आज मार्च २४ तारिख। हरेक वर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ। क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रूपमा उपचारको प्रबन्ध गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ। यस वर्ष पनि “हो! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान” (Yes! We can end TB: Led by Country, Powered by Us) भन्ने मूल नाराका साथ यो दिवस मनाउन गइरहेका छौँ।
क्षयरोग एउटा सङ्क्रामक सरुवा रोग हो। यो माइकोब्याक्टेरियम ट्युबरक्लोसिस (Mycobacterium Tuberculosis) नामक किटाणुको सङ्क्रमणबाट देखा पर्छ। यो रोगको किटाणु २४ मार्च १८८२ मा जर्मन वैज्ञानिक डा. रबर्ट कोक (Dr. Robert Koch) ले पत्ता लगाएका हुन्। साधारण भाषामा यसलाई टिबी लागेको भनेर चिनिन्छ। मुख्य रूपमा फोक्सोमा यो रोग लागे पनि मिर्गौला, हड्डी, लसिका ग्रन्थी, मस्तिष्क र छालालगायत शरीरका विभिन्न भागमा समेत यसले संक्रमण गर्दछ। क्षयरोगलाई सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले संसारकै प्रमुख जनस्वास्थ्य समस्याका रूपमा घोषणा गर्दै यसको नियन्त्रणका लागि नयाँ रणनीति अवलम्बन गर्न जोड दिएको छ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन् २०२४ मा विश्वभर करिब १ करोड ७ लाख मानिसमा टिबीको लक्षण देखिएको थियो भने १० लाख २३ हजार मानिसको टिबीकै कारण मृत्यु भएको छ। प्रत्येक वर्ष झन्डै १०.७ मिलियन मानिसलाई टिबीको संक्रमण हुने र त्यसको झन्डै एक तिहाइ (करिब ३६ लाख ८० हजार) दक्षिण–पूर्वी एसियामा पर्ने प्रतिवेदनले देखाएको छ।
क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०२० को प्रतिवेदन अनुसार नेपालमा प्रतिवर्ष झन्डै ६९ हजार मानिसमा क्षयरोगको संक्रमण हुने गरेको छ भने करिब १७ हजार जनाको ज्यान जाने गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा ३८,७८८ जनामा क्षयरोग पुष्टि भएको छ, जसमा झन्डै ७० प्रतिशत बिरामी सर्ने (फोक्सोको) क्षयरोगका रहेका छन्। उपचार सफलता दर ९२ प्रतिशत छ। नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग नियन्त्रण र सन् २०५० सम्म उन्मूलन गर्ने लक्ष्य लिएको छ।
उल्लेखनीय प्रगतिका बावजुद नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको छ। झन्डै ४० प्रतिशत अनुमानित बिरामी उपचारको दायरामा आउन सकेका छैनन्। औषधि प्रतिरोधी क्षयरोगका बिरामी पनि बढ्दै गएका छन्। स्रोत अभाव र समन्वयको कमी पनि देखिन्छ। यसले कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको संकेत गर्छ।
नेपालमा क्षयरोग कार्यक्रमका मुख्य चुनौती
- ढिलो पहिचान र निदान (Delayed Diagnosis): धेरै बिरामी समयमै स्वास्थ्य संस्थामा नपुग्ने वा प्रारम्भिक लक्षणलाई बेवास्ता गर्ने प्रवृत्ति।
- लुकेका (Missing) बिरामीहरू: दुर्गम क्षेत्र, सहरी गरिब समुदाय, कारागार र सीमावर्ती क्षेत्रमा अझै धेरै बिरामी पहुँचबाहिर छन्।
- बहु-औषधि प्रतिरोधी क्षयरोग (MDR-TB): यस्तो रोगको उपचार लामो, महँगो र जटिल हुन्छ।
- उपचार पालना (Treatment Adherence): लामो उपचारका कारण बिरामीले बीचमै औषधि छोड्ने समस्या।
- स्वास्थ्य सेवा पहुँचमा असमानता: दुर्गम भौगोलिक क्षेत्र र कमजोर पूर्वाधार।
- मानव संसाधन र पूर्वाधारको कमी: स्वास्थ्यकर्मी, प्रयोगशाला र उपकरणको अभाव।
- सामाजिक विभेद (Stigma): बिरामीले रोग लुकाउने वा ढिला उपचार गर्ने।
- सह-रोगहरू (Co-morbidities): एचआईभी/एड्स र मधुमेहले जटिलता बढाउँछन्।
- निजी क्षेत्रसँग समन्वयको अभाव: रिपोर्टिङ र व्यवस्थापन प्रभावकारी छैन।
समस्या समाधानका उपाय
सबैभन्दा पहिले, तीनै तहका सरकारले क्षयरोगलाई प्राथमिक जिम्मेवारीका रूपमा लिनुपर्छ। बिरामी-लक्षित सेवा आवश्यक छ।
परिक्षण प्रणालीलाई समयअनुकूल बनाउनु जरुरी छ। केवल खकार परीक्षणमा सीमित नहुँदै सबै सन्दिग्ध बिरामीका लागि जीन एक्सपर्ट विधिबाट परीक्षण अनिवार्य गर्नुपर्छ। जोखिम समूहमा यसको विस्तार पनि आवश्यक छ।
उपचार प्रणालीमा सुधार आवश्यक छ। डट्स विधि प्रभावकारी रूपमा लागू भएको छ कि छैन भन्ने मूल्याङ्कन गर्नुपर्छ। ग्रामीण क्षेत्रमा “पकेट डट्स” जस्तो अभ्यासलाई सुधार गर्नुपर्छ।
निजी स्वास्थ्य संस्थासँग समन्वय बढाई नियमित रिपोर्टिङ सुनिश्चित गर्नुपर्छ। साथै सामाजिक विभेद अन्त्यका लागि समुदायस्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।
क्षयरोग लाग्ने मुख्य कारण माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणु हो। एड्स भएका, मद्यपान तथा धूमपान गर्ने, कुपोषित बालबालिका र सरसफाइ कमजोर भएका व्यक्तिमा जोखिम बढी हुन्छ।
यो रोग मुख्यतया सासप्रश्वासमार्फत सर्छ। संक्रमितले खोक्दा वा हाच्छिउँ गर्दा निस्केका साना थुकका कण (Droplet nuclei) हावामार्फत अरूको फोक्सोमा पुग्छन्। किटाणु प्रवेश गरेपछि ४–६ हप्तामा लक्षण देखिन सक्छ, तर सबैमा देखिन्छ भन्ने हुँदैन।
लक्षणहरूमा तीन हप्ताभन्दा बढी खोकी, खकारमा रगत, सास फेर्न गाह्रो, छाती दुखाइ, तौल घट्नु, अत्यधिक पसिना र थकान समावेश छन्।
निदानका लागि खकार परीक्षण गरिन्छ, जुन ८०० भन्दा बढी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छ।
उपचार डट्स (Directly Observed Treatment Short Course) विधिबाट गरिन्छ। नियमित औषधि सेवन गरेमा ६–८ महिनामा पूर्ण निको हुन्छ। उपचार सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क पाइन्छ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, धूमपान वा मद्यपान गर्ने तथा औषधि पूरा नखानेमा पुनः संक्रमणको जोखिम हुन्छ।
क्षयरोगबाट बच्न भिडभाडमा मास्क प्रयोग गर्ने, सरसफाइ कायम राख्ने र शंका लागेमा तुरुन्त परीक्षण गराउनु अत्यन्तै आवश्यक छ।