यो कविता तिनी अभिभावकहरूका लागि समर्पित छ,
जो दीर्घरोग वा दुर्लभ रोगले ग्रसित आफ्ना बालबालिकाको
स्याहार–सुसारमा समर्पित रहँदा,
आफ्नै अस्तित्वलाई क्रमशः बिर्सिँदै गएका छन्।
उनीहरूको यो अदृश्य संघर्ष, मौन पीडा र निःस्वार्थ माया
सधैं सबैको नजरमा पर्दैन,
तर कसैले त हेरेको हुन्छ, कसैले त महसुस गरिरहेको हुन्छ।
आज म, उनीहरूका तिनै भोगाइहरूसँगै आफ्नै अनुभव मिलाएर
शब्दहरूको माध्यमबाट उजागर गर्ने प्रयास गर्दैछु।
म देख्छु-
तिमी आफ्नो बच्चाको उपचारका लागि
अस्पतालदेखि थेरापीसम्म दौडिइरहेका हुन्छौ,
जुन बेला तिम्रा साथीहरू आफ्ना छोराछोरीलाई
फुटबल, नृत्य, स्वीमिङ, सिनेमा, रेस्टुरेन्ट, पार्क घुमाउँदै रमाइरहेका हुन्छन्।
म देख्छु—
जब सबै जना आफ्नो सन्तानको उपलब्धि, प्रमाणपत्र र मेडल देखाउँदै
गर्वका गफ गर्दैछन्,
तिमी त्यहाँ चुपचाप बस्छौ,
बिस्तारै त्यो संवादबाट बाहिरिन थाल्छौ,
एक्लै, नबोली, भित्रै केही थाम्दै।
म देख्छु-
जब तिम्रा साथीहरू भोजभतेर र ठूला समारोहहरूमा रमाइरहेका छन्,
तिमी भने जूम मिटिङ र चिकित्सकहरूसँग सल्लाह गर्दै
बच्चाको उपचारका लागि केही नयाँ आशा खोज्दै हिडिरहेछौ।
म देख्छु-
जब तिम्रा साथीहरु नेटफ्लिक्स र मुभीहलमा परिवारसँग
क्वाकिटी टाइम बिताइरहेका हुन्छन ।
तिमी भने घण्टौँ कम्प्युटरको स्क्रिनमा टोलाईरहेका हुन्छौ,
"के यसपालि केही नयाँ उपचार पद्धति आयो कि?"
"के यो औषधिले केही फरक पार्छ त?"
भन्दै अनुसन्धानमै तल्लीन।
म देख्छु-
तिमी चाडपर्व, बिवाह, ब्रतबन्धजस्ता
समाजका सारा सामूहिक रितिरिवाजबाट टाढिँदै छौ,
तर तिमी समाजबाट हराइरहेको होइनौ,
तिमी त आफ्ना लागि होइन, परिवारका लागि अगाडि बढ्दैछौ।
म देख्छु-
तिमी आफ्ना कमजोरीहरूलाई शक्तिमा रूपान्तरण गर्दैछौ।
तन, मन, धन र आत्मबल जति छ,
सबै बच्चाको उपचारमा लगाइरहेका छौं।
म देख्छु-
तिमी ती शिक्षक, थेरापिस्ट, डाक्टरहरूलाई
मनैदेखि सम्मान गरिरहेछौ,
जसले तिमीलाई र तिम्रो बच्चालाई
हिम्मत दिन्छन्, हौसला दिन्छन्।
म देख्छु-
तिमी रातभरको अनिद्रा,
भोक र थकानलाई लुकाएर,
बिहानको चिया पनि नपिएर
सबै काम सम्हाल्दैछौ,
भान्सा, औषधि, अफिस, अनि फेरि घर…
हसिलो अनुहारमा लुकाइरहेका थकाइ।
जबकी तिम्रा साथीहरु क्ल्ब, डिस्को नाइट पार्टी
गर्दै रमाइलो दुनियाँमा मस्त भइ बिहानको १० बजे सम्म पनि बिउझिएका हुँदैन ।
म देख्छु-
