६ महिनादेखि ५ वर्षसम्मका उमेर समूहका बालबालिकामा कुनै पनि कारणले १००.४ डिग्री भन्दा माथि ज्वरो बढ्दा हुने मिर्गी वा मूर्च्छालाई अंग्रेजीमा फेब्राइल सिजर भानिन्छ। यस उमेर समूहकॊ बालबालिकामा यो समस्या करिब ३ देखि ५ प्रतिशतसम्म देखिएको छ अर्थात् हरेक १०० जनामध्ये ३ देखि ५ जनामा पाइन्छ।
यो समस्यामा बच्चा बेहोश हुने, हातखुट्टा र जिउ कडा हुने वा काम्ने, आँखा पल्टाउने, मुखमा फिँज आउने, सास लिन गाह्रो हुने र ऒठ नीलो हुने, जीब्रो टोक्ने, दाँत किट्ने आदि लक्षणहरु देखिन्छ। कतिपय बच्चाले दिशापिसाब पनि गर्ने हुन्छ। यो प्राय: एकपटक ज्वरो आउँदा एकपटक आउँछ, ५ मिनेटभन्दा कम हुन्छ र आफैं रोकिन्छ। तर, कुनै-कुनै बच्चामा भने यो २४ घण्टाभित्र एकपटक भन्दा बढी हुने, लामो अवधिसम्म हुने (१५ मिनेट भन्दा बढी ) र शरीरको कुनै एक भाग मात्रै काम्ने वा कडा हुने गर्दछ। जसलाई अँग्रेजीमा कम्प्लेक्स फेब्राइल सिजर भनिन्छ। बच्चा काम्न वा कडा हुन रोकिएपछि केही समय सुस्त हुने, निदाउने वा निदाउला जस्तो हुन्छ। केही समयभित्रै बच्चा सामान्य अवस्थामा फर्किन्छ। यदि बच्चा काम्न छोडेको लामो समयसम्म पनि सामान्य अवस्थामा आएन भने अरु गम्भीर समस्या जस्तै दिमागको संक्रमण वा अरु रोगको लक्षण हुनसक्छ। यस्तो अवस्थामा तुरुन्त अस्पताल लगेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ।
यो रोगमा लक्षण छारे रोगमा जस्तै काम्ने, बेहोस हुने, आँखा पल्टाउने आदि भएतापनि यो छारेरोग हैन र छारे रोगमा जस्तो औषधि खानु पर्दैन। यसले बच्चाको शारिरीक, मानसिक तथा दिमागको बिकासमा असर गर्दैन। यो समस्या यदि आफ्नो नजिकको परिवारको सदस्यमा छ भने बच्चामा हुन सक्ने जोखिम बढी हुन्छ।
यो रोग ज्वरो बढेपछि हुने हो। यस समस्यामा ज्वरोको कारण जे पनि हुनसक्छ । ज्वरोको प्रमुख कारणहरूमा भाइरल ज्वरो, रुघाखोकी ज्वरो, कान तथा घाँटीको संक्रमण, निमोनिया, पिसाबको संक्रमण, झाडापखाला आदि हुन् । यदि मूर्च्छा ज्वरो बिना नै आएको छ भने वा कहिले ज्वरोसँग आउने अनि कहिले ज्वरो बिना नै आउने भयो भने र लामो समयसम्म आयो भने यो अरु रोगको कारण हुनसक्छ र यसको पहिचानको लागि बेलैमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ।
सामान्यतया यो रोगको निदानको लागि परीक्षणहरू जस्तै दिमागको एमआरआई/ईईजी वा दिमागको पानीको जाँचको आवश्यक पर्दैन। तर ज्वरोको कारण पत्ता लगाउन भने रगत, पिसाब आदिको जाँच आवश्यक हुनसक्छ । यसको उपचार भनेको ज्वरोको कारणको उपचार हो। ज्वरो जुन समस्याले भएको हो, त्यो समस्याको उपचार हो । बच्चालाई अरु रोगको ज्वरोमा जस्तै प्रशस्त झोल खाने कुरा दिने, सिटामोल दिने तथा चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने हो। सिटामोलले ज्वरो घटाएर बच्चालाई आराम बनाउँछ तर यसले बच्चालाई मूर्च्छा पर्नबाट बचाउँदैन। त्यसैले सिटामोलको सही प्रयोग गर्नुपर्छ।
मूर्च्छा परेको समयमा भने तल उल्लेखित साबधानीहरू अपनाउनुपर्दछ ।
- आफू नआत्तिकन सुरु भएको समय हेर्नुहोस्।
-बच्चालाई पानी, आगो वा धारिलो बस्तुबाट टाढा सुरक्षित स्थानमा कोल्टे पारेर भुइँमा सुताउनुहोस्।
-लुगा कस्सिएको छ भने खोल्नुहोस्। विशेषगरी घाँटी वा छातीको लुगालाई ध्यान दिनुहोस् किनकि यसले सास फेर्न असजिलो बनाउँछ।
-बच्चाको मुखमा औंला वा अरु केही बस्तु नहाल्नुहोस्। यस्तो अवस्थामा बच्चालाई मुखबाट केही पनि (औषधी समेत) खुवाउन मिल्दैन। यसले सर्किन सक्छ र फोक्सोमा क्षती पुग्छ ।
-काम्न कम गर्न भनेर बच्चाको हातखुट्टा समाउने नगर्नुहोस्। सम्भव छ भने मोबाइलबाट भिडियो बनाउनुहोस्। यो भिडियो हेरेर चिकित्सकलाई निदान गर्न सजिलो हुन्छ।
- ५ मिनेटसम्म पनि बच्चा कामिरहेमा, काम्न छोडेको लामो समयसम्म पनि सामान्य अवस्थामा नफर्केमा तथा कुनै हातखुट्टा चलाउन नसकेमा वा लुलो भएमा अस्पताल लग्नुपर्दछ। तर बच्चामा पहिलोपटक मूर्च्छा समस्या आएको हो भने तुरुन्त अस्पताल लग्नुपर्दछ।
माथि भनेझैं यौ समस्या छारे रोग हैन। तर निम्न अवस्थामा भने भबिश्यमा छारेरोग हुन सक्ने जोखिम बढाउँछ।
-यदि नजिकको परिवारको अरु सदस्यमा छारे रोग छ भने,
-बच्चाको मानसिक र शारीरिक विकासमा समस्या छ भने,
-यदि मूर्च्छा पर्दा बच्चा १५ मिनेटभन्दा बढी अवधि हुने र एकपटकको ज्वरोमा १ पटक भन्दा बढी मूर्च्छा भएमा ।
यो समस्या करिब ३ जनामध्यॆ १ जना बच्चालाई एकपटक भएपछि ५ वर्षको उमेरसम्म ज्वरो आउदा दोहोरिन सक्छ। पहिलोपटक यो समस्या हुदा बच्चा १८ महिना भन्दा कम उमेरको छ भने, एकपटक ज्वरो आउँदा एकपटक भन्दा बढी मूर्च्छा परेको छ भने र परिवारको अरु सदस्यमा पनि येस्तै समस्या छ भने ५ वर्ष सम्म दोहोरिने खतरा बढ्छ। यस जोखिमलाई कम गर्ने औषधि हुँदैन र कुनै औषधि खुवाउनु पर्दैन । ज्वरोको औषधि र ज्वरोको कारणको उपचारको लागि भने चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ।
(डा मोक्तान हाल बेलायतको लन्डनस्थित अस्पतालमा बालमस्तिष्क तथा स्नायु रोगमा फेलोसिप गर्दै छन्)