डाक्टरहरू भगवान होइनन्
हुन पनि चाहन्नन,
कसैका रैति पनि होइनन्
हुन पनि चाहन्नन्।
डाक्टर बन्ने प्रसव यात्रामा
रातहरूमा अग्राख पलायो
कैयन अनेकन रात्रीहरू
मनमा राग बलेर बिते
चिराग बालेर खडा भए।
नजिस्काउनुस् मलाई
चोट बल्झिन्छ मनमा
चोटकै डाक्टर हुँ त म
शरीरमा धेरै खोट चोट छ
यि सबैलाई,
किशोर वयमै किताबको
पानाले टाल्ने गरेको छु
युवामनमा पलाउने वयहरू
समयका लयसँगै हराएको छु।
कसैले घोच्न पर्दैन मलाई
नघोचिने खोप लाइसकेको छु
बलेको चूरोटको ठुटोले
ठोस्न नखोजे हुन्छ
केहीले छुन्न आजकल।
बिरामीलाई उपचार गर्छु म
दबाब, रवाफ र प्रभावमा होइन
विवेक वेचेर काम गर्दिन म
अरूको कलमले औषधी लेख्दिनँ
अरुको इसाराले म ब्लेड चाल्दिनँ।
कोही मलाई अभिमानी भन्छन्
म मलाई स्वाभिमानी भन्छु
ईमान र इमानदारिता गुमाएर
कसैको निकट हुनु छैन मलाई
बरू भिडबाट विकट नै ठिक छ
एक्काइसौं शताब्दीको म डाक्टर।
(डा पौडेल भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन्)