जब अरू मानिसहरू तिमीलाई निरर्थक लाग्ने कुराहरूमा गुनासो गर्छन्
तिमी मौन हुन्छौ,
तिम्रो अनुहारमा त्यो हल्का मुस्कान देखिन्छ,
न हर्षको, न विषादको-
बस्, सहनशीलताको संकेत।
म देख्छु-
जब तिमी संसारको दुःख आफैंमा बोकेर
बिरामी बच्चाको पीडा कम गर्न लडिरहेछौ,
त्यही बेला तिम्रै आफन्तजन सहानुभूतिका दुई शब्द बोल्न पनि
कञ्जुस्याइरहेका छन्।
म देख्छु-
तिमीलाई जति बज्रपात आइलागे पनि
तिमी झुकेका छैनौ,
तिमी प्रत्येक समस्याको सामना गर्दैछौ,
एक्लै, चुपचाप।
म देख्छु-
घर, अफिस, अस्पताल, थेरापी,
जहाँसुकै तिमी आ-आफ्नो जिम्मेवारी पूरा गरिरहेछौ।
बच्चाको एक हाँसोका लागि तिमी आफैंलाई भुलिरहेछौ।
म देख्छु—
एक हातमा रिपोर्ट समातेर,
अर्को हातले औषधि खोल्दै
तिमी आफ्नो बालकलाई रोगसँग लड्न शिक्षा दिइरहेका छौ।
तिमी हास्न सिकाउँदैछौ,
जहाँ संसार आँसुमा हराइरहेछ।
म देख्छु—
तिमी कसैले नदेख्ने कुना खोजेर
एकान्तमा निशब्द आँसु बगाइरहेका छौ।
त्यो आँसु, जुन पीडाको मात्र होइन,
साहसको पनि कथा हो।
तिमीले रुँदा पनि आँसुलाई कमज़ोरी होइन,
शक्तिमा बदल्न सिकिसक्यौ।
म तिमीलाई भन्न चाहन्छु,
यो सबैको मूल्य छ।
तिमी एक्लो छैनौ।
म देख्छु-
तिमी मायालाई जिवनको सबैभन्दा ठुलो शक्ति मानेर
म देख्छु-
तिमी हरेक व्यक्तिप्रति सद्भाव, स्नेह र सम्मानका साथ व्यवहार गरिरहेछौ।
तर जब तिमी कुनै निम्तो मान्न सक्दैनौ,
कुनै कार्यक्रममा जान नपाउँदा,
तिम्रै आफ्नाले तिम्रो नजिक होइन,
पिठ्युँ पछाडि भनेका ती कठोर, तुच्छ र चिर्कोटपूर्ण शब्दहरू…
"ठूलो भएको हो", "अहंकार आएको हो", "पैसाको घमण्ड छ आदी …"
त्यो सब सुनिरह्यौ, सहिरह्यौ,
तर जवाफमा कुनै गुनासो गरेनौ।
तिमी ती आरोपहरूलाई शान्त आँसुमा भिजाएर,
फेरि आफ्नो बच्चाको उपचारमा समर्पित भयौ।
म देख्छु-
तिमी अद्वितीय छौ।
तिमी अनुपम छौ।
तिमी महान छौ-
तिम्रो परिवारका लागि, समाजका लागि।
म देख्छु-
तिमी समाज के भन्छ भन्दैनौ,
तिमी आफ्नो कर्तव्यप्रति अडिग छौ।
म देख्छु-
तिमी दुःख-सुख बाँडेर
संसारलाई एक मुट्ठी बनाएर
आफ्नो छातीभित्र थामिरहेछौ।
थकाइ, पीडा, अपमान र अस्वीकारको भारी काँधमा बोकेर पनि
तिमी दिनभर मुस्कानको न्यानो घाम झार्ने कोसिस गरिरहेछौ।
जहाँ आँसु लुकाइएको छ, त्यहीँ आशाको उज्यालो फुलाउने प्रयास गरिरहेछौ।
र म देख्छु-
तिमी त्यो मान्छे हौ जसको मुहारमा मुस्कान छ,
तर आँखा गहिरो कथा बोकेर बगिरहेको छ।
म देख्छु-
