जलबिन्दु परिचय
जलबिन्दु आँखाको दृष्टि नशालाई दीर्घकालीन असर गर्ने समस्या हो। जसलाई दृष्टि चोर रोगका नामले पनि चिनिन्छ । यसलाई अंग्रेजीमा क्रोनिक अप्टिक न्युरोप्याथी भन्ने गरिन्छ।
आँखामा बढ्ने प्रेसरले दृष्टि नशालाई असर गर्छ। जसकारण त्यहाँको तन्तुहरु बढ्दै जाने गर्छ। जसले बिस्तारै दृष्टि नशा सुक्ने तथा दृष्टि क्षमता घट्दै जाने हुन्छ। त्यसकारण यसलाई अंग्रेजीमा साइलेन्ट किलर अफ भिजन पनि भन्ने गरिन्छ। सुरुवाती समयमा लक्षण बिना नै असर गर्ने भएकोले पनि यसलाई साइलेन्ट किलर अफ भिजन भनिएको हो। आँखाको दृष्टि क्षमतालाई धेरै घटाइसकेपछि मात्रै बिरामीलाई यस समस्या बारेमा थाहा हुने गर्छ।
दृष्टि क्षमतामा धेरै असर पुगेको अवस्थामा फर्काउन निकै कठिन हुन्छ। धेरै जस्तो जलबिन्दुमा आँखाको प्रेसर बढ्ने भएपनि केही जलबिन्दुमा आँखाको प्रेसर नबढ्ने पनि हुन्छ।
जलबिन्दुका लक्षणहरु
सुरुवाती अवस्थामा जलबिन्दुका लक्षणबारे बिरामीलाई थाहा हुँदैन। यद्यपि जलबिन्दुका केही लक्षणहरु निम्नानुसार छन्।
– मन्द गतिले आँखा र टाउको दुख्ने ।
– कतिपय जलबिन्दुमा वाकवाकी हुने, तथा आकस्मिक रुपमा टाउको दुख्नु ।
– दृष्टि धमिलो हुँदै जानु ।
– बत्तीमा हेर्दा इन्द्रेणी रंग देख्नु ।
– सवारी चलाउँदा नदेखेर ठोक्किनु।
जलबिन्दु हुन सक्ने अवस्था
जन्मजात रुपमा जलबिन्दुको समस्या एकदमै कमलाई हुने गर्छ । करिब १० हजार जनामध्ये एकलाई जलबिन्दुको समस्या आउन सक्छ । यदि परिवारमा कसैलाई जलबिन्दु भएको छ भने जलबिन्दु हुने सम्भावना बढी हुन्छ।
४० वर्ष उमेर पार भइसकेपछि धेरैलाई जलबिन्दु हुने सम्भावना बढ्छ । त्यस्तै मधुमेह तथा उच्च रक्तचापको समस्या भएकाहरुलाई जलबिन्दु हुने सम्भावना बढी हुन्छ।
स्टोराइड अर्थात् कडा खालका औषधि चलाएका कतिपयमा औषधिको असरले जलबिन्दुको समस्या हुनसक्छ। यदि आँखामा लागेको चोटपटकको समयमा नै उपचार हुन नसकेमा पनि जलबिन्दुको समस्या आउन सक्छ।
नेपालमा जलबिन्दुको अवस्था
सर्वेक्षण अनुसार नेपालमा १ प्रतिशत भन्दा बढीलाई जलबिन्दुको समस्या रहेको छ । विश्वको सन्दर्भमा भने ३ देखी ५ प्रतिशतलाई जलबिन्दुको समस्या रहेको अध्ययनले पत्ता लगाएको छ।
नेपालमा धेरैलाई सुरुवाती अवस्थामा जलबिन्दुको समस्याबारे थाहा हुँदैंन । उपचारका लागि आइपुग्दा सम्म आँखामा क्षति पुगिसकेको हुन्छ । नेपालमा हुने अन्धोपनाको दोस्रो कारणमा जलबिन्दु पर्छ।
उपचार
जलबिन्दुको उपचारका क्रममा गरिने विभिन्न परीक्षण मध्ये पहिलो आँखाको प्रेसर परीक्षण गरिन्छ । त्यस्तै ओसिटी परीक्षण पनि महत्वपुर्ण हुन्छ । समयमा नै उपचार गरी आँखाको प्रेसर बढ्न नदिएको अवस्थामा उपचारमा खासै समस्या हुँदैन।
उपचारका लागि बिरामी आइपुगेको अवस्था निको हुने अवस्था निर्भर रहन्छ । कुनै जलबिन्दुमा आँखाको प्रेसर घटाउनका लागि औषधि सेवन गर्नुपर्ने हुनसक्छ।
जलबिन्दुको प्रकारमा यसको निको हुने अवस्था निर्भर रहन्छ । कतियमा सामान्य औषधि उपचारले निको हुन्छ भने कतिपय प्रकारका जलबिन्दुको उपचारका लागि शल्यक्रिया समेत आवश्यक पर्न सक्छ । यद्यपि यसको उपचार आँखाको प्रेसरको मात्रा कतिले बढेको छ भन्नेमा निर्भर रहन्छ।
जलबिन्दुबाट कसरी जोगिने ?
– रक्तचाप बढ्न नदिने ।
– मधुमेह हुनबाट जोगिने ।
– जलबिन्दुको कुनै लक्षण देखिएमा चिकित्सकको सल्लाह लिने ।
– आँखाामा चोटपटक लागेका बिरामीले नियमित आँखा परीक्षण गराउने ।
– वर्षमा एक पटक जोसुकैले आँखा परीक्षण गराउने ।
(डा भट्टराई त्रिवि शिक्षण अस्पताल आँखा विभागमा कार्यरत छन्।)