चिकित्सक संघका संस्थापकसहित अन्य चिकित्सकहरुको तस्बिर । तस्बिर सौजन्य : डा हेमांग दीक्षित नेपालमा जनक्रान्ति सम्पन्न भएलगत्तै २००७ साल फागुन २० गते वीर अस्पतालमा कार्यरत २० जना डाक्टरहरूको त्यहीँ आयोजित एक बैठकले आफ्नो पेशागत हक, हित, प्रतिष्ठा, सुसंगठन एवम् भावनात्मक एकता बनाउने उद्देश्य र कर्तव्यवोध सहित १३ बुँदे एक निर्णय गरेको थियो। जसमा नेपाल चिकित्सक संघको स्थापना गर्ने अठोट प्रमुख थियो।
बैठकले डा सिद्धिमणि आचार्य दीक्षितको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरे। उपाध्यक्षमा डा डि दास गुप्ता, महासचिवमा डा जीतसिंह मल्ल र डा दिनेशानन्द वैद्य, एसिस्टेन्ट सचिवमा डा इन्द्रमान वैद्य, कोषध्यक्षमा डा एसएल दास गुप्ता र लाइब्रेरियनमा डा एससी मजुम्दार भएका थिए। यस्तै कार्यसमिति सदस्यहरुमा डा एनएल शाह, डा वाइएम वैद्य, मेजर प्रकाशबहादुर वैद्य, डा यज्ञराज जोशी, डा भवानी बहादुर सिंह र डा एनसी चटर्जी रहेका थिए।
२००७ साल फागुण २० गते वीर मेल अस्पतालमा बिहान ११ बजे नेपाल चिकित्सक संघ कार्यकारिणी समितिका अध्यक्ष डा. सिद्धिमणी आचार्य दीक्षितज्यूको अध्यक्षतामा बैठक बसी कार्यालय सञ्चालनका लागि अफिस क्लर्क र २ जना पाले नियुक्त गर्ने सर्वसम्मत निर्णय भएको थियो। त्यस समयमा अफिस क्लर्कका लागि एसएलसी पास गरेको शैक्षिक योग्यता हुनु पर्ने र नीजलाई रू ४० प्रति बैठक उपलब्ध गराउने निर्णय गरिएको पाइयो। त्यसैगरी २ जना पालेका लागि प्रतिव्यक्ति रू १५ का दरले प्रति बैठक उपलब्ध गराउने निर्णय गरिएको पाइयो।
वीर मेल अस्पतालको उत्तरपट्टिको आवासीय मेडिकल अफिसर (आरएमओ) को भवनबाट अस्थायी रूपमा कार्यालय सञ्चालन गर्ने र कार्यालय समय साँझ ४ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म कायम राख्ने निर्णय गरिएको थियो।
नेपाल चिकित्सक संघको साधारण सदस्यताका लागि तत्कालीन समयमा १० रूपैयाँ लिने तथा संघका आजीवन सदस्यताका लागि १००० तथा मासिक शुल्क प्रतिव्यक्ति रू ५ लिने निर्णय गरिएको थियो। साथै संघका लागि कुनैपनि दाताले उपलब्ध गराउने योगदान तथा सहयोगलाई हार्दिकताका साथ स्वीकार गर्ने निर्णय समेत गरिएको पाइयो।
उपचार सेवालाई नियमसम्मत बनाउने, स्वास्थ्य सेवामा संलग्न जनशक्तिलाई तालिम र प्रशिक्षणद्वारा दक्ष बनाउने, स्वास्थ्य मन्त्रालयसँग समन्वय राखी चिकित्सा ज्ञान–विज्ञानको प्रवद्र्धन गर्दै आम जनतालाई यसबाट लाभान्वित बनाउनेजस्ता कार्यमा पनि नेपाल चिकित्सक संघले आवश्यकता महसुस गरेको थियो। उक्त निर्णयलाई सरकारी वैधानिकता र मान्यता प्राप्त गर्न सोही वर्षको चैत २ गते स्वास्थ्य मन्त्रालयमा निवेदन दिइयो र मन्त्रालयले सिफारिस सहित गृह मन्त्रालयलाई आवश्यक कार्यवाहीका लागि प्रक्रिया अगाडि बढायो।
