यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत नर्स विधामा उत्कृष्ट नर्सको अवार्ड बैतडीको सिगास गाउँपालिकामा कार्यरत अनमी जानकी पुजाराले पाएकी छिन्।
जीवनको के हो ? यसको ठोस उत्तर छैन। अध्यात्मिक व्यक्तित्वहरुले दिने साझा उत्तर हुन्छ- सासको सुरुवातदेखि सासको अन्त्यबीचको ‘समय’ नै जीवन हो। जुनदिन सासप्रश्वास प्रक्रिया अबरुद्ध हुन्छ, त्यही दिन मृत्यु घोषणा गरिन्छ। त्यसैले सासको अर्थ प्राण हो। बैतडीको सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी जानकी पुजाराले आफ्नो सास दिएर एक नवजात शिशुको ‘प्राण भरेकी’ छिन्। ६ घन्टासम्म लगातार मुखले सास दिएर शिशु जोगाउने उनको साहसको सर्वत्र प्रशंसा भइरहेको छ।
त्यो एउटा घटनाले आम चर्चाकी पात्र बनेकी हुन्। त्यो संयोग नभइ उनको नियमित कर्मकै निरन्तरता थियो। गत वर्षमा वडा नं ४ को आधारभूत स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा मात्रै १९ जना सुत्केरी महिलाहरुले सेवा लिएका थिए। जसमध्ये जानकीले १३ जना महिलालाई घरमै गएर सुत्केरी गराएकी छन्। ‘राति बेथा लग्यो भनेर फोन आउँछ, स्वास्थ्य केन्द्रका कार्यालय सहयोगी सहयोग मागेर सामाग्री बोकेर घरमै जाने गरेकी छु,‘ उनले भनिन्।

बैतडीकै दुर्गम सिगास गाउँपालिका–४ की २० वर्षीया लक्ष्मी धामीको सुत्केरी पूर्वको सबै अवस्था सामान्य थियो। स्वास्थ्य केन्द्रमा सहजै सुत्केरी गराउन सकिने भएकाले लक्ष्मीलाई सुत्केरी गराउनका लागि अन्य स्वास्थ्य संस्था रिफर गरिएन।
साउन ८ गते सुत्केरी व्यथाको सुरुवात भएपछि स्वास्थ्य चौकीसम्म उनी आफ्नी सासुआमा र अन्य स्थानीयहरुसँग हिँडेरै आइपुगिन्। स्वास्थ्य संस्थामा आइपुग्दा लक्ष्मी लखतरान थिइन्। सोही थकानका कारण उनले बच्चा जन्माउने बेला बल पुर्याउन सकिनन्। बल पुर्याउन नसकेपछि राती ९:३० बजेको समयमा बच्चा निस्सासिएको अवस्थामा जन्मियो। उनको त्यो पहिलो सन्तान थियो।
त्यो दिन सम्झिन्छिन्, ‘सुत्केरी हुने समयमा बल पुर्याउन नसकेपछि शिशु निस्सासिएको अवस्थामा जन्मियो, बच्चा जन्मिँदा छाति हल्लिनुपर्ने, रुनुपर्ने जस्ता कुनै लक्षण देखाएन, मैले सालनाल काटें। शिशुलाई पुछें, कोल्टे फेराएँ, चलाउने प्रयास गरें, बच्चाले कुनै प्रतिक्रिया दिएन, अनि म निकै आत्तिएँ।’
शिशुको नाक तथा घाटीमा र्याल अड्किएको हुनाले पनि श्वास लिन असहज भइरहने हुने भएकाले नाक सफा गर्ने सामाग्रीहरु पनि नहुँदा निकै समस्या आइलागेको थियो।
सो स्वास्थ्य केन्द्रमा सास दिन मद्दत पुर्याउने एम्बुब्याग मात्रै थियो। त्यसले सास दिन प्रयास गर्दा मुखको साइज नमिलेर सास फोक्सोसम्म पुग्नै सकेको थिएन। अनमी पुजाराले भनिन् ‘शिशुलाई जसरी चलाउँदा पनि कुनै विपरितको लक्षण देखाएन, जता धकेल्यो उतै पल्टिदिने। इन्चार्ज सरले भन्नुभयो, ‘बच्चा गइसक्यो की सिस्टर!’ बच्चाले कुनै चालचुल नगरेपछि त्यस्तो भावना आउनु स्वभाविक थियो। उनले हिम्मत हारिनन्, निस्सासिएर बेहोस भएको शिशुलाई मुखबाटै सास दिन थालिन्।
