वास्तवमा अहिले वसन्त ऋतुको समय हो। जलवायु परिवर्तनको प्रभावले गर्दा अनाब्रिस्टि, अतिब्रिस्ट, ग्रिष्म ऋतुमा अति गर्मी र जाडोयाममा अति चिसो महसुस भैरहेको। मौसमको हिसाबले अहिले वसन्त ऋतु हो तर पनि गर्मी बढिरहेको हामीले महसुस गरेका छौं।
विस्तारै अब हामी ऋतु सन्धिमा प्रवेश गर्दैछौं। हामीले वसन्त ऋतुचर्या लाई छोडी ग्रिष्म ऋतु चर्यालाई पालना गर्नु पर्दछ। ग्रिष्म ऋतुको समयमा कफ दोष घट्दै जान्छ र वात दोषको संचय भैरहेको हुन्छ। तर पनि सुर्यको किरणले गर्दा शरीरको तापमान बढिरहेको हुन्छ। गर्मि सुरु भएपछि शरीर मात्र हैन, मन पनि गल्न थाल्छ। पसिना, थकाइ, शरीरमा पानीको कमी, छाला सुख्खा आदि समस्या। यी सबै गर्मीले ल्याउने झमेलाहरू हुन् तर चिन्ता नगर्नुहोस्, हाम्रो परम्परागत आयुर्वेदमा यस्ता समस्याको समाधान भरपूर छ। गर्मीमा पित्त दोष बढ्ने भएकाले त्यसलाई नियन्त्रणमा राख्न घरमै पाइने चिजहरूको प्रयोग गरेर सहजै राहत पाइन्छI
गर्मीले शरीरमा पार्ने असरहरूमा घाम चर्को लाग्छ, जसले गर्दा शरीरको ताप बढ्छ। पसिना बग्ने, पाचन गडबडी हुने, छाला सुकेको महसुस हुने, तिखी लागिरहने, आँखा पोल्ने, थकान हुने जस्ता समस्या देखिन्छन्। यस्तो अवस्थामा शरीरमा पानीको मात्रा सन्तुलनमा राख्नु र शरीरलाई चिसो बनाइराख्नु जरूरी हुन्छ। आयुर्वेदको नजरमा गर्मीको मौसम आयुर्वेद अनुसार एक वर्षलाई ६ ऋतुमा बाँडिन्छ। जेठ देखि असारसम्मको समयलाई ग्रीष्म ऋतु भनिन्छ। शरीरमा तातोपन हुन्छ। त्यसैले गमीलाई शान्त पार्ने उपाय अपनाउनु जरूरी हुन्छ।
पित्त दोष जसले शरीरमा पाचनदेखि लिएर ताप नियन्त्रणमा भूमिका खेल्छ। गमीमा पित्त बढ्छ। त्यसको असर पेट पोल्ने, छाला रुखो हुने, मुटु ढुकढुकी बढ्ने, निन्द्रा नलाग्ने, ग्यास्टिक समस्या आदि रूपमा देखिन्छ। यस्तोमा चिसो खानेकुरा, पानी प्रशस्त, र शीतल स्वभावको जीवनशैलीले पित्तलाई सन्तुलनमा ल्याउन सकिन्छ।
मीमा खानेकुरा के के खाने?
