म काम गर्ने कविलास स्वास्थ्य चौकी,भरतपुर २९ मा पर्छ। भरतपुर २९ अन्य २८ वटा वडा भन्दा भौगोलिक रुपमा विकट पहाडी क्षेत्र हो, सीमान्तकृत चेपाङ, गुरुङ, भुजेल, तामाङलगायत जातिको मुख्य बसोवास छ। म यस वडामा आएको करिब दुई वर्ष पुग्न लाग्यो । यही क्रममा क्षयरोगको क्षेत्रमा काम गर्दा मेरो मन छुने दुईवटा सत्य घटना र क्षयरोग अन्त्यका लागि गरियका क्रियाकलाप चर्चा गर्न चाहान्छु।
खुशीको पल
एकजना ५१ वर्षको चेपाङ दाइको श्रीमतीले छोडेर गइन्, छोरीहरु बिहे गरेर गएपछि उनी एक्लै भए। उनी गाउँकै एकजना गुरुङ दाइको घरमा शरण लियर बस्न थालेछन्, उनी बस्ने गाउँ पुग्न हाइवेबाट ४५ मिनेट पूरै उकालो बाटो छ। एकपटक उनी बिरामी परेर उनी बस्ने घरकाले भरतपुर अस्पतालमा सक्दो उपचार गरे। डाक्टरले क्षयरोग शंका गेर जाँच गर्न पठाउनुभयो। हाम्रै स्वास्थ्य चौकीबाट सहयोही संस्था जेएएनटीआरए मार्फत् कुरियर गरेर नमुना जाँच गर्न पठाइयो तर नतिजा नेगेटिभ आयो। त्यसपछि उनी ढुक्क भएर घरमै बस। बिस्तारै-बिस्तारै रोगले च्याप्दै गयो।
जब स्वास्थ्य चौकीबाट टोल स्तरमै क्षयरोगको सक्रिय खोजपड्ताल कार्यक्रम सञ्चालन भयो, सो क्रममा हामी उनको घरमा पुग्यौं। उनको तौल जम्मा ३२ किलो थियो , उनी आंगनको डिलसम्म आउन पनि लौरोको सहारा लिइरहेका थिए। उनकै भाषामा भन्नुपर्दा उनी अरुकै घरमा आफ्नो मृत्यु कुरिरहेका थिए। हामीले उनीसहित ९ जनाको नमूना संकलन गर्यौं। नतिजा उनीसहित ३ जनाको पोजेटिभ आयो । भोलिपल्ट म पीएमटीसीटी किट, तौल जोख्ने मेसिन, आवश्यक औषधी बोकेर उनको घरमा पुगें। सीबी-डट्समा राखेर औसधी सुरु गरें, दुई महिनापछि फलोअप जाँचको लागि उनी आफैं लिलाचोक एनएटीएसम्म पुगे।
मलाई भेट्नासाथ मलिन अनुहार बनाएर उनले भने, ' तपाईं नभएको भय म अहिलेसम्म मरिसक्थें।' उनका शब्दले मलाई भावुक अनि थप जिम्मेवार बनायो। त्यो पल मेरो लागी अमुल्य थियो,अतुलनीय थियो।अहिले उनको उपचार पूरा भयको छ। उनी स्वस्थ छन्। तौल ३८ किलो पुगेको छ।
गरिबी र क्षयरोगको मित्रता
२०८१ भदौ २० गते बर्ष ४५ कि माया चेपाङ (नाम परिवर्तन) ज्वरोले सिकिस्त भएर स्वास्थ्यचौकी आए। उनी साढे दुई घन्टा पैदल हिँडेर स्वास्थ्य चौकी आएका थिए। उनी आउँदा ज्वरो १०१ फरेन्हाइट र ब्लडप्रेसर ९०/६० थियो, सँगै खोकी पनि। मैले स्लाइनसँगै तत्काल आवस्यक औषधी दिएर खकारको नमूना तत्काल संकलन गरि घर पठाएँ। उनीसँग फोन थिएन। छोराको नम्बर उनलाई थाहा थिएन, मैले मेरो नम्बर दियर छोरालाई फोन गर्नलगाउनू भनें। भोलिपल्ट नमुना ल्याबमा पठाउँदा नतिजा पोजेटिभ आयो तर उनीसँग तत्काल सम्पर्क हुन् सकेन। अनेक प्रयासपछि २५ गते उनलाई दर्ता गरी उपचारमा ल्याउन सफल भइयो।