तिमी कहिले निराश भएका छौ,
तर कहिल्यै हार मान्न चाहेका छैनौ।
सकारात्मक सोच, सहयोगी मन, प्रेरणादायी दृष्टिकोण लिएर
तिमी सधैं अगाडि बढिरहेछौ।
म देख्छु-
तिमीलाई कुनै बिदा छैन-
दसैं, तिहार, शनिवार, सार्वजनिक विदा…
सबै दिन तिम्रो लागि जिम्मेवारीका दिन हुन्।
तिमी एक अभिभावक हौ जसको कर्तव्य कहिल्यै विश्राम लिँदैन।
म देख्छु-
जब चाडपर्वमा सबैको घर उज्यालो दीपले झिलिमिली हुन्छ,
त्यही बेला तिम्रो मनभित्र कताकता गहिरो अन्धकार मडारिएको हुन्छ।
तर त्यो अन्धकारलाई आफूभित्र थामेर,
तिमी आफ्ना प्रियजनको अनुहारमा उज्यालो छर्न प्रयत्नशील हुन्छौ।
तिमीले दीप जलाउँछौ,
तर त्यही उज्यालो तिम्रो भित्रैसम्म नछुने पीडा म महसुस गर्छु।
तिमी मुस्कान बाँड्छौ,
तर त्यो मुस्कानभित्र लुकेको चुपचाप रोइरहेको मन म देखीरहेको छु।
म देख्छु-
तिमी आफ्नो सपनालाई जलाएर
घरको उज्यालो बनाइरहेका छौ।
म देख्छु-
कहिले काँही तिमीलाई लाग्छ,
“मलाई त कसैले देख्दैन।”
तर म तिमीलाई देखिरहेछु।
म तिमीमा गर्व गर्छु।
म समय हुँ,
तिमी जे गर्दैछौ, म सबै देख्छु।
म देख्छु -
तिमी कहिल्यै हार मान्दैनौ,
हर परिस्थितिमा पनि अगाडि बढ्ने आँट राख्छौ।
जब तिमी थाकेर लथालिङ्ग हुन्छौ,
तब पनि तिमी बच्चाको एक मुस्कानका लागि आफूलाई सम्हाल्ने प्रयत्न गर्छौ।
म देख्छु
तिमी जीवनलाई पुनः परिभाषित गरिरहेका छौ।
जहाँ अरूलाई समस्या देखिन्छ,
त्यहीँ तिमी समाधान खोजिरहेका हुन्छौ।
म देख्छु
तिमी आफूलाई साना कुराहरुमा खुशी खोज्न सिकाउँदै छौ,
बच्चाको सानो प्रगतिको खुसीलाई उत्सव बनाउँदैछौ।
तिमी हरेक पल संर्घषको भित्र लुकेको माया देख्न सिकिसक्यौ।
तिमीले जीवनका सबै रङहरुलाई स्विकार गरिरहेका छौ
आशा, निराशा, दुःख, प्रेम, त्याग, सहनशीलता, अनि एक अडिग निष्ठा।
म देख्छु
कुनै पदक तिमीले जितेनौ,
कुनै मञ्चमा तिमीलाई सम्मान गरिएको छैन होला,
तर तिमी त्यो नायक हौ
जसको कथा हजारौं अभिभावकको शक्ति बन्न सक्छ।
म तिमीलाई सम्झाउन चाहन्छु
तिमी कमजोर होइनौ, तिमी शक्तिशाली छौ।
तिमी साधारण होइनौ, तिमी प्रेरणा हौ।
तिमी एक्लो छैनौ, म यहाँ छु, हामी यहाँ छौं
तिमी जस्ता असल अभिभावकहरूप्रति आदर र सम्मानका साथ।
म तिमीलाई भन्न चाहन्छु
जबसम्म संसारमा माया, सेवा र निःस्वार्थ त्याग बाँकी छ,
तिमी जस्ता मनहरू कहिल्यै हराउने छैनन्।
तिमी अमर छौ, तिमी अमिट छौ,
तिमी ‘म देख्छु’ भित्रको उज्यालो हौ।