देशभरका अधिकांश स्थानमा मौसममा आएको फेरबदलसंगै चिसो बढेको छ। तराई तथा मधेश क्षेत्रमा बिहान बेलुकाको हुस्सुको कारणले चिसो अति नै बढेको छ।
चिसोको कारणले मानिसमा धेरै स्वास्थ्य समस्याहरु देखा पर्दछन्। जाडोमा अन्य मौसममा भन्दा बालबालिका, वृद्धवृद्धाहरु र दीर्घ रोगीहरुलाई बढी स्वास्थ्य समस्या हुने गर्दछ। त्यसकारण अहिलेको समयलाई बढी मात्रामा सावधानी सहित ध्यान दिएर आफ्नै दैनिकी चलाउनु बुद्धिमानी मानिन्छ।
चिसो मौसममा देखापर्न सक्ने स्वास्थ्य समस्याहरु
१. रुघाखोकी : चिसो मौसममा शरीरमा भाईरस बढी सक्रिय हुने भएकाले रुघाखोकी लाग्ने सम्भावना बढी हुन्छ। यस्तोमा रुघाखोकी सहित एलर्जी पनि हुन सक्दछ।
रुघाखोकीबाट बच्न चिसोबाट बच्नु नै सबैभन्दा ठुलो उपाय हो। बाहिर निस्कदा माक्स लगाएर निस्कनु पर्दछ। साधारण रुघाखोकी भएमा घरमै उपचार गर्न सकिन्छ। तर नाकबाट पहेलो सिंगान आउने, नाक बन्द हुने घाँटीमा समस्या देखिने वा कानमा समेत समस्या भएमा निकै सावधानी अपनाउनु पर्दछ। चिसो मौसममा बालबालिका र वृद्धवृद्धालाई बढी ध्यान दिनु पर्छ।
२. श्वासप्रश्वास : चिसो बढेसंगै कतिपय मानिसहरुमा श्वासप्रश्वास संम्बन्धी रोग लाग्ने गर्दछ। यसको सबैभन्दा छिटो प्रभाव बिरामी वृद्धवृद्धा साना बालबालिका तथा सुत्केरी महिलामा पर्न जान्छ। श्वासप्रश्वास संम्बन्धी रोग लाग्नुको प्रमुख कारण प्रदुषण धुम्रपानसंगै चिसो मुख्य कारण हो। श्वासप्रश्वास सम्बन्धी रोगहरुमा दम ब्रोङकाईटिस र निमोनिया लगायतका समस्या हुन सक्दछ।
श्वासप्रश्वास सम्बन्धी रोगहरुबाट बच्न सम्भव भएसम्म धूलो धूवाँ तथा प्रदुषणबाट टाढा बस्नु पर्दछ। बाहिर निस्कदा अनिवार्य माक्सको प्रयोग गर्नु पर्दछ। धुम्रपान तथा चुल्होको धूवाँ तथा प्रदुषणबाट अनिवार्य बच्नु पर्दछ।
३. हाईपोथर्मीया : शरीरमा तापक्रमको मात्रा कमी हुनुलाई हाईपोथर्मीया भनिन्छ। यो समस्या आउँदा शरीर काप्ने, दिमाग सुस्त हुने मानिसको समवेदना कम हुने गर्दछ। हाईपोथर्मीयाको मात्रा बढे मानिस बेहोस हुने र बेहोसमै अस्वाभाविक व्यवहार देखाउने गर्दछन्। हाईपोथर्मीया बढेमा मुटुको धड्कन नै रोकिने र बिरामीको ज्यानै जान सक्नेसम्म हुन पनि सक्दछ।
हाईपोथर्मीया हुँदा सामान्यभन्दा बढी न्यानो लुगा लगाउनु पर्दछ। सकेसम्म तत्काल न्यानो स्थानमा बस्ने र शरीरलाई तातो बनाउनु पर्दछ। समस्या बढेमा अस्पताल जानुपर्दछ।
