काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता तथा पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ उम्मेदवार बनेका छन्।
२०७९ को निर्वाचनमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतसँग हार बेहोरेका उनी पुन सोही क्षेत्रबाट उम्मेदवार बनेका हुन्। २०७४ को चुनावमा विजय हासिल गरेर उनी छोटो कार्यकालका लागि स्वास्थ्यमन्त्री बनेका थिए।त्यतिबेला उनी माओवादी र एमाले मिलेर बनेको नेकपाबाट निर्वाचित भएका हुन्। २०७९ को निर्वाचनमा कांग्रेस नेता बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याएका थिए भने तामाङले २७ हजार ४ सय ९३ मत ल्याएका थिए। उनले ११ हजार ८ सय ७४ मतान्तरसहित पराजित हुनुपरेको थियो।
यो पटक उनीसहित कांग्रेसका वंशलाल तामाङ, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल, राप्रपाका गोपीकृष्ण चौलागाईं र रास्वपाका झलककुमार श्रेष्ठ उक्त क्षेत्रबाट निर्वाचनमा होमिएका छन्। अघिल्लो चुनावमा हार बेहोरेपनि स्वास्थ्य, शिक्षा र रोजगारीलाई एजेन्डा बनाएर निर्वाचनमा होमिएकोले यस निर्वाचनमा विजय हासिल गर्ने तामाङले दाबी गर्दै आइरहेका छन्।
उता स्थानीयतहमा सुधारका काम गरेको भन्दै वंशलाल पनि आफूले जित्ने बताइरहेका छन्।
यस्तो छ स्थानीय तह चुनाव तथा समानुपातिकको अंकगणित
प्रतिनिधि सभा निर्वाचन २०७९ मा सिन्धुपाल्चोक २ तर्फ समानुपातिकमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीले २३ हजार ९ सय ९५ मत पाएको थियो भने कांग्रेसले २० हजार ७सय ६, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले १५ हजार ५ सय ५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ६ सय २१ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार १५४ मत ल्याएको देखिन्छ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका, र चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर १, ५, ६, ७, ८ ११, १२, १३ र १४ पर्छ।
कांग्रेसले मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिका जितेको थियो । मेलम्ची प्रमुखमा कांग्रेसका आइतमान तामाङ ११ हजार २५८ मत ल्याएर निर्वाचित भएका थिए । उपप्रमुखमा एमालेकी उमा प्रधानले १० हजार १६४ मत ल्याएर विजयी भएकी थिईन्। नगरपालिकामा कांग्रेस र राप्रपाबीच गठबन्धन भएको थियो।
हेलम्बु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका निमा ग्याजेन शेर्पाले ५३ सय ८६ मत ल्याई विजयी भएका थिए भने उपाध्यक्षमा कांग्रेसकै अप्सरा लम्साल लामिछानेले ५२ सय १४ ल्याई निर्वाचित भएकी थिईन्।
एमालेले पाँचपोखरी थाङपाल गाउँपालिका र इन्द्रावती गाउँपालिका जितेको थियो । पाँचपोखरी थाङपालमा एमालेका टासी लामा पाँच हजार ६०८ र उपाध्यक्षमा एमालेकै सुनिता अधिकारीले पाँच हजार ७२२ मत ल्याएर निर्वाचित भएका थिए। इन्द्रावती गाउँपालिकाको अध्यक्षमा एमालेका झम्कनाथ नेपाल सात हजार १२७ मत ल्याएर विजयी भएका थिए भने उपाध्यक्षमा एमालेकै शोभना तामाङ ६ हजार ५१३ मत ल्याई निर्वाचित भइन्।
त्यस्तै माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिकामा जित हांसिल गरेको थियो । प्रमुखमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर निर्वाचित भएका थिए। उपप्रमुखमा एकीकृत समाजवादीकी सीता थापा नौ हजार ७२६ मत ल्याएर जितेकी थिईन् । त्यतिबेला तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो।
त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको वडा १ मा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका युवलाल श्रेष्ठ ६३० मतसहित विजयी भएका थिए। वडा ५ मा नेकपा एमालेका शिव श्रेष्ठ १ हजार एक सय ८४ मतसहित विजयी भएका थिए। वडा ६ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका हेमबहादुर तामाङ ९ ६८ मतसहित विजय भएका थिए। वडा ७ मा नेपाली कांग्रेसका डम्बरबहादुर तामाङ ९ सय ९७ मतसहित विजयी भएका थिए।
त्यसैगरी वडा नं ८ मा नेपाली कांग्रेसका अमृत बहादुर दङ्गाल ६ सय ८८ मतसहित विजयी भएका थिए। वडा ११ मा नेकपा माओवादीका रोशनराज गिरी ९ सय २ मत ल्याएर विजयी भएका थिए। त्यसैगरी वडा १२ मा नेकपा माओवादीकै दिपेन्द्रप्रसाद नेपाल ९ सय २० मत ल्याएर विजय भएका थिए। त्यसैगरी वडा १३मा पनि माओवादीकै रामप्रसाद गौतम एक हजार १ हजार १५ मत ल्याएर विजय भएका थिए। वडा नम्बर १४ मा भने नेकपा एमालेका उद्धव नेपाल ६ सय ८६ मत ल्याएर विजयी भएका थिए।