एआईद्वारा निर्मित प्रतिकात्मक तस्विर
काठमाडौ - संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने रोगमध्ये एक हो, जापानीज इन्फेसलाइटिस।
यो रोग अहिले नेपालमा चुनौतीका रुपमा देखिँदै गएको छ। पछिल्लो तीन वर्षको सरकारी तथ्यांक हेर्ने हो भने जापानीज इन्फेसलाइटिसका कारण ६७ जनाको मृत्यु भइसकेको छ। र, यो तथ्यांक वर्षेनी बढ्दो छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाको तथ्यांक अनुसार जापानीज इन्फेसलाइटिसका कारण सन् २०२३ मा ७, २०२४ मा ३२ र २०२५ को हालसम्म ३५ जनाले ज्यान गुमाइसकेका छन्। शाखाका अनुसार सन् २०२५ मा १७९ जनामा जापानीज इन्फेसलाइटिसको संक्रमण हुँदा ३५ जनाको मृत्यु भएको हो।
शाखा प्रमुख डा अभियान गौतम पछिल्लो समय यो रोग डेंगुभन्दा पनि घातक रुपमा देखिएको बताउँछन्। उनका अनुसार तराई क्षेत्रमा यसको संक्रमणबाट बढी मृत्यु हुने गरेको छ।
प्रदेशगत रुपमा हेर्ने हो भने मृतकको संख्या लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै छ। त्यहाँ मात्र जापानीज इन्फेसलाइटिसका कारण ११ जनाको मृत्यु भएको शाखाले जनाएको छ।
सन् २०२५ मा देशभरका ४५ जिल्ला र ११९ नगरपालिकामा जापानीज इन्सेफलाइटिसको संक्रमण देखिएको थियो। कोशी प्रदेशका ६ जिल्ला तथा १८ नगरपालिकामा संक्रमितहरु भेटिएकोमा ५ जनाको मृत्यु भएको हो।
मधेश प्रदेशका ७ जिल्ला १७ नगरपालिका, बागमती प्रदेशका ६ जिल्ला तथा १३ नगरपालिका, गण्डकी प्रदेशको ७ जिल्ला तथा १९ नगरपालिका, लुम्बिनी प्रदेशको ११ जिल्ला तथा ३३ नगरपालिका, कर्णाली प्रदेशका ३ जिल्ला र ८ नगरपालिका, सुदुरपश्चिम प्रदेशका ५ जिल्ला तथा ११ नगरपालिकामा संक्रमित भेटिएका थिए।
विश्वभर प्रत्येक वर्ष ५० हजार भन्दा बढी मानिसमा जापानीज इन्सेफलाइटिसको संक्रमण हुने गरेको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। जसमध्ये १० देखि १५ हजारको मृत्यु समेत हुने गरेको छ। संक्रमणले स्नायु सम्बन्धी समस्या ल्याउने सक्ने उनले बताए। यसको संक्रमणले बिरामीलाई शारीरिक तथा मानसिक दुवै रुपमा असर गर्ने उनी बताउँछन्।
के हो जापानीज इन्सेफलाइटिस ?
जापानीज इन्सेफलाइटिस नामक भाइरसबाट मानिसमा लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। सुँगुर, हाँस जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्छ। यो रोग कृषि पेशामा निर्भर मानिसहरुमा धेरै लाग्ने गर्छ।
सुँगुर र हाँसमा जापानीज इन्सेफलाइटिसका भाइरस हुन्छन्। ती जनावरलाई टोकेको क्युलेक्स नामक लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउँछ। यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्छ। मस्तिष्कलाई असर गरेपछि ज्वरो आउने, घाँटी बस्ने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग लागेको जस्तो लक्षण देखापर्ने हुन्छ।
संक्रमणबाट कसरी जोगिने ?
यसको संक्रमणबाट बच्ने प्रमुख उपाय नै खोप भएको डा गौतम बताउँछन्। सरकारले यो रोगको संक्रमणबाट बच्न १२ महिनामा जेई विरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रमा समावेश गरी निःशुल्क उपलब्ध गराउँदै आएको छ। यो भाइरसजन्य संक्रमण भएकाले यसको विशेष औषधि नभएको डा गौतमले जानकारी दिए।