४.फ्लु : एन्फ्लुएन्जा भाईरसबाट लाग्ने सरुवा रोगलाई फ्लु भनिन्छ। विशेष मनसुनको कारण मौसम वा जाडो महिनाको सुरुवातमा मौसमी फ्लु हुने गर्दछ। संक्रमित व्यक्तिले खोक्दा हाँछ्यु गर्दा अर्को व्यक्तिमा फ्लुको संक्रमण सर्ने गर्दछ।
फ्लुबाट बच्न सकेसम्म सार्वजनिक स्थलमा नजानु नै महत्वपूर्ण पक्ष हुन्छ। संक्रमित व्यक्तिसँग नजिक नहुने बाहिरबाट आएपछि साबुन पानीले राम्ररी हात खुट्टा मुख धुने गर्नुपर्छ। संक्रमित व्यक्तिले हाँछ्यु गर्दा मुख छोपेर मात्र गर्नु पर्दछ। फ्लुको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउनुपर्छ।
५. हिउँले खानु : जाडो मौसममा हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा हिउँ पर्छ। यस्तोमा त्यस भागमा रहने वा बाहिरबाट घुम्न जानेहरुलाई हिउँले खाने समस्या हुन सक्छ। लामो समयसम्म हिउँ वा चिसो पानीको सम्पर्कमा रहेपनि यो समस्या हुन सक्छ।
हिउँले खाने समस्याबाट बच्न शरीरको कुनै पनि अंगलाई हिउँ वा चिसो पानी नछुनु नै पहिलो उपचार हो। विशेषगरी हात खुट्टा औंलाहरु अनुहार नाक कान आदीलाई चिसोबाट बचाउनुपर्छ। असावधानीका कारण हिउँले धेरै खाएको भए त्यस भागलाई शल्यक्रिया गरी फाल्नुपर्ने अवस्था पनि आउन सक्छ।
६. हृदयघात र मुटुरोग : चिसो मौसममा देखापर्न सक्ने अर्को जटिल समस्या भनेको ह्रदयघात र मुटु रोग हो। मुटुमा रक्त प्रवाह अचानक बन्द भएमा ह्रदयघात हुने गर्छ। यस्तो भएमा मुटुमा असर पर्ने र असर परेको भागले काम गर्न छाड्नेसम्मको समस्या आउन सक्छ।
ह्रदयघातबाट बच्न चिसोबाट बच्नु पर्दछ। यसका साथै तौल कम गर्ने, बढी चिल्लो, बोसो वा मसलादार खाना नखाने। चिसो मौसममा शरीर कम मात्रामा सक्रिय राख्ने वा नियमित केही समय शारीरिक व्यायाम गर्नु पर्छ।
७. कार्बनमोनोअक्साईड पोईजनिङ : चिसो मौसममा केही मानिसहरु घरका सबै झ्याल ढोका बन्द गरेर आगो ताप्ने गर्दछन्। यसरी कतैबाट हावा नर्छिने गरी कोठा बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनमोनोअक्साईडको मात्रा बढ्न जान्छ। यसले पोईजनको रुपमा शरीरमा प्रवेश गर्दछ। र, मानिसको मृत्यु पनि सक्छ।
कार्बनमोनोअक्साईड पोईजनिङबाट बच्न कोठा भित्र आगो वा हिटर ताप्दा कोठाको कुनै एक भाग खुल्ला राख्नुपर्छ। केहीबेर आगो वा हिटर तापेपछि कोठा बाहिर जाने र अन्य काममा सक्रिय हुनुपर्छ।
८. जोर्नीको दुखाई : चिसो मौसममा देखापर्ने मुख्य समस्यामध्ये जोर्नीको दुखाई पनि एक हो। विशेषत वृद्ध मानिसलाई देखापर्ने यो समस्या जाडो बढेसँगै सुरु हुने गर्छ। बाहिरी तापमान घटबढ हुँदा जोर्नीको नशा समेत खुम्चिने गर्दछन्। रगतमा पनि तापक्रम घट्छ। जसका कारण जोर्नीहरु कडा हुने र दुख्ने गर्छन्।