स्वादिलो तर सन्तुलित खाना नै उत्तम विकल्प हो, मसालेदार, तारेको, भुटेको, गरम मसला प्रयोग गरिएका, बेसार र मरिच धेरै भएको खाना, रक्सि, चिया, कफी आदि टाढा राखौं। यसको सट्टा ज्वानो पानी, सत्तु, मौसमी फल जस्तै तरबुजा, खरबुजा, अंगुर, काक्रो, नरिवलपानी, उखुको रस, कुभिन्डोको रस, स्ट्रबेरी, मोही, गहुँ, चामल, दूध, कुरिलो जस्ता खानेकुरा खानु राम्रो हुन्छ। घरको बगैंचाबाट पुदीना, सौंफ, जीरा, धनियाँ प्रयोग गरौ, यी सबै पित्त कम गर्न सहयोगी हुन्छन्। पिउने कुराहरू बेलको सरबत, नारिवल पानी, गुलाब जल, अमलाको रस, लस्सी - यी घरमै बनाउन सकिने शीतल पेय पदार्थ हुन, जसले शरीरलाई ठण्डा राख्छन्।
जीवनशैली र दैनिक दिनचर्या
बिहानै उठेर नुहाउने, सकेसम्म नीमको पात हालेर पाकेको ठण्डा पानीले नुहाउने। दिउँसो घाम चकी हुँदा बाहिर ननिस्कने, निस्कनै परे गम्छा, टोपी, छाता, तथा सेतो तथा हलुका रंगका कपडा अनिवार्य प्रयोग गर्ने। हल्का, पातलो र कपासको कपडा लगाउने। योग र प्राणायाम गरेर शरीर र मनलाई शान्त राख्ने। समयमै खाना खाने र दैनिक ७-८ घण्टा सुत्ने बानि बसाल्ने।
घरेलु औषधि र चलनचल्तीका उपाय
गुलाब जल आँखामा र अनुहारमा छर्कंदा चिसो अनुभव हुन्छ। चन्दनको लेप अनुहार वा शरीरकको विभिन्न भागमा लगाउनाले सितल अनुभव हुन्छ। बिहान खाली पेट अमलाको रस पिउदा शरीर शुद्ध हुन्छ र ताजगी दिन्छ। छालामा एलोभेराको जेल लगाउँदा पोल्ने कम हुन्छ र छाला नरम रहन्छ। त्रिफला चूर्ण राति सुत्नुअघि खाँदा पाचन ठिक राख्छ र गमी कम गर्छ।
योग, प्राणायाम र ध्यानको भूमिका
शीतली प्राणायाम जिब्रो गोल पारेर सास तान्ने यो विधिले शरीरमा चिसोपन ल्याउँछ। भ्रामरी प्राणायाम शान्त स्वर निकाल्दै गरिने यस अभ्यासले मानसिक तनाव घटाउँछ। चन्द्रभेदी प्राणायाम शरीरमा तातोपन कम गर्ने असरदार विधि हो। शवासन शरिरलाई पूर्ण विश्राम दिने आसन हो। आयुर्वेदमा दिवास्वप्नलाइ ग्रिष्म ऋतुमा बर्जित गरिएको छैन अर्थात् दिनमा पनि केहि समय सुत्न सकिन्छ। यसले शरीरको बललाइ कायम राख्न मदत गर्दछ। व्यक्तिको शक्ति उल्लेखीय रुप कम भएको हुनाले ब्यायाम आफ्नो शक्तिको आधा मात्रा गर्नु पर्दछ भन्ने उल्लेख पाइन्छ।
बच्चा, बुढाबुढी र बिरामीको हेरचाह
पर्याप्त मात्रामा पानी पिउनुहोस्। प्रत्यक व्यक्तिको शरीर फरक हुन्छ तथापी आफ्नो उमेर र आवस्यकता हेरेर कमसेकम ३-४ लिटर पानी पिउनुहोस्। पानी पिउन केही ब्यक्तिलाई गार्हो हुन्छ भने मिश्री, कागती, मह, आदि मिसाउन सकिन्छ। बच्चाहरुलाई घाममा जान नदिनुहोस्। हलुका, पातलो र शितल सुतीको कपडा लगाइदिनुहोस्। सुत्ने ठाउँ चिसो र सफा बनाउनुहोस्।
अन्त्यमा, गर्मी मौसम आफैं खराब होइन, यसबाट कसरी जोगिएर बाँच्ने भनेर बुझ्न आवश्यक छ। आयुर्वेदले प्रकृतिसँग मिलेर बाँच्न सिकाउँछ। गर्मी पनि सहज छ, यदि आयुर्वेदलाई बुझ्ने हो भने ! गर्मीले हामीलाई ताताउन सक्छ, तर आयुर्वेदको ज्ञान र नेपाली घरायसी उपायहरू प्रयोग गरेर हामी यसलाई हराउन सक्छौं ! यस लेखमा दिइएका खानेकुरा, जीवनशैली र जडिबुटीको संयोजनले तपाईं हामीलाई गर्मीमा पनि शितल, तरोताजा र स्वस्थ राख्नेछ। प्रकृति नै सबैभन्दा ठूलो चिकित्सक हो, हामीले केवल उसको बोली बुझ्नुपर्छ। आयुर्वेदलाई आत्मसात गरौं, शीतल र स्वस्थ जीवन बिताऔं।
-डा देवकोटा आयुर्वेद चिकित्सक हुन्।