काठमाडौं- चिकित्सा शिक्षा आयोगले हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकत्तोर तह (पिजी) जम्मा एक सिट दिएको छ।
आयोगले बिहीबार सार्वजनिक गरेको पिजी सिटको विवरण अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन (एमडिजिपी)मा एक सिट मात्र पाएको छ।
प्रतिष्ठानले आयोगले तोकेको मापदण्ड भित्र रहेर विभिन्न ९ वटा विषयमा १८ वटा सिट माग गरेको थियो। आयोगबाट गएको विज्ञ टोलीले पनि प्रतिष्ठानको निरीक्षणपछि प्रतिष्ठानले माग गरेअनुसार सिट दिन सक्ने संकेत गरेको थियो।
तर आयोगले भने ९ वटा विषयमध्ये जम्मा एउटा विषयमा एक जना मात्र पढ्न मिल्ने गरी प्रतिष्ठानलाई सिट संख्या तोकेको छ।
प्रतिष्ठानले अब्सटेट्रिक्स एन्ड गाइनो, इन्टर्नल मेडिसिन, जेनेरल सर्जरी, एमडिजीपी, पेडियाट्रिक्स, एनेस्थेसियोलोजी, फार्माकोलोजी/क्लिनिकल फार्माकोलोजी, अर्थोपेडिक्स/अर्थोपेडिक्स एन्ड ट्रमा सर्जरी र पेरिडोन्टोलोजी एन्ड ओरल इम्प्लान्टोलीजीका लागि सिट माग गरेको उपकुलपति डा प्रदीप ज्ञवालीले जानकारी दिए। तर माग अनुसार सिट संख्या नपाउँदा दुख लागेको उनले प्रतिक्रिया दिए।
'दैनिक १५ सय भन्दा बढी बिरामी उपचारका लागि आउने प्रतिष्ठानको अस्पताल छ। पूर्वाधार र फ्याकल्टी पनि छ तर सिट भने पाइएन।' उनले सिट संख्याका विषयमा आयोगले पुनर्विचार गर्नुपर्ने बताए।
आयोग स्रोतका अनुसार आर्थिक स्रोत सुनिश्चित नभएका कारण सरकारी प्रतिष्ठानमा धेरै सिट निर्धार नभएको हो।
तर मदन भण्डारीको हकमा भने पिजी अध्ययन/अध्यापनका लागि प्रदेश सरकारबाट स्रोत सुनिश्चित भएको प्रदेश स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
सरकारी प्रतिष्ठानमा सिट संख्या कम तोकेको विषयमा नेपाल चिकित्सक संघले समेत आयोगको निर्णयप्रति खेद प्रकट गरेको छ।