के हो ह्युमन प्यापिलोमा भाइरस?
क्यान्सर गराउने विभिन्न कारणहरुमध्ये ह्युमन प्यामिलोमा भाइरस एक हो। यस भाइसले विशेषगरी यौन अंगसँग सम्बन्धित क्यान्सर गराउने गर्छ।
भाइरसको संक्रमण लामो समयसम्म बस्दा यसले शरीरका कोषहरुसँग अन्तरक्रिया गर्छ । यस्तो अवस्थामा भाइरसको कोष र मान्छेको कोष मिसिन गई हाम्रो शरीरमा रहेको सामान्य प्रतिरक्षा प्रणालीमा गडबडी ल्याउँछ। त्यसले क्यान्सर गराउन सक्छ।
ह्युमन प्यामिलोमा भाइरसले क्यान्सर मात्रै नभइ अन्य रोगहरु पनि गराउन सक्छ । ह्युमन प्यामिलोमा भाइरसका विभिन्न प्रजातीमध्ये १६,१८ नम्बरका प्रजातीे पाठेघरको क्यान्सर गराउने मुख्य कारक तत्व हुन्।
यो पुरुषमा पनि हुन सक्छ, यो भाइरस पुरुषको यौन अंगमार्फत् महिलासम्म आइपुग्छ। महिलाको यौन अंगमा उक्त भाइरस बस्ने अनुकुल वातावरण बढी हुने भएकोले यो क्यान्सर बढी महिलाहरुलाई हुने गर्छ।
४० प्रतिशत महिलाहरुमा ह्युमन प्यामिलोमा भाइरस
विभिन्न समयमा गरिएको नमुना सर्वेक्षण अनुसार नेपालमा करिब ४० प्रतिशत महिलाहरुमा ह्युमन प्यामिलोमा भाइरस देखिएको छ । उक्त भाइरस भएका महिलाहरुमा क्यान्सर हुने सम्भावना बढ्छ।
यसमा कुन प्रजातीको भाइरस देखिएको भन्ने पनि महत्वपूर्ण छ । एचपीभी डिएनए परीक्षणका माध्यमबाट कुन प्रजातीको भाइरस हो भन्ने यकिन गर्न सकिन्छ।
ह्युमन प्यामिलोमा भाइरसको संक्रमण हुन नदिनका लागि सुरक्षित यौन सम्पर्क गर्नुपर्ने हुन्छ। एक भन्दा बढी व्यक्तिको असुरक्षित यौन सम्पर्कले धेरै प्रकारका यौनजन्य रोगहरु लाग्न सक्छन्।
वार्षिक २– ३ हजारमा पाठेघरको मुखको क्यान्सर
ह्युमन प्यापिलोमा भाइरसका कारण मृत्यु हुनु अगावै धेरैको उपचार भइसकेको हुन्छ। क्यान्सर भएकामध्ये १० गुणा बढीको अगाडि नै उपचार भइसकेको हुन्छ।
क्यान्सर हुनु अगाडि नै विभिन्न प्रकारका सर्जरीले बिरामी निको भइसकेका हुन्छन्। कतिपय कुराहरु क्यान्सरका रुपमा बाहिर नआउँदै निको भइसकेका हुन्छन्।
विगतको तुलनामा पाठेघरको मुखको क्यान्सर कम भने हुँदै गएको छ। अस्पतालमा उपचारका लाािग आउने बिरामीको तथ्यांकका आधारमा अझैपनि वार्षिक २–३ हजारमा पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइएको छ।
क्यान्सर स्क्रिनिंग तथा विभिन्न सचेतनामुलक कार्यक्रमले पछिल्लो समय यो क्यान्सर कम हुँदै गएको छ । सुरुवातकै चरणमा क्यान्सर पत्ता लाग्ने क्रम पनि बढ्दै गएको छ, जसले निको हुने दर बढाउँदै गएको छ।
पाठेघरको मुखको क्यान्सरका लक्षणहरु
–गन्हाउने पानी बग्ने ।
–यौन सम्पर्कपछि रगत बग्ने ।
–कम्मर दुख्ने ।
–पिसाब तथा दिसामा समस्या आउने ।
कतिपय अवस्थामा लक्षणबिना नै रोग फैलिसकेको पनि हुनसक्छ । त्यसकारण समयसमयमा परीक्षण गर्नुपर्ने हुन्छ ।
कसरी जोगिने ?
पाठेघरको क्यान्सर हुन नदिनका लागि प्राथमिक रोकथाम पूर्व –प्राथमिक रोकथाममा ध्यान दिनुपर्ने हुन्छ।
एचपीभी खोप पूर्वप्राथमिक रोकथाममा पर्छ। एचपिभी खोप नलगाएका महिलाहरुले प्यापस्मीर परीक्षण तथा स्क्रिनिङ गर्न सक्छन्।
त्यसका साथै यौन जीवनको सुरुवात गरिसकेका महिलाहरुले प्रत्येक वर्ष यौन अंगहरुको परीक्षण गराउनुपर्ने हुन्छ। जसले क्यान्सरका साथै अन्य रोगहरु समेत पत्ता लगाउन सजिलो हुन्छ। यसका साथै रोगबाट जोगिनका लागि सक्रिय जीवनशैलीले पनि महत्वपूर्ण भुमिका खेल्ने गर्छ।
(डा चालिसे भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन्)