काठमाडौं - संसद भवनलाई केन्द्रमा राखेर भएको जेनजी आन्दोलनको पहिलो दिन राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा बद्री रिजाल शिक्षा तथा स्वास्थ्य समितिको बैठकका लागि सिंहदरबार पुगेका थिए। बैठक सुरु हुन नपाउँदै उनले जेनजी आन्दोलनका क्रममा धेरै घाइते भएको खबर पाए। उक्त खबर पश्चात् बैठक स्थगित भयो, डा रिजाल पनि त्यहाँबाट ट्रमा सेन्टरको आकस्मिक कक्षमा आइपुगे।
आकस्मिक कक्षमा घाइतेहरु ल्याउन थालिएको थियो। लगत्तै उनीसहितको टिम घाइतेको उपचारका लागि जुट्यो। यसअघि प्रदर्शन तथा आन्दोलन हुँदा हातगोडा भाँचिएका केशहरु बढी आउने गरेकोमा यसपटक भने एकदमै संवेदनशील केशहरु आएको उनले बताए।
‘घाइतेहरु रगत बगिरहेको तथा चोटले एकदमै चिच्याउँदै गरेको अवस्थामा ट्रमा सेन्टर आइपुगेका थिए। एकपटकमा नै १५,२० घाइते आउन थाले’, डा रिजालले भने- ‘घाइतेको प्रकृति गम्भीर भएकोले हामीले मेरो नेतृत्वमा नै कमान्ड गरेर उपचार प्रक्रिया सुरु गरेका थियौं। ओपिडीमा आएका बिरामीलाई फिर्ता पठाएर खाली गरेर उपचार अगाडि बढायौं।’
प्रदर्शन हुने जानकारी पाएसँगै अस्पतालले सम्भव भएसम्म आइसियू तथा आकस्मिक कक्ष खाली गरिरहेको डा रिजाल बताउँछन्। डा रिजालले थपे ‘हामी पूर्व तयारीमा नै थियौं। तर घाइतेको संख्या अपेक्षा गरे भन्दा बढी आएपछि ‘डिजास्टर स्टेट’ नै घोषणा गरेर उपचार अगाडि बढायौं।’
ओपिडीलाई खाली बनाएर त्यसलाई ‘ग्रीन जोन’ घोषणा गरेर उपचार थालनी गरिएको डा रिजाल बताउँछन्। ‘रेड र एल्लो’ जोन आकस्मिक कक्षमा नै घोषणा गरेर उपचार गरिएको थियो।
उपचारका लागि अस्पताल आउनु अगाडि नै ३ घाइतेहरुको मृत्यु भइसकेको डा रिजालले जानकारी दिए। प्रदर्शनको पहिलो दिनमा नै राष्ट्रिय ट्रमा सेन्टरमा ५ जनाको मृत्यु भएको थियो, त्यसपछि भने ट्रमा सेन्टरमा मृत्यु भएको छैन। ट्रमा सेन्टरमा १८० घाइतेहरुको भर्ना गरेर उपचार भएकोमा हाल ३० जना उपचारत्त छन्। जसमध्ये ५ जना आइसियूमा उपचार भइरहेको छ भने अन्य वार्डमा उपचाररत्त छन्। स्वास्थ्यकर्मीहरुले डब्बल तेब्बर ड्युटी गरेर पनि जनशक्ति अभाव हुन दिएका छैनन्। नेपाल सरकारको संघीय अस्पताल भएको तथा घाइतेहरुको निशुल्क उपचार गर्ने घोषणा सरकारले पनि गरेको हुनाले उपचार निशुल्क गरिएको डा रिजाल बताउँछन्।
प्रदर्शनको पहिलो दिन १ बजेपछि घाइतेहरु अस्पताल आइपुगेको आकस्मिक विभागका प्रमुख डा दिनेश भण्डारी बताउँछन्। उनका अनुसार प्रदर्शनलाई मध्यनजर गरेर अस्पतालले पूर्वतयारी गरिरहेको थियो। ट्रमा सेन्टरले सामान्य चोटपटक लागेका बिरामी आउने अनुमान गरेपनि गोली लागेको गम्भीर प्रकारमा बिरामी आएको उनले बताए। बिरामीलाई प्रकृति अनुसार विभाजन गरेर उपचार सुरु गरिएको डा भण्डारी बताउँछन्।
बिरामीको अवस्थालाई वर्गीकरण गरेर उपचार गरेकोले चुनौतीकाबीच पनि उपचार सहजरुपमा गरिएको नर्सिङ प्रमुख शोचना सापकोटा बताउँछिन्। नर्सहरुले संवेदनशीलतालाई ध्यानमा राखेर कार्य गरेकोले घाइतेहरुलाई सहज रुपमा उपचार दिन सकिएको उनले जानकारी दिईन्।
विषम परिस्थितीमा अस्पतालले कसरी उपचार व्यवस्थापन गरिरहेको छ भन्ने विषयमा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा बद्री रिजाल,आकस्मिक विभाग प्रमुख डा दिनेश भण्डारी र नर्सिङ प्रमुख शोचना सापकोटासँग गरिएको भिडियो कुराकानी हेरौं: