कोलोरेक्टर क्यान्सर भन्नाले ठूलो आन्द्रा र मलाशय तथा मलद्वार को क्यान्सर भन्ने बुझिन्छ । धेरैजसो कोलोरेक्टल क्यान्सर पोलिप भन्ने सानो मासु पलाएपछि नै सुरु हुन्छ। सामान्य अवस्थाका पोलिप विस्तारै ठूलो हुँदै जाने र क्यान्सरको रूप लिने गर्छन् । सामान्यतया कसैको ठूलो आन्द्रामा पोलिप देखिएको छ भने यसले ५ देखि १० वर्षपछि क्यान्सरको रूप लिन सक्छ, त्यसैले यसको समयमै उपचार भएमा पूर्ण रूपमा निको पार्न सकिन्छ ।
कोलोरेक्टल क्यान्सर विश्वभर सबैभन्दा बढी हुने क्यान्सर मध्य तेस्रो नम्बरमा पर्दछ र क्यान्सरबाट हुने मृत्युको दोस्रो प्रमुख कारण हो, जसले पुरुष र महिला दुवैलाई लगभग बराबर असर गर्छ। कोलोरेक्टल क्यान्सरले सबै जातीय र जातीय समूहहरूमा मानिसहरूलाई असर गर्छ र ४५ वर्ष वा माथिका मानिसहरूमा सबैभन्दा सामान्य हुन्छ।
कोलोरेक्टल क्यान्सर कसरी थाहा पाउने? लक्षणहरू के हुन्?
कोलोरेक्टल क्यान्सरको सुरुको अवस्थामा खासै लक्षण देखिँदैन। तर विस्तारै दिसामा रगत देखिने, दिसा गर्दा र्याल जस्तो पदार्थ आउने, दिसा गर्न अप्ठ्यारो हुने अनि कहिलेकाहिँ दिसा गडबडी (कहिले कब्जियत हुने त कहिले पखाला लाग्ने) हुनु, घरी घरी दिसा लागिरहने जस्ता लक्षण देखिन्छ। पेट दुख्ने, पेटमा असहज महसुस हुने, कहिले पेट फुल्ने त कहिले दुख्ने जस्ता लक्षण देखिन्छ। बारम्बार दिसा लागिरहेको जस्तो पनि हुने, तौल घट्ने, थकाई लाग्ने जस्ता समस्या पनि देखिन थाल्छ।
प्रमुख कारणहरू
कोलोरेक्टल क्यान्सर हुनुको प्रमुख कारण भनेको बढ्दो उमेर भएता पनि हाल यूवा अवश्थामा पनि तिब्र रूपमा देखिएको पाइन्छ। तर अधिकांश कोलोरेक्टल क्यान्सर जीवनशैलीका कारण हुन्छ भने थोरै सङ्ख्यामा मात्र वंशाणुगत कारणले भएको देखिन्छ।
मोटोपना हुने, व्यायाम नगर्ने, अत्यधिक मात्रामा धूमपान र मद्यपान गर्ने, रातो मासु बढी खाने, धूवाँमा सेकेको खानेकुरा धेरै खाने, सागसब्जी कम खाने र रातो मासु तथा प्रशोधित खानेकुरा बढी खानेहरू ठूलो आन्द्रा क्यान्सरको जोखिममा हुन्छन् ।
कसरी रोक्ने?