उता प्रसुति कक्षमा कक्षमा प्रसवपछिको पिडामा रहेकी आमालाई हेर्दा साल झिक्न बाँकी नै थियो। सुत्केरी भएको १५ देखि ३० मिनेटभित्रमा साल झिकिसक्नु पर्ने हुन्छ। ‘साल निकाल्न जाँदा शिशु तलमाथि हुने डर, शिशुलाई मात्रै हेरुँ भने साल पनि निकाल्नै पर्ने, निकै आपत आइलाग्यो,’उनले भनिन्। स्वास्थ्य इन्चार्ज …… ले आफू एम्बुब्यागबाटै सास दिने कोशिसमा लागे। उनी हतार-हतार साल झिकेर फर्किइन् र फेरि सास थालिन्।
मुखबाटै लगातार ३० मिनेटसम्म उनले सास दिइन्। त्यति गर्दा पनि अपेक्षित नतिजा नआउँदा उनमा निराशा बढ्दै थियो। त्यत्तिकै शिशुको छातीमा नजर गयो। सास दिइरहेकै समयमा शिशुको छाति थोरै फुलेको देखिन्। त्यसपछि छोड्ने बितिक्कै घाँटीबाट पनि घ्यार-घ्यार आवाज आयो। तर ठोस प्रगति देखिएन। त्यसैक्रममा पालिकाको स्वास्थ्य शाखामा सोबारे जानकारी गराइयो। तत्कालै अस्पताल पुर्याउनुपर्ने अवस्था आएको सूचना दिइयो।
ग्रामिण सडकबाट ४ घण्टाको पैदल गरेर लक्ष्मीलाई सो स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो। रेफर गर्नको लागि पनि राति परिसकेको थियो। ग्रामिण सडक भएको ठाउँमा ४ घण्टाको पैदल गरेर त्यहाँबाट गाडीको व्यवस्था गर्नुपर्ने र गाडीबाट पनि ४ घण्टाको दूरीमा रहेको डडेल्धुरा अस्पताल लौजानु पर्ने अवस्था थियो।
स्थलमार्गबाट चाँडोमा ८ घण्टामा पुगिने अवस्था भएपनि हेलिकप्टरको माग गर्न खोजियो। नाइटभिजन हेलिकप्टरको समेत व्यवस्था हुन नसक्ने जानकारी पाइयो। त्यसपछि मुखबाटै सास दिनुको अर्को विकल्प नदेखेर लगातार उनले शिशुको मुखमा आफ्नो मुख जोडेर सास दिइरहिन्।
‘सास दिँदा-दिँदा निकै थकान लाग्थ्यो, मेरो छानी फुल्न थाल्थ्यो, तर लगातार दिइरहे, अर्को कक्षमा प्रसव पिडामा रहेकी आमा र उनकी सासु आमाको अनुहार निकै मलिन थियो, पर्दाछेउबाट चिहाउँदा उनीहरु निकै निरास देखिन्थे। मेरोपनि आँखाबाट आँसु नै आयो, रोक्न सकिनँ,’ पुजाराले भनिन्।
समय कसरी बितिरहेको छ, कति बज्यो भन्ने केही ख्याल राखिनन्। लगातार शिशुलाई हेर्दै उसले देखाइरहेका लक्षणहरु केन्द्रित मात्रै ध्यान थियो, छाति फुल्ने क्रम बढ्दै गयो।
‘बिहानको करिब ३ अथवा साढे ३ बजेको हुँदो हो, बच्चाले खुट्टा फुत्त चलायो,’ पुजाराले आफ्नो जीवनमा असीम खुशी दिएको त्यो क्षण अनुहारमा आभा भरेर सुनाइन्, ‘त्यसपछि शिशुको मुखबाट आफ्नो मुख छोडिदिएँ। शिशु चिच्याएर करायो, हातखुट्टा चलायो, छाति तलमाथि हुन थाल्यो। मैले आफूलाई रोक्न सकिनँ। आँखाबाट खुशीका आँशु आए।‘ आफ्नो पीडालाई तपसिलमा राखेर सन्तानको रुवाइ पर्खिरहेकी शिशुकी आमा र सासुआमातिर नियालिन्। उनीहरु सुँक्क-सुँक्क गरिरहेका थिए। अनुहार उज्यालो थियो। आँखामा आँसु र ओठमा मुस्कान मिसिएको क्षण साँच्चै अदभुत हुन्छ। त्यो उनले महशुस गरिन्।
