आफ्नो जीवनकालमा कम्तिमा ४० प्रतिशत व्यक्तिहरु कुनै न कुनै मानसिक स्वास्थ्य सम्वन्धी पिरलाबाट गुज्रने गर्छन। नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०२० को अनुसार, सयमा दश जनालाई जीवनमा ‘मानसिक रोगसँग सँघर्ष गर्नुपर्ने हुन्छ। अमेरिकी एक सरकारी स्वास्थ्य निकायको तथ्याँक अनुसार केवल १७ प्रतिशत वयस्कहरु मात्र मानसिक रुपमा उत्तम स्वास्थ्यको अवस्थामा रहन्छन्। सामान्य मानसिक समस्याहरु यती आम विषय हुँदा हुँदै पनि हाम्रो मानसिक समस्या प्रतिको दृष्टिकोण भने अझैंपनि अत्यन्त नकारात्मक छ। यथेष्ट जानकारी बिना बनाइएको यस्तो नकारात्मक धारणाको कारण उत्पन्न डर र हिचकिचाहट नै सामान्य रुपमा समाधान हुन सक्ने मानसिक समस्या समेत उपयुक्त ‘इन्टरभेन्सन’ र उपचारको अभावमा बल्झिँदै र गम्भीर बन्दै जाने गरेको चिकित्सकिय अभ्यासमा पाइने गरेको छ।
मानसिक स्वास्थ्य सम्वन्धी केही प्रमुख भ्रमहरु यहाँ चर्चा गरिएको छ ।
१ भ्रम– मानसिक समस्या सवै गम्भीर हुन्छन्
शारीरिक रोगको सन्दर्भमा शुरुमा प्रायः सबै सोच्ने गर्छौं- समस्या सामान्य पेट दुखाइ, रुघा खोकी वा भाइरल ज्वरो जस्तो केही होला। आजको दिनमा पनि मानसिक समस्याको सन्दर्भमा भने कयौँ हामी मगज बिग्रेको, वास्तविकता थाहा नपाउने हिँस्रक व्यक्तिको कल्पना गर्न पुग्ने गर्छाैं। तर यस्तो गम्भीर ‘साइकोसिस’को अवस्था अत्यन्त कम मानसिक रोगमा मात्र देखिने गर्छ। मानसिक रोग पहिचानको लागि विश्वभर आधार मानिने ‘डि एस एम ५’ ले उल्लेख गरेका करीव ३०० मानसिक रोग मध्ये लगभग एक दर्जन समस्याको उत्कट अवस्थामा मात्र त्यस्तो स्थिति आउन सक्ने हो। उपलब्ध उपचार पद्धति र औषधीको समयमै प्रयोग गरेमा त्यस्तो अवस्थामा आजको दिनमा करीव कोही पनि पुग्नु पर्दैन भन्न सक्ने स्थितीमा नेपाल र नेपालको स्वास्थ्य प्रणाली पुगेको छ। महंगो परिक्षण बारम्बार आवश्यक नपर्ने हुनाले सामान्यत मानसिक समस्याको उपचार त्यती धेरै महँगो पनि छैन र नेपालमै सहज रुपमा उपलव्ध छ। अन्य अधिकांस मानसिक समस्या तुलनात्माक रुपमा सहज देखी मध्यम प्रकृतीका हुन्छन जसरीकी सवै शारीरीक समस्या जटील ट्युमर वा मल्टि अर्गान फेलरनै हुँदैनन्।
२ भ्रम– एकपटक मानसिक रोग लागे पछि जीवनभर छुट्दैन
कतिपयले, मष्तिष्कको न्युरोकेमिकल असन्तुलन एवं मनोसामाजिक कारणले नभइ मूलत देविदेवता भूतप्रेत आदिको कोपको कारण मानसिक समस्या हुन्छ र मानसिक समस्यामा चिकित्सकिय उपचार त्यती प्रभावकारी हुँदैन भन्ने भित्री सोच अझैपनि राखेको पाइन्छ। सायद यसैकारण, धेरैलाई एकपटक मानसिक रोग लागेपछि जीवनभर छुट्दैन भन्ने लाग्छ। डेढ दुईदशक अघिसम्म नेपालको मूल शहर बाहेकका ठाउँमा प्रभावकारी परीक्षण र औषधी उपलब्ध हुन्थेन। त्यतिबेला, बिमारको केही अज्ञात कारण मानेर बिरामीको आत्मविश्वास जगाउने एवं केयरको अनुभूत गराउने पूजा अनुष्ठान आदि गर्नु नै वास्तवमा युक्तिसंगत उपचार थियो । ‘प्लेसिवो इफेक्ट’ मार्फत् यस्तो कुराले केही फाइदा गर्छ भन्ने तथ्य आधुनिक विज्ञानले पनि स्विकार्छ। तर आजको दिनमा भने यो विषय बिलकुल फरक भएर गएको छ।
