काठमाडौं– कन्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको हड्डीको शल्यक्रिया गरिएको छ।
कन्चनपुरको वेदकोट नगरपालिका निवासी तुलसादेवी देउवाको शल्यक्रिया गरिएको हो। बुधबार सम्पन्न भएको उक्त शल्यक्रियापछि शनिबार बिरामी डिस्चार्ज भइसकेका छन्। हाल बिरामीको अवस्था सामान्य छ।
चिकित्सकीय टिमको सल्लाह तथा परिवारको सहमतिमा शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ। अर्थाेपेडिक सर्जन डा दुर्गेश चौधरीको नेतृत्वमा भएको उक्त शल्यक्रियामा एनेस्थेसियामा डा मुकेश गामी सहभागी थिए। टिममा डा सुर्वण पौडेल तथा अन्य जनशक्ति गरी करिब १० जना संलग्न थिए।
अस्पताल व्यवस्थापन समिती तथा अस्पतालका मेडिकल सुपरिडेन्डेटले गरेको लामो परामर्शपछि बिरामीको परिवार शल्यक्रियाका लागि तयार भएका थिए।
‘हामीले शल्यक्रियामा हुनसक्ने जोखिम बारे बिरामी पक्षलाई सम्पुर्ण जानकारी गराएर मात्रै शल्यक्रिया गरेका हौं’, शल्यक्रियामा संलग्न कन्सल्टेन्ट एनेस्थोलोजिष्ट डा मुकेश गामीले भने, ‘एनेस्थेसिया र शल्यक्रियाको समय जोड्दा करिब डेढ घन्टा लागेको थियो।’
उनका अनुसार उमेर बढी भएकोले चिकित्सकले यस्तो केशमा शल्यक्रियाका लागि सुल्झाउँदैनन्।
शल्यक्रियालाई कसरी दुर्लभ मान्ने?
उमेरका हिसाबले यो दुर्लभ शल्यक्रिया भएको अस्पतालमा कार्यरत डा प्रशान्त भट्ट बताउँछन्।
१०८ वर्षीया बिरामीको शल्यक्रिया गर्नका लागि निर्णय गर्नु नै आफैंमा ठूलो निर्णय आफैंमा चुनौतीपुर्ण भएको उनको दाबी छ। उनले भने ‘उमेरको जोखिम हुँदाहुँदै पनि शल्यक्रियाको जोखिम लिन सक्नु नै जोखिम हो त्यसकारण यो दुर्लभ शल्यक्रिया हो।’
शल्यक्रिया पश्चात् पनि एनेस्थेसियाका चिकित्सकहरुले त्यसको निरीक्षण गरी नै रहेका हुन्छन्। यी सबै ठीक भएको अवस्थामा मात्रै बिरामी डिस्चार्ज गरिन्छ।
बिरामीकोे प्रि–एनेस्थेसिया परीक्षणका क्रममा मुटु तथा फोक्सोमा समस्या, अक्सिजको मात्रा कम देखिएको, शरीरमा नुनको मात्रा घटबढ तथा मिर्गौलामा पनि समस्या देखिएको कन्सल्टेन्ट एनेस्थोलोजिष्ट डा मुकेश गामी बताउँछन्।
उनका अनुसार शल्यक्रियाका क्रममा मुटुको चालमा घटबढ हुने जोखिमका साथै इम्बोलिजमका कारण मृत्यु कै जोखिम थियो। जसबारे बिरामीका आफन्तलाई जानकारी गराइएको थियो। ‘उनीहरुको सहमतिपछि नै शल्यक्रियाको प्रक्रिया अगाडि बढाइएको हो,’ डा गामीले भने।
शल्यक्रिया पश्चात् पनि दुखाई कम गर्ने औषधि हाल्ने गरी कम्मरमा पाइप राखेर स्पाइनल र इपिडियुरल लिड राखेर शल्यक्रिया गरिएको उनी बताउँछन्। पछिल्लो समय अस्पतालमा विशेषज्ञ चिकित्सक थपिएपछि जटिल प्रकारको शल्यक्रिया हुन थालेका छन्। अस्पतालमा हाल १४ विशेषज्ञ चिकित्सक तथा १२ मेडिकल अफिसर कार्यरत छन्।