त्यसपछि बच्चा चिच्याएर रुन थाल्थ्यो, त्यति नै त्यहाँ उपस्थितहरुको हर्षको सीमा बढ्दै गयो। अनमी पुजाराले आमाको काखीमा बच्चा सुम्पिइन्। ‘त्यसबखत ती आमालाई मैले नै मातृत्वको अधिकार सुम्पिएजस्तो लाग्यो,’ अनमी पुजाराले भनिन्। त्यसपछि एकपल्ट माहोल स्तब्ध भयो।
बच्चाको सास फर्काएकी पुजाराले भविष्यमा जोखिम हुन सक्ने भन्दै अस्पताल लैजान सल्लाह दिइन्। जानकीलाई सुत्केरी आमा र उनकी सासुआमाले भगवानको उपमा दिँदै दिए। उनीहरुको अड्डी थियो, ‘हिजो त्यस्तो अवस्थामा बचाउनुभयो, जस्तो ठूलो अस्पताल, ठुलो डाक्टर र भगवान नै तपाईं हो। अब कतै लग्दैनौं।‘
उनीहरुले बच्चालाई घर लिएर गए। अनमी जानकीलाई बच्चा बारे चिन्ता भइरहन्थ्यो। शिशु र आमाको अवस्था बुझ्न घरमै जाने गरेकी थिइन्। उनकाअनुसार आमा र शिशुको अवस्था अहिले सामान्य हुँदै गएको छ।
शिशु जोगाउन नसकिएको भए ….
अनमी पुजारा ६ वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत छिन्। २०७३ सालमा अनमी कोर्ष पूरा गरेकी पुजाराले ४ वर्ष एक निजी अस्पतालमा काम गरिन्। पुजारा करिब २ वर्षदेखि बैतडीको सिगास गाउँपालिका–४ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अनमीको रुपमा कार्यरत छिन्। ६ वर्षको स्वाथ्य क्षेत्रको कार्य अनुभवका क्रममा यही साउन ८ गते उनको सेवाजिवनकै अनौठो परीक्षा भयो। मृत्युको मुखमा पुगेको शिशुलाई जिवन दिएर उनि उक्त परीक्षामा उत्तीर्ण मात्र भइनन्, जिउदो भगवानको उपमा पाइन्।
अरुले उनले छरेको उज्यालो देखेका छन्। उनले यदि प्रयास सफल नहुँदा आफूमाथि लाग्ने दोषको समेत त्यसक्रममा हिसाब-किताब गरेकी थिइन्। उनले भनिन्, ‘यदl बच्चाको ज्यान तलमाथि भएको भए सबै दोष ममाथि आउँथ्यो र अहिले जसरी चारैतिरबाट प्रसंसा गरिहेका छन्, त्यसरी नै गाली खाइन्थ्यो। कहाँ-कहाँ कसकसको कठ्घरामा उभिनुपर्थ्यो सोच्नै सक्दिनँ,’ अनमी पुजारा भन्छिन्।
एक शिशुलाको जीवन बचाउन पाएकोमा उनले गर्व तर गरेकी छिन् तर अहिले प्राप्त प्रशंसाबाट फुर्किएकी छैनन्। उनलाई लाग्छ, ‘स्वास्थ्यकर्मीको कर्म नै मानिसहरुको दुखाइ-पीडा हरण गर्ने र ज्यान जोगाउन पहल गर्ने हो।‘
उक्त घटनापछि स्वास्थ्य मन्त्री प्रदीप कुमार पौडेलले प्रशंसा गर्दै तपाईं जस्तो कर्मचारी देशका लागि आवश्यक रहेको बताए। त्यसले आफूलाई पेशाप्रति थप कटिबद्ध भएर लाग्ने प्रेरणा मिलेको उनी बताउँछिन्। ‘आफूले गरेको काममा स्याबासी पाउँदा अझैपनि थप प्रभावकारी सेवा दिनुपनर्छ भन्ने मान्यता बोकेको छु,’ पुजाराले भनिन्।
ग्रामिण क्षेत्रमा रात-साँझ गरेर सेवा दिनुपर्ने बाध्यता रहेकाले सहज आवतजावत र स्रोतसाधनको परिपूर्ती हुन सके ग्रामिण क्षेत्रको स्वास्थ्य सेवा थप प्रभावकारी हुने उनको बुझाइ छ।