विज्ञानको योगदान स्वरुप आएका नवीनतम प्रभावकारी औषधी एवं थेरापी (काउन्सेलिङ्गं) जस्ता उपचारको सही प्रयोगवाट ७० देखी ९० प्रतिशत व्यक्तिले मानसिक समस्यमा उल्लेख्य सुधार महशुस गर्ने गरेको अध्यनले देखाएको छ। केही राहतको महशुस गर्नेको सँख्या त अझै बढी हुने गर्छ । सिजोफ्रेनिया, वाइपोलर जस्ता केही सिमित रोगमा औषधी जीवन भर आवश्यक पर्ने पनि हुन सक्छ । तर अन्य अधिकाँस समस्या अस्थाई प्रकृतिका हुन्छन्। कतिपय समस्यामा ठिक हुने र बल्झिने क्रम पनि चल्न सक्छ। धेरै मानसिक समस्यामा भने केही समयको उपचार पछि औषधी छुटाउन सकिन्छ।
उदाहरणको लागि, औसतमा मेजर डिप्रेसनको उपचार ९ देखि १८ महिना सम्म चल्ने मान्न सकिन्छ। माइल्ड र मोडरेट स्तरको डिप्रेसनमा जबकि उपलव्ध भएमा धेरैको लागि थेरापी, काउन्सिलिङ्ग जस्ता साइकोसल उपचार मात्रै पनि पर्याप्त हुन सक्ने मानिएको छ। ‘एन्जाइटी एबं स्ट्रेस रिलेटेड डिसअर्डर’ लगायतका कतिपय समस्यामा केही हप्तादेखि केही महिनाको औषधी र काउन्सिलिङ्गले समस्या उल्लेख्य रुपमा नियन्त्रणमा आउन सक्छ । व्यक्तित्वको प्रकार, सपोर्ट सिस्टम, पारिवारिक एवं सामाजिक परिस्थिति, उपचारमा गम्भीरता जस्ता विषयले भने व्यक्तिको बिमार साथै उपचारको अवधि र प्रभावकारितालाइ विशेष असर पार्न सक्छ।
३ भ्रम– मानसिक समस्याको रोकथाम सम्भव छैन
मानसिक समस्या एउटै विशिष्ट कारण भन्दा पनि धेरै कारणहरुको योगको परिणाम स्वरुप हुने गर्छ। ‘डायथेसिस–स्ट्रेस मोडेल’का अनुसार कुनै मानसिक रोगको शारिरीक एबं अनुवाशिक जोखिम वोकेको व्यक्ति बारम्बार मानसिक आघातजन्य परिस्थितिबाट गुज्रिनुपरेमा रोग लाग्ने सम्भावना बढी हुन्छ। जबकि, बलियो पारिवारिक, अन्तरवैयक्तिक, सामाजिक एवं अन्य सकारात्मक सहयोग उपलब्ध भएका साथै स्वस्थ जीवनशैली अपनाउने व्यक्तिमा जोखिमका बाबजुद पनि रोग उत्पन्न हुन पाउँदैन। जसरी राम्रो बीज पनि उपयुक्त माटो, मल, पानी र वातावरणको अभावमा अंकुरित हुन पाउँदैन।
यसरी, दुखेको मनमा मल्हम लगाउने र सकारात्मकता सञ्चार गराउने परिवारको सदस्य वा साथी हुनु, पारिवारिक वातावरण हुनु एवं स्वस्थकर जीवनशैलीको अवलम्वन गर्नु जस्ता उपायद्वारा धेरैहदसम्म मानसिक रोगलाइ रोकथाम गर्न सकिन्छ। उदाहरणको लागि, सिजोफ्रेनियाको जोखिम भएको व्यक्तिले मष्तिष्कको पूर्ण विकास नहुँदै खासगरी किशोरावस्थामा गाँजा लगायतका केही लागु पदार्थको अधिक प्रयोग गर्नु रोगलाइ निम्ता दिनु सरह हो भने यसवाट जोगिनु एक हदसम्मको रोकथाम।