नियमित रूपमा स्क्रिनिङ गर्ने, ४५ वर्षको उमेर भएपश्चात नियमित जाँच गर्नुपर्दछ, कोलोरेक्टल क्यान्सर (कोलोन वा मलाशयको क्यान्सर) रोक्नको लागि नियमित जाँच अनिवार्य छ। यदि तपाईं ४५ देखि ७५ वर्षको हुनुहुन्छ भने नियमित रूपमा कोलोरेक्टल क्यान्सरको लागि जाँच गर्नुपर्दछ। यदि तपाईं ४५ वर्ष भन्दा कम उमेरमा हुनुहुन्छ र तपाईं कोलोरेक्टल क्यान्सर हुने उच्च जोखिम समूहमा पर्नुहुन्छ, वा यदि तपाईं ७५ वर्ष भन्दा माथि हुनुहुन्छ भने स्क्रीनिंगको बारेमा डाक्टरसँग परामर्श गर्नुपर्दछ।
कोलोरेक्टल पोलिप्स र कोलोरेक्टल क्यान्सरको सधैं सुरूमा लक्षणहरू देखापर्दैन्, त्यसैले कोलोरेक्टल क्यान्सरको लागि नियमित रूपमा स्क्रिनिङ गर्नु महत्त्वपूर्ण हुन्छ।
कोलोरेक्टल क्यान्सर समयमै निदान भएमा निकोहुने रोग हो र लक्षणहरूको लागि प्रतीक्षा नगरी समयमै कोलोनोस्कोपी तथा अन्य जाँच गरि पत्ता लागेमा पुर्ण रूपमा निको हुन्छ। यदि तपाइँ ४५ वर्ष भन्दा माथिको हुनुहुन्छ वा लक्षण देखिएको सानो उमेरको हुनुहुन्छ भने कोलोरेक्टल क्यान्सरको उच्च जोखिममा र यो कोलोनोस्कोपी तथा अन्य जाँच गर्ने समय हो।
यहाँ केहि जोखिम कारकहरू छन् जुन ४५ वर्ष अघि कोलोनोस्कोपी आवश्यक हुन सक्छ:
• कोलोन पोलिप्स वा क्यान्सरको पारिवारिक वा व्यक्तिगत इतिहास
• अल्सरेटिभ कोलाइटिस वा क्रोनको रोग जस्ता सूजन आन्द्रा रोगहरू
• केही आनुवंशिक अवस्थाहरू
• पारिवारिक एडेनोमेटस पोलिपोसिस आदि
स्क्रिनिङ परीक्षण विकल्पहरू:
१) दिसा जाँच
- ग्वायाकमा आधारित दिसामा रहेका अदृष्य रक्त परीक्षणले मलमा रगत पत्ता लगाउन रासायनिक ग्वायाक प्रयोग गर्छ। यो वर्षमा एकपटक गरिन्छ।
- फेकल इम्युनोकेमिकल परीक्षणले दिसामा रगत पत्ता लगाउन एन्टिबडीहरू प्रयोग गर्छ। यो पनि वर्षमा एकपटक गरिन्छ। यसले थप संवेदनशीलता र विशिष्टता दर्शाउँछ।
- स्टुल डिएनए टेस्टले फेकल इम्युनोकेमिकल परीक्षण परीक्षणसँग जोड्छ, जसले स्टूलमा परिवर्तन भएको डिएनए पत्ता लगाउँछ। यो हरेक तीन वर्षमा एक पटक गरिन्छ।
२) लचिलो सिग्मोइडोस्कोपी
यस परीक्षणको लागि, डाक्टरले तपाईंको मलाशयमा छोटो, पातलो, लचिलो, उज्यालो ट्यूब राख्छन्। डाक्टरले मलद्वार भित्र र ठूलो आन्द्रा प्रणालीको तल्लो तेस्रो भागमा पोलिप्स वा क्यान्सरको जाँच गर्छ।
कति पटक: प्रत्येक ५ वर्षमा, वा प्रत्येक १० वर्षमा प्रत्येक वर्ष फेकल इम्युनोकेमिकल परीक्षणसँग।
३) कोलोनोस्कोपी