सोही वर्ष यस संघले सरकारबाट स्वीकृति पाएर नेपालको सबैभन्दा पहिलो पेशागत संगठन हुने इतिहास बनायो। संघको संस्थापक अध्यक्ष डा सिद्धिमणि आचार्य दीक्षित भए र उनले संघलाई ८ वर्ष अनवरत नेतृत्व दिए। ती दिनमा संघलाई सुसङ्कठित, संस्थागत एवम् प्रभावकारी बनाउँदै लैजाने क्रममा निरन्तर रूपमा बैठक, सरकारसँगको सम्पर्क, वार्ता र सहमतिका अभ्यास हुँदै आए। त्यस अवधिमा स्वास्थ्य मन्त्रालय र संघकाबीच चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको सेवाको दक्षता अभिवृद्धि र काम गर्ने व्यवस्थापनलाई लिएर अनेकौँ सहमतिहरू भएका थिए। २००९ साल बैशाखमा चिकित्सकहरूको वेतनमानको विषयलाई लिएर स्नातक उत्तीर्ण चिकित्सकलाई मासिक रू ४००, सहायक चिकित्सकलाई मासिक रू ३००, अतिरिक्त स्नातकोत्तर उत्तीर्ण चिकित्सकलाई मासिक रू १०० थप, विदेशबाट पढेर आएका नेपाली वा नेपालमा कार्यरत भारतीय चिकित्सक लाई रू २०० का दरले थप भत्ता दिने प्रस्ताव चिकित्सक संघले प्रस्तुत गर्यो।
त्यसैताका चिकित्सक संघका काम कारवाहीलाई विधानसम्मत बनाउन डा एन् चटर्जीको संयोजकत्वमा एउटा विधान मस्यौदा उपसमिति गठन गरियो, जसमा डा यज्ञराज जोशी, डा आर वैद्य, र डा एन्डी जोशी सदस्य थिए। त्यही उपसमितिले ‘एकता, भाइचारा, मानव सेवा’ भन्ने आदर्शलाई वरण गर्यो, जुन विधान मस्यौदालाई २०१० सालको वार्षिक सभाले सामान्य हेरफेरपछि स्वीकृत गरेको थियो। सो विधानमा संघको कार्यसमितिको कार्यकाल एकवर्ष हुने व्यवस्था थियो। २०१० सालको बडादशैँका अवसरमा जनरल सुर शम्शेरले काठमाडौं स्थित सेतो दरबारको एउटा भाग संघलाई कार्यालय प्रयोजनका लागि उपलब्ध गराउनु भएको थियो। तर पछि ‘नील सदन दिने निर्णय भयो।
प्रतिकूल परिस्थितिका बावजूद चिकित्सक संघले आफ्ना नियमित कार्यक्रम, बैठक, सरकारसँग वार्ता तथा सहमति र वार्षिक सभालाई निरन्तरता दिँदै ल्यायो। संघका सदस्य चिकित्सकहरूले बेलाबखतमा विभिन्न विद्यालयहरूमा गई टीएबीसी लगायतका खोप कार्यक्रमलाई अगाडि बढाएर तथा शिवरात्रीको अवसरमा पशुपतिनाथमा र थानकोटमा लगाइएका परोपकार राहत शिविरमा पुगी चिकित्सा सेवा र प्रभावकार्यलाई गति दिए। सिनेमाहलबाट शिक्षामूलक उपचार पद्धतिबारे सिनेमा प्रशारणलाई पनि अगाडि बढाउने काम भए। २०१२ साल र त्यसपछि संघले काठमाडौं उपत्यकाबाहिर घुम्ती स्वास्थ्यसेवा टोली पठाउन शुरू गर्यो। २०१४ साल वैशाखमा स्वास्थ्य मन्त्रालयको सल्लाहकार निकायमा चिकित्सक संघका महासचिवलाई सदस्यका रूपमा आमन्त्रण गर्न थालेर नयाँ मान्यताको विकास गराइएको थियो।
२०१४ मंसिरमा नेपाल चिकित्सक संघ र विराटनगरको मेडिकल कन्फरेन्सकाबीच काठमाडौंमा एकीकरण बैठक तथा वार्ता सम्पन्न भयो। स्मरणीय छ, काठमाडौंका चिकित्सकहरूले संघको स्थापना गरेका थिए भने विराटनगरका चिकित्सकहरूले विराटनगर मेडिकल कन्फरेन्सका रूपमा समानान्तर चिकित्सक संगठनको प्रारम्भ गरेका थिए। सो एकीकरण वार्तापछि दुवै संगठनलाई मिलाएर अखिल नेपाल चिकित्सक संघको स्थापना गर्ने र विराटनगरमा संघको पूर्वाञ्चल शाखा रहने निर्णय भयो। साथै विराटनगरमा जस्तै नेपालगञ्जमा पश्चिमाञ्चल शाखा रहने र काठमाडौंको चिकित्सक संघलाई केन्द्रीय कार्यालयका रूपमा स्थापित गर्ने सहमति भयो। तीन शाखाको संयोजनका लागि विराटगरमा डा अवधनारायण लाल, मध्यमाञ्चलमा डा नरेन्द्रध्वज जोशी र पश्चिमशाखामा डा त्रिवेणीप्रसाद प्रधान रहने निर्णय भयो।
