काठमाडौं - अघिल्ला दुईवटा निर्वाचन जितिसकेका पूर्व स्वास्थ्यमन्त्री पदम गिरी यसपटक पनि पर्वतबाट उम्मेदवार बनेका छन्। २०७४ र २०७९ सालमा लगातार निर्वाचन जितेका उनी तेस्रो जितको प्रयासमा छन्।
उनको प्रमुख प्रतिस्पर्धीका रुपमा पुरानै उम्मेदवार कांग्रेस नेता अर्जुन जोशी छन्। गत निर्वाचनमा गिरीले २९ हजार ८ सय ७२ प्राप्त गरी जित हांसिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुन जोशीले २७ हजार ६ सय ९ मत प्राप्त गरेका थिए।
यसपटक नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मनहरी तिमिल्सिना समेत पदम र अर्जुनसँग प्रतिस्पर्धामा छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुसाल, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कृष्णबहादुर विक, राप्रपाका दुर्गाबहादुर मल्ल, नेपाल मजदुर किसान पार्टीका ऐलिना सुवाल, आम जनता पार्टीकी पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चाका भीमलाल न्यौपाने, उज्यालो नेपाल पार्टीका यमबहादुर चोचांगी सहित १७ जना अहिले चुनावी प्रतिस्पर्धामा छन्।
पदम गिरीले विगतमा आफूले जनताको काम गरेकोले यसपटक पनि जनताले आफूलाई जिताउने बताउँदै आएका छन्। उनका अनुसार पर्वतमा खानेपानीको समस्या समाधान तथा विभिन्न काम गरेका छन्। यद्यपि, पर्वतमा अहिले कांग्रेस–एमालेका यसअघिकै प्रतिस्पर्धीलाई मात्र हेरेर आगामी चुनावी नतिजाको आँकलन गर्ने अवस्था भने छैन।
नेपाली कम्युनिस्ट पार्टी, रास्वपासहित नयाँ दल पनि रहेको अवस्थामा चर्चामा भने अर्जुन र पदम छन्। ३ वटा निर्वाचन २०५६, २०६४ र २०७० जितेपनि पछिल्लो समय लगातार हार बेहोरेका कांग्रेसका उम्मेदवार अर्जुन यसपटक परिणाम बदल्ने सोच रहेको बताउँदै आएका छन्। निर्वाचनमा होमिएका दलकै नेता–कार्यकर्तालेसमेत परिणाम यसै आउन सक्छ भन्ने स्थिती नरहेको बताउँदै आएका छन्।
विं–सं २०७४ सालको निर्वाचनमा माओवादी र एमाले मिलेर बनेको नेकपाका उम्मेदवार रुपमा पदम रहेका थिए। २०७४ सालमा पदमले ३९ हजार २७५ मत ल्याएर जित हासिल गरेका थिए। कांग्रेसका अर्जुनले २६ हजार ८१९ मत ल्याएका थिए।
पर्वतमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ। दुई नगरपालिका र पाँच गाउँपालिका रहेका छन्।
यस्तो छ पर्वतमा स्थानीय तह र समानुपातिक मत
प्रतिनिधि सभा निर्वाचन २०७९ मा समानुपातिकमा नेकपा एमाले २५ हजार ३ सय १४ मतसहित पहिलो स्थानमा थियो भने नेपाली कांग्रेस १८ हजार ८ सय १७ मतसहित दोस्रो स्थानमा थियो। राष्ट्रिय स्वतन्त्र पार्टी ९ हजार ६ सय ७९ मतसहित तेस्रो र ७ हजार ३६ मतसहित चौथो स्थानमा माओवादी देखिन्छ।
२०७४ सालको समानुपातिक मत हेर्दा नेकपा एमालेले ३० हजार ९९९ मत ल्याएको थियो। कांग्रेसको २५ हजार १९० मत, माओवादीको ६ हजार ४५९ मत आएको थियो।
२०७९ को स्थानीय तहको निर्वाचनलाई हेर्दा पर्वतका दुई नगरपालिकामध्ये दुवैको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो। कुश्मा नगरपालिकाको उपप्रमुखमा नेकपा एमाले र फलेवास नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रले जितेको थियो।
यस्तै, पाँच गाउँपालिकामध्ये कांग्रेसले तीन गाउँपालिका प्रमुखमा जित हासिल गरेको थियो। पैयूं गाउँपालिका, विहादी गाउँपालिका, जलजला गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए। ६१ वटा वडामध्ये नेकपा एमालेले ३३ वडाका अध्यक्षमा जित हासिल गरेको थियो भने २४ वटा वडाअध्यक्षमा कांग्रेस विजयी थियो। माओवादी केन्द्र ३ वटा वडाअध्यक्षमा निर्वाचित भएको तथा एउटा वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए।
उपप्रमुखमा नेकपा एमालेका स्वस्थानी रिजाल निर्वाचित भएकी थिइन्। उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शंकर गिरीलाई ८१० मतले हराएकी थिइन्। माओवादी केन्द्रका गिरीले ८ हजार २८२ प्राप्त गरेका थिए भने निर्वाचित रिजालले ९ हजार ९२ मत ल्याएकी थिइन्।