चिसो मौसममा जोर्नीको दुखाई बाट बच्न शरीरमा एक समानको तापमान बनाई राख्नु पर्दछ। कतिपय मानिसहरु शरीरको माथिल्लो भागअर्थात् जिउमा न्यानो लुगा लगाएपनि खुट्टामा भने साधारण पाईन्ट सारी वा पातलो लुगा मात्र लगाउने गर्दछन्। तर शरीरको तल्लो भागमा पनि न्यानो हुने गरी टाउजर वा पर्याप्त तातो हुने कपडा लगाउने गर्नु पर्दछ।
९. सुख्खा छाला : चिसो मौसम लागेसंगै हाम्रो शरीरका छालामा सुख्खापन बढ्ने गर्दछ। किनकी चिसो मौसम छालाका लागि अनुकुल समय होइन। बाहिरी वातावरण शरीरको तापक्रम भन्दा कम हुँदा शरीरको ताप वातावरणले तान्न थाल्छ र छाला सुख्खा हुने गर्दछ।
छालामा सुख्खापना आउन नदिन जाडो मौसममा पर्याप्त न्यानो लुगा लगाउनुपर्छ। शरीरलाई ढाकेर न्यानो बनाउने र तातो तथा झोलिलो खानेकुरामा ध्यान दिनुपर्छ। कुनै पनि ज्याकेट वा ऊनिको स्विटर लगाँउदा शरीरमा टाँसिने कपडा सुतिको हुनुपर्दछ। यदि छाला धेरै सुख्खा भए मोईस्चराइजर क्रिम लगाउनुपर्छ।
१०. नोरोभाईरस वा विन्टर डाईरिया : जाडो मौसममा नोरो भाईरसको सक्रियताका कारण केही मानिसमा बान्ता हुने तथा झाडापखाला लाग्ने गर्छ, जसलाई विन्टर डायरिया भनिन्छ। संक्रमित व्यक्तिको संसर्गबाट सर्ने विन्टर डाईरिया संक्रमित खाना, वस्तु वा सतह छुँदा पनि सहजै सर्न सक्छ।
विन्टर डाईरियाबाट बच्न खाना पकाउँदा साबुन पानीले राम्ररी हात धुने संक्रमित व्यक्तिको संसर्गमा नआउने, एक अर्काका कपडा वा सामान प्रयोग नगर्ने।
संक्रमित व्यक्तिको बान्ता वा दिशा पिसाब, पन्जा र माक्सको प्रगोग गरेर व्यवस्थापन गर्ने। साथै चिसोबाट बच्न समग्र रुपमा आरामको साथमा व्यायाम पनि गर्नुहोस्, यसले अवश्य स्वास्थ्यमा सकारात्मक सुधार आउने छ।
यसको साथै घरेलु उपचार बेसार, नुन, लसुन, अदुवा, जिरा, तुलसीको पात, सुकमेल, टिमुर, गुर्जो, मरिच, ज्वानोको पानीपकाएर पिउनुहोस्। तातो पानीमा कागती मिसाएर पनि पिउन सकिन्छ। यसले रुघा खोकी कम गर्छ।
नियमित रुपमा फलफुल, झोलिलो खानेकुरा साबीक भन्दा बढी खाने गर्नुपर्छ। तपाईले यी कुरामा ध्यान दिनुभयो भने तपाई चिसो मौसममा हुन सक्ने यस किसिमको समस्याबाट सजिलै जोगिन सक्नु हुन्छ। यदि यी कुरा अपनाई रहँदा पनि थप समस्या आएमा तुरुन्त चिकित्सकको थप परामर्श लिनुपर्छ।
(भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)