काठमाडौं- नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाण-पत्र परीक्षा आगामी फागुन १० गते हुने भएको छ। नेपाल नर्सिङ परिषद्वारा प्रकाशित नाम दर्ता परीक्षाको वार्षिक कार्यतालिका अनुसार उक्त मितिमा परीक्षा तोकिएको हो।
नाम दर्ता परीक्षामा सामेल हुने परीक्षार्थीहरू न्यूनतम प्रवीणता प्रमाण पत्र तह नर्सिङ वा बि.एस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने बताइएको छ।
आगामी माघ ३० गतेसम्म अनलाइन फाराम भर्न भनिएकझो छ। बिलम्ब शुल्क तिरेर फागुन ५ गतेसम्म भर्न पाइनेछ।
अनलाइन फाराम भर्नको लागि लिंक application.nnc.org.np मा गई दिइएको निर्देशनबमोजिम गर्नुपर्नेछ। अनलाईनबाहेक अन्य कुनै पनि माध्यमबाट परीक्षाको आवेदन फाराम बुझाउन नपाइने बताइएको छ।
परीक्षा शुल्क अनलाइन पेमेन्ट गेटवे खल्तीमार्फत बुझाउने व्यवस्था गरिएको छ। प्रवीणता प्रमाण-पत्र तह नर्सिङ र बि.एस्सी. नर्सिङको नाम दर्ता परीक्षाको शुल्कमा रु ३ हजार एक सय र बिलम्ब शुल्क थप ३ हजारसहित रु ६ हजार एक सय बुझाउनुपर्नेछ।
परीक्षामा बस्न योग्य हुनको लागि आवश्यक सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रहरू मिति २०८१ माघ ३० गते सम्ममा परीक्षाफल प्रकाशित भई सूचना जारी भएको हुनुपर्नेछ । सम्पूर्ण कागजात तोकिएको अन्तिम मितिभित्र बुझाई सक्नुपर्नेछ । तोकिएको अन्तिम मितिसम्म आवश्यक सम्पूर्ण कागजात नबुझाएको खण्डमा परीक्षामा सामेल हुन नपाइने बताइएको छ।
परीक्षार्थीहरूको कार्यक्रम अनुसार छुट्टाछुट्टै परीक्षा सञ्चालन हुने हुँदा परीक्षार्थीहरूले प्रस्ट बुझिने गरी अनलाईन फाराम भर्न भनिएको छ। अन्यथा हुन गएमा परिषद् जवाफदेही नहुने र बुझाएको शुल्क फिर्ता नहुने उल्लेख छ।
२०७७ साल असोज १५ गतेदेखि नेपाल बाहिर अध्ययन गर्ने परीक्षार्थीले चिकित्सा शिक्षा आयोगको एलिजीबिलिटी लेटर अनिवार्य रुपमा अपलोड गर्नुपर्ने उल्लेख छ। नेपाल नर्सिङ परिषद्को परीक्षा समितिले आवश्यक ठानेमा परीक्षार्थीहरूसँग अन्तर्वार्ता समेत लिन सक्ने बताइएको छ।