काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको आकस्मिक कक्ष विस्तार गरिएको छ।३० शय्या क्षमता रहेको आकस्मिक कक्षमा थप २५ शय्या थप गर्दै ५५ शय्या क्षमताको बनाइएको छ।
शय्या क्षमताको विस्तारसँगै बिरामीले सहज रुपमा सेवा पाउने अवस्था आएको र आकस्मिक कक्षमा शय्या नपाएर फर्कनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिइएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राध्यापक डा भुपेन्द्र बस्नेतले बताए।
क्षमता विस्तारसँगै आवश्यक जनशक्तिको व्यवस्थापनका लागि ५ जना चिकित्सकसहित अन्य जनशक्ति थपिने उनले जानकारी दिए। उनका अनुसार झन्डै ७ करोडको लगानीमा आकस्मिक कक्ष विस्तार गरिएको हो।
सर्वसाधारणले ढुक्कसँग सेवा पाउने स्थिती निर्माण गर्न आफूहरु तयार रहेको उनको दाबी छ । सेवाग्राहीहरुमा अस्पताल प्रशासनप्रति केही असन्तुष्टी भएमा गुनासो पत्रमार्फत् जानकारी गराउन वा सिधै आफूहरु समक्ष बताउन उनले अनुरोध समेत गरेका छन् ।
सेवाको गुणस्तर सुधारका लागि स्वास्थ्य मन्त्रालय तथा अस्पतालको आन्तरिक स्रोतबाट ३० शय्याको क्षमतामा रहेको आकस्मिक विभागलाई ५५ शय्यामा विस्तार गरिएको वीर अस्पतालका निर्देशक डा दिलीप शर्मा बताउँछन्।
शय्या विस्तारले बिरामीलाई राहत मिल्ने विश्वास लिइएको उनले जानकारी दिए।
आकस्मिक विभागको क्षमता विस्तार भएपनि जनशक्ति अभावमा भने निरन्तरताको चुनौती रहेको उनले जानकारी दिए। समस्या सम्बोधनका लागि ओएनएम सर्वेमार्फत् तत्कालै वीर अस्पतालमा जनशक्ति थप गर्न उनको अनुरोध छ।
अस्पतालले स्वास्थ्य बीमा सेवामार्फत् पाउनुपर्ने रकम भुक्तानी नहुँदा समेत सेवा प्रवाहमा समस्या थपिएको उनले बताए। राज्यलाई तुरुन्तै स्वास्थ्य बीमाको रकम भुक्तानी गरिदिएर सहयोग गर्न उनको अनुरोध छ।
बिरामीको चाप बढेसँगै क्षमता बढाइएको आकस्मिक विभाग प्रमुख प्राध्यापक डा सुरेश नेपाल बताउँछन्।क्षमता विस्तारसँगै बेड अभावमा ३,४ जना बिरामीलाई एकै बेडमा राखेर उपचार गर्नुपर्ने स्थितीको अन्त्य हुनसक्ने उनले बताए।
५५ शय्यामा विस्तार भएको आकस्मिक विभागलाई आगामी ३ महिनाभित्र नै ७५ शय्यामा विस्तार गरिने उनले जानकारी दिए।