डाक्टरले मलाशय भित्र पोलिप्स वा क्यान्सर जाँच गर्न लामो, पातलो, लचिलो, उज्यालो ट्यूब प्रयोग गर्दछ। परीक्षणको क्रममा, डाक्टरले धेरैजसो पोलिप्स र केही क्यान्सरहरू फेला पार्न र हटाउन सक्छ। कोलोनोस्कोपी पनि एक अनुवर्ती परीक्षणको रूपमा प्रयोग गरिन्छ यदि अन्य स्क्रिनिङ परीक्षणहरू मध्ये कुनै एकको समयमा असामान्य केहि फेला पर्यो।
कति पटक: प्रत्येक १० वर्षमा (कोलोरेक्टल क्यान्सरको बढ्दो जोखिम नभएका मानिसहरूका लागि) ।
४) सीटी कोलोनोग्राफी (भर्चुअल कोलोनोस्कोपी)
कम्प्युटेड टोमोग्राफी (सीटी) कोलोनोग्राफी, जसलाई भर्चुअल कोलोनोस्कोपी पनि भनिन्छ, एक्स-रे र कम्प्युटरहरू प्रयोग गरेर सम्पूर्ण बृहदान्त्रको छविहरू उत्पादन गर्दछ, जुन डाक्टरलाई विश्लेषण गर्नको लागि कम्प्युटर स्क्रिनमा प्रदर्शित हुन्छ। कति पटक: प्रत्येक ५ वर्ष।
रोकथामका उपायहरु
जीवनशैलीलाई अलिकति अनुशासित बनाउन सकियो भने यो रोग लाग्ने सम्भावना कम हुँदै जान्छ । स्वस्थ जीवन नै यस रोगबाट बच्ने मूलमन्त्र हो । खानपिन र व्यायाममा ध्यान दिनेबित्तिकै धेरै हदसम्म यो रोग लाग्नबाट आफूलाई बचाउन सकिन्छ । त्यसका लागि फलफूल, सागसब्जी र रेसायुक्त खानेकुरा आफ्नो दैनिकीमा ल्याउनुपर्छ । दैनिक योग, व्यायाम गरी तौललाई नियन्त्रण गर्नुपर्छ । प्राकृतिक खानामा जोड गर्ने, जङ्क फुडको सेवनलाई बन्द गर्ने, मद्यपान र धूमपानबाट टाढै बस्नुपर्छ । यस्तो बानीसँगै ठूलो आन्द्राको क्यान्सरका लक्षणहरूबारे जानकारी राखेर बेलैमा यसलाई ध्यान दियौं भने यसको निदान शतप्रतिशत सम्भव छ । जति छिटो स्वस्थ जीवनशैली अपनाउन थालिन्छ, ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना त्यति नै परपर सर्दै जान्छ ।
विकसित देशमा नागरिक स्वयं ५० वर्षको उमेरपछि स्क्रिनिङका लागि जाने गरेपनि नेपालमा यसको अभ्यास भएको छैन । नेपालमा रोगका लक्षण देखिएपछि अथवा रोगले थलिएपछि मात्रै अस्पताल जाने चलन छ।
कोलोरेक्टल क्यान्सरको सुरुको अवस्था छ भने शल्यक्रिया मुख्य उपचार हो । सुरुकै अवस्थामा थाहा भएमा शल्यक्रियामार्फत क्यान्सरलाई निर्मूल पार्न सकिन्छ । क्यान्सरको अवस्था अगाडि बढिसकेको छ भने चाहिँ रेडियोथेरापी र किमोथेरापीले यसलाई नियन्त्रणमा राख्न सकिन्छ । ठूलो आन्द्राको क्यान्सरको चरणअनुसार उपचारका विधिहरू फरक–फरक छन् । तर, उपचारभन्दा पनि यो रोग लाग्नै नदिनु राम्रो हो, जसबाट उपचार खर्च पनि जोगिन्छ ।
(कोलोक्टल सर्जन डा साह नेशनल कोलोरेक्टल सेन्टर, काठमाडौं, एभरेस्ट, फ्रन्टलाइन, नेपाल नेसशनल हस्पटिल काठमाडौं र काभ्या हस्पिटल जनकपुरमा कार्यरत छन्)