काठमाडौं- नर्भिक इन्टरनेशनल अस्पतालमा दुवै घुँडाको सफल प्रतिस्थापन शल्यक्रिया (नी रिप्लेसमेन्ट सर्जरी) गरिएको छ ।
अस्पतालका कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा प्रवीण नेपाल नेतृत्वको टिमले रौतहटको चन्द्रपुर ९ की खिलकुमारी देवकोटाको दुवै घुँडाको प्रतिस्थापन शल्यक्रिया गरेको हो । दुवै घुँडा दुखेर अस्पताल आउनुभएकी देवकोटाको पहिलो घुँडाको शल्यक्रिया गरेको ७ दिनमा अर्को घुँडाको शल्यक्रिया गरिएको हो।
प्रतिस्थापन शल्यक्रियामा संलग्न डा नेपालले बिरामीको अवस्था राम्रो रहेको र राम्रोसँग हिँड्न सक्ने भएको बताए ।
बिरामीका आफन्त कृष्ण देवकोटाले खिलकुमारीमा १० वर्षदेखि घुँडा दुख्ने समस्या रहेकोमा अहिले बढी दुख्न थालेपछि नर्भिक आएर डा. नेपालकहाँ जँचाएको बताए। उनले थेरापीपछि बिरामी अहिले सामान्य तरिकाले हिँडडुल गर्न सक्ने भएको बताएका छन्।