सेतो कोट
एक बस्त्र मात्र होइन,
यो त क्रान्तिको कवच हो
सास रोकिँदै गएको भिडभित्र,
म मृत्युलाई चुनौती दिन्छु।
न रातको अँध्यारो डराउँछ,
न घामको ताप थकाउँछ,
म त संघर्षको सिपाही हुँ —
रगत, आँसु र पीडाबीच
जीवनको वरण गर्छु।
धेरै चोटि भत्किन्छु भित्रभित्रै,
तर हरपल वसन्तजस्तै फक्रन्छु,
जहाँ पीडा फुल्छ,
त्यहाँ आशाको बीज रोप्छु,
जहाँ निःशब्द करुणा हुन्छ,
त्यहाँ नवीन उज्यालो ल्याउँछु।
सेतो कोट,
जुन रगत र पसिनाले फुलेको थियो,
आज बञ्चरो बनेर
आफ्नै सपनाको बिरूद्ध झुकेको छ।
जसले
जीवन बचाउने शपथ लिएको थियो,
उही हातले
आज आफ्नो भविष्य कफन बनाइरहेछ।
दिन र रातका सीमाना मेटाइ,
हामीले बचाउछौँ कयौं सासहरू,
तर आफ्नै छातिमा– सुरक्षा होइन,
अधिकारको गोली र अपमानका काँडाहरू झर्ने गरेका छन्।
सरकारका चिल्लो गेटहरूमा,
काँचुली फेर्ने सर्पहरू सल्बलाइरहेछन्,
जसलाई न देशको पीडा सुनिन्छ,
न सपनाको चीत्कार !
डाक्टर?
तिनीहरूका लागि
केवल एक साधन,
एक प्रयोगशाला भित्र बन्दी सपनाहरू।
हजारौं थरि उज्यालाहरू
अझै शून्यतामा पलायन भइरहेछन्,
विदेशी भुइँमा बलिरहेको न्यानोपन खोज्दै,
र माटो ?
टुटेका कसमहरूजस्तै चिसो र सुनसान।
तर ऐ स्वार्थका पुतलाहरू,
सुन !
यो मौनता, यो सहनशीलता
अब सकिएको छ,
यो अन्यायको बिरुद्ध,
अब सेतो कोट स्वयं आगो बन्नेछ!
हामी बाँच्न होइन
बलिदान दिन जन्मिएका हौं,
हामी भत्किन होइन
नयाँ इतिहास रच्न आएका हौं !
हामी
सेतो कोटका योद्धाहरू,
जसले
आँसुको नदीमा पनि साँचो साहसको पुल बनाउँछौं!
सेतो कोट
अब चुप रहने छैन,
यो कोट अब प्रश्नहरू सोध्नेछन्,
यो कोट अब विद्रोहको प्रतीक बन्नेछन् !
हामी डाक्टर हौं -
तर हामी
केवल घाउ टाँस्नेहरू होइनौं,
हामी घाउ दिने समाजलाई उपचार गर्न
विद्रोहको शल्यक्रिया गर्ने चिकित्सक हौं!
सेतो कोट अब तुषारो होइन,
सेतो कोट
अब आगो हो!
सेतो कोट
अब परिवर्तनको गर्जन हो !
(डा नवीन यादव नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन,बंगलादेशका अध्यक्ष हुन्।)