काठमाडौं - सरकारले पहिलो पटक पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको छ।
पाठेघर मुखको क्यान्सर रोकथाम तथा न्यूनीकरणका लागि सरकारले एचपिभी खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको हो। कक्षामा ६ मा पढ्ने छात्राहरुलाई लक्षित गरी सरकारले देशभर एचपिभी खोप अभियान सञ्चालन गर्दैछ।
यसअघि अभियानका रुपमा मात्रै एचपिभी खोप दिए पनि अब भने नियमित कार्यक्रममा समावेश गरिएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बताए।
राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा एचपिभी खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिएको उनले जानकारी दिए। रोगको भारको अवस्था, रोगका कारण हुने मृत्युको अवस्था तथा अपाङ्गता हुने दरका आधारमा नयाँ खोप सुरुवात गरिने उनको भनाई छ।
एचपिभी खोपलाई ढिलै भएपनि राष्ट्रिय खोप अभियानमा समावेश गरिनु सरकारको सराह्रनीय कदम भएको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा उज्वल चालिसे बताउँछन्। यसले पाठेघरको मुखको क्यान्सर मात्र नभई ह्युमन प्यापिलोमा भाइरसका कारण हुने अन्य क्यान्सर समेत रोकथामा सहयोग गर्ने उनले बताए। यसको नतिजा देखिनका लागि कम्तीमा पनि २० वर्ष लाग्ने उनले जानकारी दिए।
पाठेघरको मुखको क्यान्सर धेरैजसो ३५ वर्ष पुरा भएका महिलामा देखिने भएपनि १० वर्षका बालिकाहरु वयस्क हुँदा एचपिभी खोपको नतिजा देखिने उनी बताउँछन्। उनका अनुसार क्यान्सरबाट हुने मृत्युमध्ये महिलाहरुमा हुने मृत्युको पहिलो कारण नै पाठेघरको मुखको क्यान्सर हो।
ह्युमन प्यापिलोमा भाइरस पुरुषबाट महिलामा सर्ने भएकोले पुरुषलाई समेत यस अभियानमा समावेश गराउन सके अझै प्रभावकारी हुने डा चालिसे बताउँछन्। घाँटीको क्यान्सर तथा मलद्वारको क्यान्सरमा समेत ह्युमन प्यापिलोमा भाइरस देखिएकोले पनि पुरुषलाई यस अभियानमा समावेश गराउन आवश्यक रहेको उनको जिकिर छ।
नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमानित तथ्यांक छ। हरेक वर्ष १ हजार ३१३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ, जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ। खोप कार्यक्रम सरकारको उच्च प्राथमिकता प्राप्त कार्यक्रम हो। नेपालमा विफर रोग उन्मुलनका लागि सन् १७७७ मा राष्ट्रिय खोप अभियानको सुरुवात भएको थियो।
वार्षिक कति खर्च हुन्छ खोप कार्यक्रममा ?
नेपालको समग्र खोप कार्यक्रमका लागि भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) ले प्राविधिक सहयोगका लागि विश्व स्वास्थ्य संगठन तथा युनिसेफलाई आर्थिक सहयोग दिँदै आइरहेको छ।
परिवार कल्याण महाशाखाका अनुसार सरकारले आर्थिक वर्ष २०८२/८३ मा समग्र खोप खरिदका लागि १ अर्ब ७८ करोड १२ हजार रकम विनयोजना गरेको छ। त्यस्तै, गाभीले १ अर्ब २४ करोड १७ लाख ९० हजार रुपैयाँ खर्च गर्ने देखिन्छ। हाल खोप क्षेत्रमा गाभीले लगानी घटाउँदै गरेपनि सरकारले भने बढाउँदै गएको छ।
राष्ट्रिय खोप तालिकामा कुन खोप कहिले समावेश ?
सन् २००२ : हेपाटाइटिस बी खोपको सुरूवात (छुट्टै खोपको रूपमा)
सन् २००८ : जे.ई. खोपको सुरूवात (जोखिमपूर्ण ३१ जिल्लाहरूमा)
सन् २००९ : हेमोफिलस इन्फ्ल्यूएञ्जा बी खोपको सुरूवात (पेण्टाभ्यालेण्ट खोपको रूपमा डि.पि.टी.–हेप बी–हिव खोप)
सन् २०१३ : रुबेला खोपको सुरूवात (दादुरा–रूबेला खोपको रूपमा)
सन् २०१४ : आई.पि.भि. खोपको सुरुवात (पोलियो रोग विरूद्ध सूईको माध्यमबाट दिइने खोप)
सन् २०१५ : पि.सि.भि. खोपको सुरूवात र दादुरा–रुबेला खोपको दोस्रो मात्राको सुरूवात
सन् २०१६ : जे.ई. खोप देशभरी नै विस्तार (बाँकी ४४ जिल्लाहरूमा)
सन् २०२० : रोटा भाईरसको खोपको सुरूवात
सन् २०२२ : टाइफाइड विरूद्ध टि.सि.भी. खोपको सुरूवात
सन् २०२५ : एच.पि.भी खोपको सुरूवात (पाठेघरको मुखको क्यान्सर रोग विरूद्ध)