रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जनस्वास्थ्यको आधारभूत सिद्धान्त हो। यो सिद्धान्त स्वस्थ जीवनलाई प्रवद्र्धन, सुधार र टेवा पुर्याउनको लागि आवश्यक छ।
कुनै पनि नयाँ कुराकोे आविष्कार वा भनौं सुरुवात, को बाट भयो भनेर सोध्दा, सामान्यता व्यक्तिको नाम आउँछ तर जनस्वास्थ्यर्मा हैजा’लाई पिताको रुपमा बुझिन्छ। १९औँ शताब्दीमा भएको हैजाको कारणले जनस्वास्थ्यको जग तथा विकास भयो भन्दा अन्यथा नहोला। उचित उपचारको अभावमा, हैजाले शरीरमा गम्भीर रुपले पानीको मात्रा घटाउँछ र बिरामीको मृत्यु समेत हुन सक्छ। हैजाले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्दछ। हैजा रोकथाम गर्न सकिने रोग भएपनि जनस्वास्थ्यको समस्याको रुपमा चिनिएको छ।
सन् १८५४मा लन्डनमा हैजाले महामारीको रुप लिएको थियो। जोन् इस्नोले अध्ययन तथा अनुसन्धान गरेर प्रदुषित पानी नै महामारीको मुख्य कारण हो भनेर पत्ता लगाएका थिए। त्यसको लागि उनले सोहो जिल्लामा भइरहेको यस महामारीको विस्तृत अनुसन्धान गर्दा, त्यहाँ रहेको ब्रोड स्ट््िरटको पानीको पम्प मुख्य स्रोत ठहरियो। पम्पको ह्यान्डल हटाएपछि, फलस्वरुप महामारी रोकिएको थियो। त्यसका साथसाथै, स्नोले लन्डनका घरहरुमा पानी प्रदान गर्ने दुईटा पानी वितरण प्रणालीको अध्ययन गरे। एउटाले थेम्स नदीको प्रदुषित भागबाट पानी ल्याउथे भने, अर्कोले नदीको सफा भागबाट। सफा पानीको प्रयोग गर्नेमा रोगको संक्रमणको दर कम देखियो। यस अध्ययनले स्वच्छता अभियानलाई बलियो बनायो। रोग फैलिने कारण (मियास्मा सिद्धान्त अर्थात् दुषित हावा)बारे धारणा परिवर्तन गर्दै पानी शुद्धीकरण र नाली सरसफाईलाई प्राथमिकता दिन महत्वपूर्ण भूमिका खेल्यो। फलस्वरुप, सहरहरुले ढल व्यवस्थापन तथा पानी शुद्धिकरणमा विशेष ध्यान दिन थाले।
हैजाको फोहोर र संक्रमित पानीका मुहानसँग गहिरो सम्बन्ध छ। यो कुरा पत्ता लागेपछि आम मानिसमा सफा तथा शुद्ध पानी, व्यवस्थित फोहोर व्यवस्थापनको महत्व बढ्यो। पानी वितरणका संरचनाहरुमा ध्यान दिन थालियो। हैजामा स्नोले गरेको अध्ययन तथा अनुसन्धानले गर्दा इपिडिमियोलोजीको जग बस्यो। इपिडिमियोलोजी भनेको कुनै पनि रोगको वितरण र निर्धारक कारकहरुको अध्ययन हो जसले गर्दा रोगलाई फैलिनबाट नियन्त्रण गर्न, भविष्यमा हुन सक्ने प्रकोपहरु रोक्न तथा दीर्घकालीन रुपमा स्वास्थ्यमा सुधार गर्न महत्वपूर्ण भुमिका खेल्दछ। हैजा १८५४ मा मात्र नभई त्यो भन्दा अगाडि पनि हैजाले सताएको थियो र अनुसन्धानका कार्यहरुको पनि थालनी भएको थियो। सन् १८४८–४९मा भएको हैजाको महामारीले हजारौँको ज्यान लियो, जसको कारण ब्रिटेनमा जनस्वास्थ्यको ऐन आयो।
त्यस समयको स्वास्थ्य प्रणालीले बिरामी भएपछि बल्ल स्वास्थ्यमा ध्यान दिन्थ्यो भने स्नोको अनुसन्धान पछि रोकथामका कार्यहरुमा ध्यान केन्द्रित हुन थालेको थियो। यस रोगको रोकथाममा शुद्ध पानीको पहुँच, उचित फोहोर व्यवस्थापन तथा सरसफाइका अभ्यासहरुले टेवा दियो।
विभिन्न समय र राष्ट््रमा भएको हैजाले, राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रिय साथ–सहयोगको महत्व पनि उजागर भयो। युरोपमा हैजा दोहोरि रहेकोले एक देशबाट अर्को देशमा हैजाको महामारी फैलिन नदिनको लागि के के गर्न सकिन्छ भनेर छलफल गर्ने माध्यम बनेको अन्तर्राष्ट्रिय सेनेटरी सम्मेलन (१९५१)ले स्वास्थ्यसम्बन्ध्री समस्याहरुलाई राष्ट््रहरुले कसरी समाधान गर्न सकिन्छ भन्ने प्रणालीको सुरुवात गर्यो। फलस्वरुप, विश्व स्वास्थ्य संगठन जस्ता अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाको स्थापना भयो।