सेतो दरबारमा संघको कार्यालय सात वर्षसम्म रहेपछि २०१५ साल असोजमा आकस्मिक रूपमा सरेर हनुमानढोका अगाडिको एउटा कोठामा रहनुपर्यो। २०१७ सालमा डा डी एन् वैद्यको अध्यक्षतामा चिकित्सक संघको अर्को कार्यसमिति निर्वाचित भयो। यस कार्यसमितिका पालामा चिकित्सक संघको प्रथम स्मारिका प्रकाशित भयो, यसै अवधिदेखि विश्व स्वास्थ्य संगठनका प्रकाशनहरू नियमित रूपमा नेपाल भित्रिन थाले। साथै संघले अन्तर्राष्ट्रिय मान्यता पाउने प्रक्रिया खुला गरियो।
२०१८ सालमा डा नागेश्वर प्रसाद सिंह चिकित्सक संघको चौथो अध्यक्ष निर्वाचित भए। यसले चिकित्सक संघको संशोधित विधान पारित गर्यो। त्यसपछि पाचौँ अध्यक्ष निर्वाचित भएर डा यज्ञराज जोशी आए। उनका पालामा विश्व चिकित्सक संघ, ब्रिटिश चिकित्सक संघ, भारतीय चिकित्सक संघ र अमेरिकी चिकित्सक संघसँग संस्थागत सम्बन्ध बढाउने निर्णय गरियो।
नेपाल चिकित्सक संघको दोश्रो अधिवेशन डा. अवधनारायणको अध्यक्षतामा कार्यसमिति निर्वाचित गर्दै २०२१ सालमा विराटनगरमा सम्पन्न भयो। उनका पालामा गैर स्वास्थ्य–उपचार प्रविधिको ज्ञान नभएका व्यक्तिले औषधि भण्डार वा पसल चलाउने र चिकित्सा सेवामा संलग्न व्यक्तिले यस्ता पसलमा सेवा पुर्याउने प्रवृत्ति चिकित्सा र अन्य स्वास्थ्य सेवाको गरिमा पतन गराउने कार्य हो भन्ने आवाज उठाउन शुरु गर्यो।
यसै कार्यकालमा चिकित्सक संघले आफ्नै भवन निर्माणका लागि जग्गा प्राप्त गर्न सफलता पायो, जब राजा महेन्द्रसमक्ष भवन निर्माण उपसमितिका अध्यक्ष डा यज्ञराज जोशीले यसबारेमा कुरा राख्नुभएको थियो। काठमाडौंस्थित भृकुटीमण्डप पछाडि दुई रोपनी जग्गा यस प्रयोजनका लागि दिने ‘हुकुम राजा महेन्द्रले दिएका थिए। भवन निर्माणार्थ चीनियाँ चिकित्सक संघले रू ५० हजार उपलब्ध गरायो भने डा जोगेन्द्र झाबाट रू १२ हजार प्रदान गरिएको थियो।
२०२० सालमा नेपाल मेडिकल काउन्सिल ऐन पारित भयो तर काउन्सिलका सदस्यको मनोनयन २०२२ कात्तिकमा मात्र भयो। २०२३ सालमा संघले औषधिमा सरकारले लगाइआएको १० प्रतिशत अतिरिक्त महसुल कुनै दृष्टिकोणले उचित छैन भनी सरकारसमक्ष कुरा राख्यो। परिणामस्वरूप त्यस्तो शुल्क एक प्रतिशतमात्र लगाउने कुरामा सरकारलाई निर्णय गराउन संघ सफल भयो।
तेश्रो अखिल नेपाल चिकित्सक अधिवेशन विरगञ्जमा गर्ने निर्णय भएको थियो, तर विविध कारणले गर्दा काठमाडौंमै सम्पन्न गरियो र डा लक्ष्मण पौडेल संघको नयाँ अध्यक्ष निर्वाचित भए। त्यसैबेला संघको विधानमा समयसापेक्ष परिवर्तन/संशोधन गर्ने काम भयो। अनुसन्धानका लागि अनुदानको व्यवस्था, स्वास्थ्य क्षेत्रका प्रशासनिक पदको माथिल्लो तह बस्नेले क्लिनिक सञ्चालन गर्न नहुने, चिकित्सकहरूलाई विशेष ग्रेडका आधारमा पदोन्नतिको व्यवस्था गरिनुपर्नेजस्ता सुझावका लागि निर्णय सोही कार्यकालमा भएको थियो।
यसैक्रममा संघमा सुरुका केही वर्ष हरेक वर्ष र त्यसपछि प्रत्येक दुई दुई वर्षमा नेतृत्व परिर्वन हुँदै आयो। पछिल्लो एक दशकदेखि भने संघमा हरेक तीन वर्षमा नयाँ कार्यसमिति चयन हुने गरेको छ। संघमा अहिले ३२ औं अध्यक्षका रुपमा डा अनिलविक्रम कार्की छन्। उनको कार्यकाल अबको एक वर्षपछि सकिने छ।
(संघका निर्वतमान अध्यक्ष डा लोचन कार्कीको पुस्तक नेपाल चिकित्सक संघ विगतदेखि वर्तमानसम्म पुस्तकमा आधारित)