काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। माघ २४ गते सार्वजनिक सूचना जारी गर्दै कार्यकारी निर्देशकको दरखास्त खोलेको हो।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पद खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिने प्रावधान छ बोर्डको कार्यकारी निर्देशकको लागि सिफारिस गर्न गठित सिफारिस समितिले सूचना जारी गर्दै दश दिन भित्र मन्त्रालयमा दरखास्त पेश भनेको छ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धी बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको व्यक्तिले दरखास्त दिन सक्नेछन्।
नेपाली नागरिक अनिवार्यका साथै दरखास्त दिने अन्तिम मितिसम्म पैसट्ठी बर्ष उमेर ननाघेको, भ्रष्ट्राचार, जवरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ती शुद्धिकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको योग्यतामा रहेका छन्।
दरखास्त साथ नेपाली नागरिकताको प्रमाणपत्रको स्वयम् प्रमाणित छायाप्रति, शैक्षिक योग्यतासम्बन्धी स्वयम् प्रमाणित कागजातहरू, सम्बन्धित क्षेत्रमा एक वर्ष भन्दा बढी अवधी काम गरेको अनुभव स्पष्ट खुल्ने संस्थागत प्रमाणित कागजातहरू, उम्मेदवारले देहायका विषयमा स्वयम् घोषणा गरेको कागजात पेश गर्नुपर्ने उल्लेख छ। नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नभएको,बोर्डसँग कुनै किसिमको स्वार्थ नभएको हुनुपर्नेछ।
दरखास्त दिँदा अवधारणापत्र सहितको कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ। दरखास्त सङ्कलनसम्बन्धी कार्य तोकिएको अवधिभर कार्यालय समयभित्र समितिको सचिवालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, आन्तरिक प्रशासन शाखा, रामशाहपथबाट हुनेछ। दरखास्त फाराम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेवसाइट www.mohp.gov.np बाट डाउनलोड गर्न सकिने बताइएको छ।