काठमाडौं- मंकीपक्स पुष्टि भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत दोस्रो बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार आइसोलेसन वार्डमा उपचारका क्रममा रहेका ती युवकमा नयाँ घाउ देखिएको छैन। 'उहाँको अवस्था सामान्य छ, घाउ ९० देखि ९५ प्रतिशत सुकिसकेको अवस्था छ', उनले भने, 'कुनै लक्षण नदेखिएकोले उहाँ जोखिममुक्त हुनुहुन्छ।' दुई चार दिनमा डिस्चार्जको तयारी अस्पतालले गरेको उनले जानकारी दिए।
नेपालमा गत पुस ५ गते साउदी अरेबियाबाट फर्किएका ३६ वर्षीय एक पुरुषमा मंकीपक्स संक्रमण पुष्टि भएको थियो। उनी उपचार पश्चात् निको भएर घर फर्किसकेको अस्पतालले जनाएको छ।
त्यसको केही दिन पछि पुस १४ गते ४४ वर्षीय युवकलाई मंकीपक्स पुष्टि भएको थियो। पुसको सुरुमै दुईजना र गत वर्षको असार महिनायता नेपालमा एक विदेशीसहित ३ जनामा मंकीपक्स पुष्टि भइसकेको छ।