काठमाडौं - नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल)ले ९ वर्षमा १ सय ६१ जनाको बोनम्यारो प्रत्यारोपण गरेको छ।
अस्पतालले आज एक कार्यक्रम गरी २०७३ सालयता १ सय ६१ जनाको बोनम्यारो प्रत्यारोपण गरेको अस्पतालका निवर्तमान निर्देशक डा विधाननिधि पौडेलले आफ्नो कार्यलयबाट बिदाइ लिँदै गर्दा उक्त जानकारी दिएका हुन्।
बोनम्यारो प्रत्यारोपण सुरु गर्न अस्पतालले अमेरिकाको युनिभर्सिटी अफ इलिनोइ सिकागोमा तालिम लिन टोली नै पठाएको थियो।
बोनम्यारो नली हाडभित्र हुने मासी हो। बोनम्यारोले शरीरमा रातो र सेतो रक्तकोष बनाउँछ। रातो रक्तकोषले हेमोग्लोबिन र श्वासप्रश्वासमा मद्दत गर्छ भने सेतो रक्तकोषले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
बोनम्यारो प्रत्यारोपणलाई संसारमा नै जटिल र महंगो प्रत्यारोपण मानिन्छ। सिभिल अस्पतालले १० देखि १५ लाखसम्ममा प्रत्यारोपण गर्ने गरेको छ। सिभिल अस्पताल बोनम्यारो प्रत्यारोपण हुने नेपालको एकमात्र अस्पताल हो।