काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन्।
यसअघि पनि उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट नै उम्मेदवार बनेका थिए। २०७९ सालमा उनले उक्त क्षेत्रबाट जित हासिल गरी सांसद मात्र बनेनन् स्वास्थ्यमन्त्री समेत बनेका थिए।
आफूलाई पहिलोपटक सांसद बन्ने अवसर काठमाडौं ५ ले दिएकोले यसपटक पनि जित्नेमा विश्वसत रहेको महामन्त्री पौडेलले बताउँदै आएका छन् । उनले आफ्नो नेतृत्वमा सुरु भएका आयोजना सम्पन्न गराउनका लागि पनि जनताले आफूलाई मत दिने बताउँदै आएका छन्।
उनले ०७९ को निर्वाचनमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका थिए। काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल १५ हजार २३७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पोखरेलले १० हजार १७२ मत पाएका थिए। ५ हजार ६५ मत अन्तरले गत निर्वाचनमा पौडेल विजयी भएका हुन् ।
२०७९ सालमा नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीले चुनावी तालमेल गरेका थिए। जसका कारण उक्त क्षेत्रमा माओवादीको उम्मेदवार थिएन। माओवादीले पनि नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई नै मत हालेका थिए।
विं–सं २०७४ सालको निर्वाचनमा माओवादी र एमाले मिलेर बनेको नेकपाका उम्मेदवार ईश्वर पोखरेलले नेपाली कांग्रेसका प्रकाशसरण महतलाई हराएका थिए । २०७४ सालमा पोखरेलले २३ हजार २९ मत पाएका थिए भने कांग्रेसका महतले १३ हजार १ सय ६९ मत प्राप्त गरेका थिए। ०६४ र ०७० को निर्वाचनमा पोखरेल पराजित भएका थिए।
यसपटक काठमाडौं ५ मा प्रदीप पौडेल र ईश्वर पोखरेलसँगै नेपाली कम्युनिस्ट पार्टीकी कल्पना शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा, जनता समाजवादी पार्टी नेपालका दानिन्द्र जोशी, नेपाल मजदुर किसान पार्टीका शोभालाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चा पार्टीका अशोक विक्रम जिसी, प्रगतिशील लोकतान्त्रिक पार्टीका विष्णु श्रेष्ठ तथा मंगोल नेशनल अर्गनाइजेसनकी मिरा गुरुङ उम्मेदवार रहेका छन्।
यस्तो छ काठमाडौं ५ मा स्थानीय तह र समानुपातिक मत
प्रतिनिधि सभा निर्वाचन २०७९ मा काठमाडौं क्षेत्र ५ मा समानुपातिकतर्फ ११ हजार ६ सय ४७ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा रहेको थियो।
नेपाली कांग्रेसले १० हजार ४३ हजार मतसहित दोस्रो स्थान पाएको थियो । नेपाल कम्युनिष्ट पार्टी एमालेले समानुपातिकतर्फ ९ हजार ६ सय ५२ मत प्राप्त गरेको थियो ।
काठमाडौं–५ मा काठमाडौं महानगरको वडा नं २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाको वडा नं ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६, ७ पर्छन्।
क्षेत्र नम्बर ५ अन्तर्गत टोखा नगरपालिकामा २०७९ सालमा नेकपा एमालेका प्रकाश अधिकारी १० हजार ३ सय ४० मतसहित निर्वाचित भएका थिए भने नेपाली कांग्रेसकी रजनी थापाले १० हजार १ सय ६६ मतसहित पराजय बेहोर्नु परेको थियो।
