काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वा स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले स्यानिटरी प्याडको कच्चा पदार्थको भन्सार शुल्क घटाउन माग गरेकी छिन्। प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले कच्चा पदार्थमा भन्सार महंगो भएका कारण स्वदेशी उद्योगले विदेशीसँग प्रतिष्पर्धा गर्न नसकेको बताएका हुन्।
उनले भनिन्, 'नेपालमा थुप्रै मुलुकबाट स्यानिटरी प्याड आयात हुन्छ। हाल नेपालकै उद्योगले ३० करोड थान उत्पादन गर्छन्, उनीहरुको उत्पादन वार्षिक ९० करोड थान स्यानिटरी प्याडको छ। कच्चा पदार्थको आयातमा बढी भन्सार लगाइँदा क्षमताअनुससार। उत्पादन हुन नसकेको हो।'
नेपालमा क्षमताको एक तिहाइ मात्रै प्याड उत्पादन हुने गरेको बताउँदै कच्चा पदार्थमा भन्सार दर घटाउन जोड दिइन्। उता स्यानिटरी प्याडमा भनेसार छुट दिइएको भन्दै आशंका व्यक्त गरिन्, ‘प्याड आयातमा दिइएको भन्सार छुट बिचौलियाको खल्तीमा पुगेको छ र यसको नियमन नहुनुले छुट नै स्वार्थ प्रेरित थियो भन्ने शंका उब्जिएको छ।’
सरकारी विद्यालयमा वितरण भइरहेको निःशुल्क स्यानिटरी प्याडको उपलब्धता र सुनिश्चितता गरिनुपर्ने पनि उनले बताइन्।