विकसित मुलुकहरुमा रोगको उपचार भन्दा पनि मानसिक चोटहरुलाइ जटील रोग वन्न नदिने अर्थात रोकथामको उपायको रुपमा काउन्सेलिङ्ग÷थेरापीको बढी प्रयोग गर्ने गरिन्छ।
४ भ्रम– मानसिक समस्या कमजोर व्यक्तित्व र कमजोर बौद्धिकताको सूचक हो
हरेक व्यक्तिका केही शारीरीक वा मानसिक हिसावले कमजोर पक्षहरु हुन्छन्। राम्रो व्यक्तित्वसँगै स्वभावत त्यसका नकारात्मक पक्ष पनि साथमै आउँछन्। ताप दिन सक्ने बहुउपयोगी चिजको डढाउने नकारात्मक पक्ष जस्तै। उदाहरणको लाागि जिम्मेवारी बोध एक राम्रो गुण हो । तर, यो गुण अति धेरै हुनु अर्थात् ‘इन्फ्लेटेड सेन्स अफ रेस्पोन्सिविलिटी’ एन्जाइटीको कारण बनिदिन सक्छ। यसैगरी कठिन परिस्थितीमा नआत्तिने राम्रो गुण अति धेरै हुनुले ‘सोसियोप्याथिक टेन्डेन्सीको’ सम्भावना बढाइदिन सक्छ । पेशा प्रतिको हद भन्दा बढीको लगावले करिअरको विषयमा राम्रो नतिजा दिन सक्ला तर पारिवारिक र सन्तुलित जीवनका हिसावले चिन्ताको विषय हुन सक्छ। यसरी जीवनका राम्रा र कमजोर पक्षलाइ समष्टीमा हेर्नु पर्छ ।
जसरी ग्यास्ट्राइटिस वा उच्च रक्तचापको औषधी खानु परेकै कारण कोही म्यानेजर वा सर्जन कमजोर वा असक्षम हुँदैन, त्यसैगरी कुनै मानसिक समस्याको औषधी वा उपचार लिनु परेकै कारण व्यक्ति कमजोर मान्न सकिँदैन । मानसिक समस्याको लामो समय उपचार लिँदै देश, समाज र विश्व प्रख्यात कम्पनीको सफल नेतृत्व गरेका अनेकौँ उदाहरणहरु छन्।
५ भ्रम– मानसिक समस्या भएको व्यक्तिसँग डराउनु पर्छ
सनसनीपूर्ण समाचार र सोसल मेडियामा देखाइने गरिएका मानसिक बिरामी सम्बन्धी हिंसात्मक विषय वस्तुका कारण धेरैलाई मानसिक समस्या भएको व्यक्तिहरु खतरनाक हुन्छन् भन्ने डर रहेको हुन्छ। अपराधिक क्रियाकलापमा पनि मानसिक समस्यालाई अक्सर जोडेर हेर्ने गरिन्छ। तर केवल ७।५ प्रतिशत अपराधिक घटनामा मात्र मानसिक समस्याको प्रत्यक्ष सम्बन्ध हुने गरेको अध्ययनहरुले देखाएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक समस्या भएका व्यक्तिहरु हिँसाको कारण बन्ने भन्दा अति बढी हिँसा पिडीत हुने गर्छन्। अर्थात् उनीहरुको कारण समाजलाई भन्दा समाजको नकारात्मक दृष्टिकोणको कारण उनीहरुलाइ बढी पिडा र हिँसा हुने गर्छ।
अन्य भ्रमहरुमा, मानसिक समस्यामा मन दह्रो बनाउने र सोच मिलाउने हो उपचार वा अरुको सहयोग लिनु आवश्यक छैन वा मेरो जीवनमा कुनै अभाव छैन, सुखी र सक्षम छु, त्यसैले मेरो समस्या मानसिक हुन सक्दैन भन्ने धारणाको कारण रोग अनावश्यक बल्झिएपछि मात्र उपचार खोज्नु प्रमुख हो।
यसैगरी, मानसिक समस्यामा व्यक्ति स्वयं नै पूर्ण दोषी हुन्छ भनेर नियन्त्रण बाहिरका अनुवांशिक, बृद्धिविकासजन्य, पारिवारिक, वातावरणीय लगायतका कारणहरुमा पनि लाञ्छनाको बोझ बोकाएर असहाय महशुस गराउनु पनि अर्काे घातक धारणा हो।