हैजाको कारणले माइक्रोबायोलोजी (सूक्ष्म जीवविज्ञान)मा प्रगति भयो। रोबर्ट कोचले सन् १८८४मा यसको कारक ब्याक्टेरिया (भिभ्रियो कोलेरा) पत्ता लगाउनु भयो। यो खोजले लुईस् पास्चरले प्रतिपादन गर्नु भएको रोगको किटाणु सिद्धान्त (खुल्ला आँखाले देख्न नसकिने जीवाणु जस्तै ब्याक्टेरिया, भाइरस, फंगस हाम्रो शरीरमा प्रवेश गरेर रोग लाग्ने कारण बन्छन्।)लाई थप उर्जा दियो र त्यसका साथै रोगको रोकथाम तथा उपचारमा नँया आयाम ल्याउन सफल भयो।
त्यसैगरी, हैजाको कारणले स्वास्थ्य र जीवनको गुणस्तर बीचको अन्तरक्रियाले चर्चा पाएको थियो। र यसका साथै बढ्दो सहरी जीवनलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा नि मुख्य रह्यो। राष्ट््रहरुले पनि बढ्दो जनसंख्या, घरायसी अवस्था, सरसफाईलाई सम्बोधन गर्न स्वास्थ्य सम्बन्धि नीति तथा सहरी विकास योजनामा लागु गर्न लागे।
मुख्य कुरा भनेको त आम सर्वसाधारणलाई हैजा भनेको के हो भन्ने बारेमा विस्तृत जानकारी हुनु महत्वपूर्ण हो। यसले गर्दा आधुनिक स्वास्थ्य शिक्षाको आधार तयार भयो। सरकारी स्तरबाटै स्वास्थ्य क्षेत्रमा संलग्न हुँदा गरिरहेका गतिविधिले दिगोपन पाउने सम्भावना हुन्छ। जनस्वास्थ्यका विभाग तथा सम्बन्धित कार्यलयको स्थापनाले रोग फैलिन नदिन गरिएका गतिविधि देखि त्यसको उचित निगरानी र अनुगमनलाई थप साथ र सहयोग दियो। हैजाले केवल हाम्रो व्यवहारलाई मात्र होइन, समाजको असमानता र विकासको कमीलाई पनि सतहमा ल्यायो। भन्ने नै हो भने, यस रोगले इपिडिमियोलोजी, सरसफाइ र रोगको रोकथाम गरेर स्वस्थ्य रहने विधिमा नँया आयाम दिँदै जनस्वास्थ्यलाई हालको अवस्थामा ल्याउन ठूलो भुमिका खेलेको छ।
हरेक घटनाबाट पाठ सिक्नु पर्दछ। हैजाले हामीलाई आधुनिक जनस्वास्थ्यका संकटहरु बुझ्न र उचित व्यवस्थापन गर्नको लागि अनुपम ज्ञान दिएको छ। रोगको निगरानी, अनुसन्धानमूलक खोज र सही आपतकालिन अवस्थालाई सम्बोधन गर्न स्पष्ट रुपले जानकारी दिन आवश्यक हुन्छ। यसले गर्दा, विश्वसनीयताको वातावरण सिर्जना भएर आवश्यक समन्वयमा सहज हुन्छ।
उदाहरणको लागि कोभिड१९ लाई हेर्न सक्छौँ। जोन स्नोले नक्साको प्रयोग गरेर दूषित पानीलाई रोगको स्रोतका रुपमा पत्ता लगाएका थिए, जसले गर्दा सही ठाँउमा उपचार पुर्याउन मद्धत गर्यो। कोभिडको कुरा गर्ने हो भने, डिजिटल उपकरणहरुको प्रयोगले रोगहरुको पहिचान, तंथ्याक संकलन र जानकारी प्रसारण गर्न सहज भएको थियो। दुवै महामारीलाई गलत जानकारी र भ्रमले गर्दा रोकथाममा चुनौति भएको थियो। यी दुवै रोगले, व्यक्तिगत सरसफाइलाई अर्थपूर्ण उपायका रुपमा लिएको थियो।
हैजाको प्रकोपको कारणले नै सरसफाइ र शुद्ध पिउने पानी, समुदायको संलग्नता, जनचेतना, खोप तथा रोगीको निगरानीले प्राथमिकता पाएको हो। हाम्रो स्वास्थ्य प्रणाली वैज्ञानिक तथा व्यवहारिक बन्नुमा हैजाको महत्वपूर्ण भुमिका छ। सयौँ वर्षपछि पनि, हैजाले हामीलाई रोगलाई रोकथाम गर्नुको महत्व र जनस्वास्थ्यलाई सुदृद्ध गर्न दिशा निर्देशन गरिरहेको छ। चाहे कोभिड होस् या कुनै नँया रोगहरु, हैजाबाट सिकेका पाठहरु अझै पनि उत्तिकै सान्दर्भिक छ।
(भूसाल जनस्वास्थ्य स्नातकोत्तरकी विद्यार्थी हुन्।)