा देखिने गर्छन्।
जाडोमा छालाको समस्या बढी देखिनुको कारण के हो?
जाडोमा छाला सुख्खा हुने भएकाले धेरै समस्याहरु देखिने गर्छन्। त्यस्तै जाडोमा पानी कम पिउनु तथा हेरचाहको कमीको कारण छालामा धेरै समस्या देखिने गर्छन्।
तातोपानीले धेरै समयसम्म नुहाउने, मोस्चराइजरको कम प्रयोगले छालालाई आवश्यक तत्वहरुको अपुग हुनाले छाला सुख्खा हुने तथा चिलाउने समस्या देखिने गर्छन्। त्यसैले चिसो मौसममा धेरै तातोभन्दा मनतातो पानीको प्रयोग गर्नु राम्रो मानिन्छ।
जाडोमा मौसममा नुहाइसकेपछि मोस्चराइजर क्रिमको प्रयोग गर्न पनि भुल्नु हुँदैन, जसले छालालाई आवश्यक तत्वहरु दिइरहेको हुन्छ। जाडोमा एसी तथा हिटरमा बस्ने बानी भएमा ह्युमिनी फायरको प्रयोग गर्नुपर्ने हुन्छ।
जाडो र गर्मी मौसममा गरिने छालाको हेरचाह फरक छ?
गर्मी र जाडो मौसममा खानपान शैली खासै फेरबदल गर्नुपर्छ भन्ने छैन। यद्यपि, जाडोमा पानी कम पिउने धेरैको बानी हुन्छ। त्यो राम्रो होइन, त्यसैले जाडोमा पानी बढी पिउनुपर्ने हुन्छ।
त्यस्तै छालाको प्रकृति परीक्षण गराएर गर्मीमा नै प्रयोग गरिरहेका फेसवास तथा क्रिमलाई जाडोमा पनि प्रयोग गर्न सकिन्छ।
जाडोमा बढी घाम तापिने भएकोले मोस्चराइजर तथा सनब्लक क्रिमको प्रयोग भने अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ। घाममा बस्दा सनब्लक र क्रिमको प्रयोग नगरिएमा यसले छालाका रोगहरु निम्त्याउन सक्छ।
जाडोमा छालाको हेरचाहका लागि गर्नुपर्ने कामहरु के-के हुन्?
-मुख धुँदा वा नुहाउँदा धेरै तातो पानीको प्रयोग नगर्ने।
-सकेसम्म मनतातो पानीको प्रयोग गर्ने।
-हाइड्रेसनको लागि मोस्चराइजर तथा तेलको प्रयोग गर्ने।
-घरमा हिटर बाल्दा ह्युमिनी फायरको प्रयोग गर्ने।
-पानी तथा तरल पदार्थ पर्याप्त सेवन गर्ने।
जाडोमा आउने चिसो हावाका कारण छाला फुट्ने समस्या हुने भएकोले ग्लिसिरिन तथा तेलको प्रयोग गर्नुपर्ने हुन्छ।
जाडोमा छालाको रोगबाट बँच्नका लागि मुख धोइसकेपछि तथा नुहाइसकेपछि मोस्चराइजरको प्रयोग गर्नुपर्छ। त्यस्तै जाडोमा घाममा बस्दा अनिवार्य रुपमा सन ब्लकको प्रयोग गर्नुपर्ने हुन्छ।
जाडोमा छालाको एलर्जी किन बढ्छ?
एलर्जी शब्दले धेरै कुरालाई समेट्छ। कुनै खानाको प्रयोग गर्दा वा क्रिमको प्रयोगले एलर्जी हुनसक्छ। खास एलर्जीको कुरा गर्नुपर्दा डाबर एलर्जीको कुरा गर्नुपर्ने हुन्छ।
जाडोमा ‘क्लोड एक्टिेडिया’वा चिसोको कारणले छालामा डाबरहरु आउने तथा घाममा हराउँदै जाने हुन्छ।
जुनसुकै उमेरका मानिसहरुलाई पनि यस प्रकारको एलर्जीको समस्या हुनसक्छ। कतिपय अवस्था हाम्रै वातावरणमा रहेका बोट-बिरुवा, ढुसी लगायतका तत्वहरुले पनि एलर्जी हुने गर्छ।
एलर्जीबाट बँच्न सबैभन्दा पहिला यसको पहिचान तथा औषधि सेवन महत्वपूर्ण हुन्छ।
जाडोमा छालाको रोगबाट कसरी बँच्ने?
- मोस्चराइजरको प्रयोग पर्याप्त गर्ने।
- हात धोएपछि मोस्चराइजरको प्रयोग गर्ने।
- तातोपानीको कम प्रयोग गर्ने।
- खुला वातावरणमा मात्रै हिटरको प्रयोग गर्ने।
- शरीरका ढाक्ने कपडाको प्रयोग गर्ने।