फलेवास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गंगाधर तिवारी निर्वाचित भएका थिए। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदमपाणी शर्मालाई १ हजार ३६२ मतले पछि पार्दै उनी विजयी भएका हुन्। शर्माले ६ हजार ३३८ मत पाएका थिए।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका शोभा कुमारी क्षेत्री निर्वाचित भएकी छन्। उनले ६ हजार ३२७ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मञ्जु अधिकारी प्यासीले ६ हजार ५७ मत प्राप्त गरिन्।
जलजला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजु प्रसाद आचार्य विजयी भएका थिए। उनले ५ हजार ६५७ मत पाए। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर अधिकारीले ४ हजार १८४ मत पाएका थिए।
यस्तै, उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका दिपक आचार्य विजयी भएका थिए। उनले ४ हजार ७९२ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिता वरुवाल ७७ मतले पराजित भइन्। वरुवालले ४ हजार ७१५ मत प्राप्त गरेका थिए।
नेपाली कांग्रेसका तोरण मल्ल ठकुरी पैयूं गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए। ठकुरीले ३ हजार ८२४ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेन्द्रकुमार श्रेष्ठले भन्दा ४४४ मत बढी ल्याइ ठकुरी विजयी भएका हुन्। एमालेका उम्मेदवार श्रेष्ठले ३ हजार ३८० मत पाएका थिए।
उपाध्यक्षमा नेकपा एमालेकी यामकुमारी राना निर्वाचित भएकी थिईन्। उनले ३ हजार ७७७ मत पाएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसकी जानकी प्रधानले ३ हजार ४५८ मत पाएकी थिईन्।
नेकपा एमालेका ईश्वरी प्रसाद भुसाल महाशिला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। उनले २ हजार ७५३ पाएका थिए। भुसालले कांग्रेसका अशोक उच्चै ठकुरीलाई ४४७ मतले पराजित गरेका हुन्। ठकुरीले २ हजार ३०६ प्राप्त गरेका थिए।
यस्तै, उपाध्यक्ष पदमा नेकपा एमालेका धनसुवा विक २ हजार ७०६ मत प्राप्त गरेर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका विराज हमाललाई १ हजार ९६९ मत प्राप्त भएको थियो।
मोदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी हिरादेवी शर्मा निर्वाचित भएकी थिईन्। उनले ६ हजार १९ मत पाएकी थिईन् भने शर्माका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गुप्त बहादुर ठकुरीले ४ हजार ६८० मत पाएका थिए।
उपाध्यक्ष पदमा पनि नेकपा एमालेकै विमल लामिछानेले नेपाली कांग्रेसका राम बहादुर प्रसाईलाई १ हजार ६४९ मतले पछि पारेर निर्वाचित भएका थिए। लामिछानेले ६ हजार ३०३ मत ल्याएका थिए भने कांग्रेसका प्रसाईले ४ हजार ६५४ मत पाएका थिए।
विहादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका परविन गुरुङ विजयी भएका थिए। निर्वाचित गुरुङले ३ हजार ४६९ मत प्राप्त गरेका थिए। गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओम प्रसाद कुंवर ५३२ मतले पराजित भएका थिए। उनले २ हजार ९३७ मत ल्याएका थिए।
उपाध्यक्षमा नेकपा एमालेकी मिना शर्मा तिवारी निर्वाचित भएकी थिईन्। शर्माले ३ हजार २२७ मत पाएकी थिईन् भने नेकपा माओवादी केन्द्रका सन्त बहादुर गुरुङले ३ हजार ५० मत ल्याएका थिए।
एमालेले जलजला गाउँपालिकाको वडा १,२,३,४,५ महाशिला गाउँपालिकाको १,२,३,४,६,पैयू गाउँपालिकाको २,३,४,५,६, विहादी गाउँपालिका वडा १, फलेवास नगरपालिकाको २,६,७, ८,११,विहादी गाउँपालिका वडा ३,५ मोदी गाउँपालिका वडा१,२,३,७,८ तथा कुश्मा नगरपालिका वडा ३,६,१०,११,१३ मा जित हांसिल गरेको थियो।
त्यस्तै कांग्रेसले पैयू गाउँपालिका वडा १,२ जलजला गाउँपालिका वडा ५ र ८,कुश्मा नगरपालिकाका वडा १,२,४,५,७,८,९,र १४, फलेवास नगरपालिकाको वडा १,३,४,६,९ र १० महाशिला गाउँपालिका वडा ५, विहादी गाउँपालिका वडा २ र ४ मोदी गाउँपालिका वडा ४, ५ र ६ मा विजय प्राप्त गरेको थिए।
त्यस्तै तत्कालीन माओवादी केन्द्रले जलजला गाउँपालिका वडा ७ र ९ तथा कुश्मा नगरपालिका वडा १२ जितेको थियो। विहादी गाउँपालिका वडा ६ भने स्वतन्त्र उम्मेदवारले जितेको वडा हो।