उनी नौ वर्षको अवोध बालिका हुँदै
देखेको त्यो नाम
बालमगजले सजायको तस्बिर अनि मिठो सपना
बन्ने उनी जस्तै
संगै भरिदियो परिवार, समाज अनि स्कुलले
उनी भित्र फ्लोरेन्स बन्ने धुकधुकी
चलिरह्यो उनी भित्र पनि ठूलो हुटहुटी
काठमाडौं छिरे लगत्तै
बल्खु, कालिमाटी, रत्नपार्क भन्दै चिच्याइरहेको
माइक्रो भित्र देखिन
निश्चल, शान्त सेतो सारी संगै सजिएकि फ्लोरेन्स
बुनिन् सपना उतिखेरै
देखिन आफूलाई उनी जस्तै
पवित्र सेतो सारीमा सजिएर
हातमा बिरामीको चार्ट, सुइ, औषधिका सिसि बोकि
ढाढश दिँदै गरेको।
सुनौलो देखेर आकाश
खुल्ला पंख फिजाउँदै उडेको चरिझै
थाहै भएन उनलाई पनि,
अजङ्गका पहाड अनि खोचसँग ठोकिनु पर्छ
ठूला भनौदाको पैतालामुनि किचिनुपर्छ
राजनीतिक खिचातानीको दलदल भित्र भासिनुपर्छ
कहाँ थाहा थियो र उनलाई
शारीरिक, मानसिक श्रमशोषणको अग्नि रापमा जल्दै,
झुटो मुस्कान लिएर होमिनुपर्छ सेवामा
नातावाद, जातिवाद, शक्तिवाद
अरु के के वादका अगाडि
निस्वार्थ सेवावादको कुनै अर्थ रहेन
मरिमरी पढेका किताव ज्ञानको कुनै मूल्य रहेन
इश्वर साक्षी राखी खाएका कसम
सर्वश्व सुम्पेर बाले गरेको लगानी
टुप्पी कसेर आर्जेको सर्टिफिकेटको कुनै अर्थ नभएपछि
निराशाको ठूलो बादल बोकी
चुहाउँदै असन्तुष्टिका आँशुहरु
विदेश पलाएनको नमिठो कल्पना गरेकी हुन्
चुलिँदै गएपछि दमनको खेती
तुहिँदै गएपछि सपना एकपछि अर्को
तिर्न नसकेर साहुको ऋण, उठिबास भएपछि
ऋण तिर्नै उनी विदेशिएकी हुन्
अस्पताल प्रशासन हाकिमबाटै भएपछि शोषण
देशमै बस्छु, केहि गर्छु भन्ने उमिद गुमाएकी हुन्
देशकै माटोमा रमाउँदै
सेवा गर्छु भन्ने विश्वास गुमाएपछि
जति पढे पनि प्यासेन्ट राइट
जति ढले पनि आफ्नो लागि लडाइँ
अनुपात नमिल्दा बिरामी-नर्सको
बिरामीको चापले उठ्नै नदिएपछी
गुणस्तरीय सेवा दिने आश गुमाएकी हुन्
बाध्यताले नै उनी विदेशिएकी हुन्।।।।