त्यसैगरी उपप्रमुखतर्फ नेपाली कांग्रेसका मुरारी तामाङ १० हजार १ सय ३२ मतसहित निर्वाचित भएका थिए भने नेकपा एमालेकी ज्ञानमाया डंगोल ९ हजार ५ शय १८ मतसहित पराजित भएकी थिइन्।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी एमालेका मिठाराम अधिकारी १४ हजार २ सय ५० मतसहित निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५ सय १२ मत पाएर पराजित हुनुपरेको थियो। त्यस्तै उपप्रमुखतर्फ १४ हजार ३ सय १४ मतसहित नेपाल कम्युनिस्ट पार्टी एमालेकी अनिता लामा विजयी भएकी थिइन्। नेपाली काङ्ग्रेसकी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गरेकी थिईन्।
बुढानीलकण्ठको ३ नम्बर वडामा स्वतन्त्र उम्मेदवार आकाश धितालले ५१२ मत पाएर विजयी भएका थिए। भने नेकपा एमालेका राजेन्द्र खड्काले ४७४ र कांग्रेसका नवराज भण्डारीले ३२१ मत पाएका थिए।
त्यसैगरी वडा ४ मा नेपाली कांग्रेसका श्रीराम केसी १ हजार २ सय ५९ मतसहित विजयी भएका थिए। वडा ५ मा नेपाली कांग्रेसका कृष्ण शाह ठकुरी ५ सय १४ मतसहित निर्वाचित भएका थिए भने नेकपा एमालेका नारायण दुलालले ४ सय ८१ मत प्राप्त गरेका थिए। वडा ६ मा नेकपा एमालेका रवि खड्का, ७ सय २६ मतसहित विजय भएका थिए भने नेपाली कांग्रेसका प्रल्हाद खड्काले ६ सय ९६ मत पाएका थिए। वडा ७ मा नेकपा एमालेका बसनारायण महर्जन १ हजार १५ मतसहित विजय भएका थिए, भने नेपाली कांग्रेसका रामराजा महर्जनले ४ सय ७५ मत प्राप्त गरेका थिए।
त्यसैगरी, टोखा नगरपालिकाको वडा दुईमा नेकपा एमालेका धर्मेन्द्र श्रेष्ठ १ हजार ४ सय २२ मतसहित निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका माइला डंगोलले ९ सय ८७ मत प्राप्त गरेका थिए। त्यसैगरी नेपाल मजदुर किसान पार्टीका रमेश डंगोलले २सय ४ मत प्राप्त गरेका थिए।
वडा ३ मा नेपाल कम्युनिस्ट पार्टी एमालेका रमेश डंगोल १ हजार ५ सय ६० मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका रमेश जोशीले १ हजार ३ सय ३० मत प्राप्त गरेका थिए। त्यस्तै वडा ४ मा नेकपा एमालेकै वडा अध्यक्ष ७ सय ५३ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका अमृतमान श्रेष्ठले ३ सय ८६ मत प्राप्त गरेका थिए।
वडा ५ मा नेकपा एमालेका मदन गुरुङले ७ सय ८८ मत पाएर विजयी भएका थिए भने नेपाली कांग्रेसका सुदेव जंग पण्डितले ७ सय २७ मत पाएर पराजित भएका थिए । वडा नम्बर ६ मा नेपाली कांग्रेसकी शान्ता खनालले १हजार ७५ मत पाएर विजय भएकी थिइन्। भने नेकपा एमालेका भगवान केसीले ७ सय ६९ मत पाएका थिए । वडा ७ मा नेकपा एमालेका नरोतम राना ९ सय ७६ मतसहित निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका राजेन्द्र केसीले ७ सय ६५ मत पाएका थिए।
काठमाडौं क्षेत्र ५ मा पर्ने महानगरको वडा २ मा ०७९ सालको स्थानीय तहको नतिजा हेर्दा नेकपा एमालेका राजेन्द्र कुमार श्रेष्ठले १ हजार ३ सय ७७ मत पाएर विजय हासिल गरेका थिए भने नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९ सय ६३ मत पाएका थिए।महानगरकै वडा ३ मा नेकपा एमालेका प्रेम थापाले २ हजार १ सय ३८ मतसहित वडाध्यक्ष निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेश अधिकारीले १ हजार ४ सय ९१ मत पाएका थिए।त्यस्तै वडा ४ मा नेकपा एमालेका दिनेश महर्जन ४ हजार ६ सय ४ मत विजयी हुँदा नेपाली कांग्रेसका रामप्रसाद न्यौपानेले २ हजार २ सय ८९ मत पाएका थिए।
त्यस्तै महानगरको वडा ५ मा एमालेका वीरेन्द्र प्रजापतिले १ हजार ८ सय १८ मत पाएर विजयी भएका थिए भने नेपाली कांग्रेसका रमेश डंगोलले १ हजार ५ सय ७५ मत पाएका थिए।