उनको छोरा र श्रीमानको पनि नमुना संकलन गर्न बोलाइयो। र श्रीमान मोतिबिन्दुको कारण आँखा राम्रोसँग देख्न नसक्ने रहेछन्। तैपनि आए। उनको श्रीमानको नतिजा पनि पोजेटिभ आयो। उनीहरुको तौल क्रमस: ३३ र ३४ थियो। छोराले ज्यामी काम गरेर गुजारा चलाउनेरहेछन्। अभावलाई थोरै भएपनि सजिलो होस् भनेर सहयोगी संस्था जेएएनटीआरएको फिल्ड कर्मचारीको समन्वयमा सहयोग जुटाई करिब ९००० रुपैयाँको खाद्यान्न दियौं।
मायाको उपचार अहिले पूरा भएको छ भने उनको श्रीमानको उपचार अन्तिम चरणमा पुगेको । उनीहरुको तौल क्रमस: ४१ र ४० पुगेको छ।
गत कार्तिकको अन्तिममा स्वास्थ्य चौकीमा संचालन शिविरमा मायाको एक्सरे गरी क्षयरोग निदान भयो, उनी पनि उपचारमा छन्। उनको तौल पनि ३४ किलो मात्र छ । उनीहरुको उपचार सकिएपछि मायाको श्रीमानको निशुल्क मोतीबिन्दुको शल्यक्रिया गराइदिन समन्वय पनि भएको छ।
क्षयरोगले गरिबिसँग कसरी मित्रता गाँसेको छ र समय समयमा देशमा परिवर्तनसँगै जीवन बदल्ने एउटा परिवारको सपनालाइ कसरी छियाछिया बनाइदिन्छ, यो एउटा काल्पनिक कथाझैँ लाग्ने हाम्रै भरतपुर २९ को एउटा परिवारको सत्यता हो।
स्वास्थ्य चौकीबाट गरिएका क्रियाकलाप
२०८०/८१ मा जनताको स्वास्थ्यसँग मेयर कार्यक्रम सञ्चालनका क्रममा जब म समुदाय स्तरमै पुगें,अधिकांसको बिएमआई कम देखिन्थ्यो। यसले पोषणको अवस्था इंगित गर्थ्यो। दुर्गम भूगोलको कारण टोलटोल् सम्मै क्षयरोगको सक्रिय खोज पड्ताल कार्यक्रम चलायौं। ७ जना बिरामी पत्ता लगाउन सफल भयौं। महानगर स्तरीय सोही प्रकारको कार्यक्रममा थप २ गरि सो आर्थिक वर्षमा २३ जना बिरामी दर्ता भए। जसमध्ये ३ जनाको मृत्यु हाम्रो लागि चुनौतिको विषय रह्यो।
चालु आर्थिक वर्षको सुरु देखि नै आक्रामक रुपमा क्षयरोग बिरुद्ध अभियान चलायौं, अभियानमा महिला स्वयंसेविका, बिद्यार्थी, आमा समूह, युवा क्लब लगाया समुदायको भरपुर सहयोग प्राप्त गर्यौं।
जम्मा वार्षिक १४ जना लक्ष्य भएको यस संस्थामा आजका मितिसम्म ३८ जना दर्ता भइसकेका छन्। जसमध्ये ३ जनामात्र अस्पतालबाट निदान भएको हो। ३५ जना एक्सरे शिविर, ओपीडी र समुदाय स्तरबाटै नमुना संकलन गरी निदान गरिएको हो। मृत्युदर चुनौतीपूर्ण भएपनि आजसम्म सबै नियमित उपचारमा रही स्वास्थ्य लाभ गरिरहेका छन्।
अन्त्यमा
चुनौतीपूर्ण विकट भूगोल भएपनि क्षयरोगले गालेर मुजा परेका निर्दोष अनुहारमा खुशी छर्न सकुँ। ती निर्दोष मनहरुले उपचारको अन्त्यमा दिने धन्यबादका शब्दहरु नै मेरा लागी ऊर्जाका स्रोतहरु हुन्।
(भुजेल कविलास स्वास्थ्य चौकी,भरतपुर २९ चितवनका सि.अ.हे.व. हुन्।)