काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप देशैभरी एकै साथ अभियानको रुपमा यही माघ २५ गते देखि फागुन १५ गतेसम्म सञ्चालन गर्न लागेको छ। लुम्बिनी प्रदेशमा भने माघ २५ देखि फागुन ४ गतेसम्म सञ्चालन हुँदैछ।
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग अन्र्तगत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरुबाट कक्षा ६ देखिकक्षा १० सम्म अध्यायन अध्यापन हुने विद्यालयलाई खोप केन्द्रको रुपमा स्थापना गरी निःशुल्क रुपमा राष्ट्रिय खोप अभियान सञ्चालन हुँदैछ।
महिलाहरुमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भविष्यका कर्णधारको रुपमा रहेका बालिकाहरुलाई पूर्ण रुपमा बचाउनका लागि हरेक बाबा आमा दाजुभाई दिदिबहिनी र सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरुको महत्वपूर्ण भूमिका हुन्छ।
भनिन्छ “रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु नै बेस” ठिक त्यसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ। त्यसैले हरेक स्वास्थ्य संस्थाहरुबाट सञ्चालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै संवेदनशील र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रुपमा हेरिएको छ। एच.पि.भी. खोप अभियान २०८२ माघ २५ गते देखि फागुन १५ गते सम्मको अभियानमा सबै सरोकारवालाहरु सहभागी भई सफल बनाउनु हामी सबैको दायित्व र कर्तव्य हुनेछ।
एच.पि.भी. एक प्रकारको भाईरस हो। यसलाई ह्युमन प्यापिलोमा भाईरस भनिन्छ। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो। यो भाईरसको २ सयभन्दा बढी किसिमका प्रजातिहरु हुन्छन्। ती मध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छ। यसमध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन भन्ने कुरा विभिन्न अध्ययनहरुले देखाएको छ।
नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाईन्छ। पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाईरसको संक्रमणबाट हुन्छ। यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ।
एच.पि.भी.खोपको महत्व :
खोप निशुल्क पाईन्छ। खोप सुरक्षित छ। खोपले जीवन रक्षा गर्दछ। खोप ठुलो जनसमुहलाई सुरक्षित गर्ने साधन हो। अहिले एच.पि.भी. खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीहरुलाई दिदैं आईरहेको छ। त्यसैले यसको प्रभावकारिता शतप्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाएको छ।
कक्षा ६ मा अध्ययनरत सबै छात्राहरु र विद्यालय नजाने १० वर्ष उमेर समुहका किशोरीहरुलाई र गत वर्ष एचपिभी अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेरका किशोरीहरुलाई पनि मुख्यतः विद्यालय केन्द्रित खोप केन्द्रबाट एच.पि.भी. खोप दिईदैंछ। पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्यको समस्याको रुपमा नरहने अवस्थामा पुर्याउन नेपाल सरकारले सन् २०३० सम्म तिन वटा स्वास्थ्य सेवाका गन्तव्य निर्धारण गरेको छ।
१. १० देखि १४ वर्ष उमेर भित्रका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने।
२. ३० देखि ४९ वर्ष उमेरका महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ्ग)गर्ने।
३. पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरुको उपचार गर्ने।
एच.पि.भी. खोप खभियान २०८२ देशैभरी एकै साथ सञ्चालन हुने भएपनि विभिन्न स्थानीय तह अनुसार मिति र समय फरक फरक हुने भएकाले आफुलाई पायक पर्ने टोलका विद्यालयमा कहिले चल्दै छ भनेर स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविका, विद्यालय नर्स, विद्यालयका शिक्षक, जनप्रतिनिधि र अन्य सरोकारवालाहरुलाई सोधेर जानाकारी लिऔं। तर अभियानमा कोही नछुटौं।
यो खोप एक मात्रा लगाए पुग्छ। किशोरीहरु महिनावारी भएको बेला पनि यो खोप लगाउन मिल्छ। यसले नियमित हुने महिनावारीलाई कुनै असर गर्दैन। खोप लगाउदैमा महिनावारी छिटो शुरु हुने वा ढिला हुने केही हुँदैन। त्यसैले एच.पि.भी. खोप अभियान चलेको बेलामा केही कारण देखाएर कोही नछुटौं। कोही नदाहोरिऔं।
सरकारबाट अभियानको रुपमा निःशुल्क वितरण गरिएका सबै महत्वपूर्ण खोपहरुलाई प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकारवालाहरु, राज्यका तिनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासनलगायत सबैको आ आफ्नो तहबाट सहयोग र सहकार्यता रहेमा मात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ। सबैले मिलेर यो अभियान सफल पारौं र आफ्ना बालिकाहरुलाई घातक रोगबाट बचाऔं।
(भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)