धरान - देशभरका विभिन्न मेडिकल कलेजमा अध्ययनरत हजारौँ विद्यार्थी तथा चिकित्सकहरू माघ १६ गतेदेखि ९ दिनका लागि धरानमा भेला हुने भएका छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा तथा विद्यार्थी कल्याण समाजको निगरानीमा सुरु हुन लागेको ‘अल नेपाल इन्टर मेडिकल कलेज मिट– साइन्याप्स २०२६’ नामक सप्ताहव्यापी कार्यक्रममा विद्यार्थी, चिकित्सक तथा आवासीय चिकित्सकहरूको सहभागिता रहनेछ।
माघ १६ गतेदेखि २४ गतेसम्म (जनवरी ३० देखि फेब्रुअरी ७ सम्म) सञ्चालन हुने यस कार्यक्रममा खेलकुद, सांस्कृतिक तथा साहित्यिक गोष्ठी र समारोहहरू आयोजना गरिने छन्।
सन् २००६ देखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको साइन्याप्समा देशभरका मेडिकल विद्यार्थीहरू सहभागी भई विभिन्न विधामा प्रतिस्पर्धा गर्दै आएका थिए। तर सन् २०१९ पछि कोरोना महामारी तथा अन्य विविध कारणले नियमित रूपमा आयोजना हुन नसकेको यो कार्यक्रम करिब ८ वर्षपछि पुनः साइन्याप्स २०२६ का रूपमा सञ्चालन हुन लागेको हो। कार्यक्रमको उद्देश्य मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नु, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन गर्नु र प्रतिभा उजागर गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको पहिलो दिन बिहान वाकाथनमार्फत औपचारिक उद्घाटन हुनेछ। वाकाथनमा प्रतिष्ठान तथा अन्य मेडिकल कलेजका पदाधिकारी, फ्याकल्टी सदस्य, चिकित्सक तथा विद्यार्थीहरूको सहभागिता रहनेछ। पहिलो दिनदेखि अन्तिम दिनसम्म विभिन्न खेलकुद, साहित्यिक तथा सांस्कृतिक प्रतियोगिताहरू सञ्चालन गरिनेछन्।
खेलकुद अन्तर्गत फुटबल, फुटसल, क्रिकेट, क्रिक्सल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, लन टेनिस, क्यारम बोर्ड, चेस, जिम, एथलेटिक्स तथा मोबाइल र कम्प्युटर गेमका छुट्टाछुट्टै प्रतियोगिताहरू हुने आयोजकले जानकारी दिएका छन्।
त्यसैगरी साहित्यिक विधातर्फ क्विज, स्पेलिङ बी, वक्तृत्वकला, वादविवाद, फोटोग्राफी, कविता, सर्ट कथा लेखन, स्केचिङ तथा पेन्टिङ प्रतियोगिताहरू आयोजना गरिनेछन्।
हरेक दिन सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरू हुनेछन्। सांस्कृतिक कार्यक्रम अन्तर्गत र्याम्प वाक शो, भजन आराधना, अन्तरकलेज गायन तथा नृत्य प्रतियोगिता, आकाशवाणी (फ्लाइङ ल्यान्टर्न शो), ओपन माइक शो, डीजे नाइट तथा युट्युब सेन्सेसन जस्ता आकर्षक कार्यक्रमहरू समावेश गरिएका छन्। सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन वृहत् सांगीतिक कार्यक्रम तथा कन्सर्ट आयोजना गरिनेछ।
कार्यक्रमलाई मेडिकल साइन्सका विद्यार्थीहरूको अहिलेसम्मकै सबैभन्दा वृहत् इन्टर मेडिकल कलेज मिटका रूपमा लिइएको आयोजक समिति तथा विद्यार्थी कल्याण समाजका सदस्य तथा एमबीबीएस चौथो वर्षमा अध्ययनरत सन्दीप बी.के.ले जानकारी दिए।