तस्विर : एआई
“डाउटर’साप नमस्ते !”
म आफ्नो कार्यकक्षमा नित्यकर्ममा व्यस्त थिएँ । कसैले मलाई पुकारेजस्तो लाग्यो । पछाडि फर्किएँ । मैलो जाँघे र आसकोटको पहिरनमा, ओठमा सुर्ती च्यापेर एकजना बुढा बा मेरो पछाडि हात जोडेर उभिनुभएको रहेछ । मैले नमस्कार फर्काएँ ।
बुढा बाले मेरो नजिकै आएर भन्नुभयो, “डाउटर’साप, मलाई ज्वरो आ’को छ । सिटामोल दिनुस् न !”
बुढा बाले स्वास्थ्यजस्तो संवेदनशील कुरामा खेलाची गरेको देख्दा मलाई अचम्म लाग्यो । चेकजाँच गर्नु छैन, कति सजिलै औषधि मागेको होला ? आफैँ बिरामी, आफैँ डाक्टर ! अझ औषधि आफैं सिफारिस गर्ने ! मनमनै सोचेँ ।
मैले उहाँलाई चेकजाँच गरिसकेपछि मात्र औषधि दिएँ ।
बुढा बा अलि डराएजस्तो भावमा बोल्नुभयो, “डाउटर’साप, बुढीलाई ज्वरो आउने, खोकी लाग्ने भाको छ । औषधि दिनुस् न । ऊ आउन सउँदिन, त्यही भएर ।”
“कस्तो कुरा गर्नु भाको हजुरले ! चेकै नगरी कसरी औषधि दिने हो र ? आजलाई जानुस् । भोलि चेक गरेर मात्र औषधि चलाउँला ।”
बुढा बा त्यहाँबाट जानुभयो । तर मलाई उहाँको श्रीमतीको अवस्थाले सताइरह्यो । स्वास्थ्य चौकीको ड्युटी सकेपछि कोठामा नपसी म सरासर तिनै बिरामीको घरतर्फ लागेँ ।
घर पुग्ने बाटो निकै अप्ठेरो थियो । हेर्दा लाग्थ्यो, त्यो घरमा मानिस बस्न छाडेको धेरै समय भइसक्यो । वरिपरि डरलाग्दो झाडी । मलाई सर्प भनेपछि सातो जान्थ्यो । तल धारोबाट दश मिनेटको बाटो उक्लिनुपर्ने रहेछ । सास दबाएरै भए पनि डराइ–डराइ उक्लिएँ ।
घरमा पुग्दा सास फुलेर त्यहीँ ढलुँलाजस्तो भयो । पिँढीमा लम्पट परेर सुतेकी बुढी आमालाई वरिपरि कुखुराले घेलिरहेका थिए । आँगन असारमा रोपाइँ गर्न ठीक्क पारिराखेको खेतजस्तो देखिन्थ्यो । पिँढी कुखुराले खोसलेर खाल्टा–खुल्टी बनाएको थियो । माखा मौरीझैँ घुमिरहेका थिए ।
म आमाको नजिकै गएर पिँढीको छेवैमा टुसुक्क बसेँ । बुढी आमा मस्त निदाउनु भएको रहेछ । मलाई देखेर पल्लो घरकी छिमेकी दिदी आउनुभयो । मैले बुढी आमाको बारेमा उहाँसँगै सोधेँ ।
बुढी आमैलाई साँझ परेपछि निकै ज्वरो आउने र खकारमा रगत पनि देखिने समस्या रहेछ । सबै चेकजाँच सकिसकेपछि रिपोर्टमा क्षयरोग देखियो । ती बुढा बालाई बोलाएर औषधि पठाइदिएँ ।
हप्ता दिन बित्यो । शनिबारको दिन थियो । नुहाइधुवाइ सकेर कोठामा बसिराखेको थिएँ । एक्कासी मलाई बुढी आमाको याद आयो । कस्तो भयो होला बुढी आमालाई ? मनमा हुटहुटी जाग्यो ।
दिउँसो पख टहलिँदै तिनै बुढी आमाको घरतर्फ लागेँ । त्यो दिन बुढा बा पनि घरमै हुनुहुँदो रहेछ । बुढी आमालाई चेक गरेँ । व्यथा ज्यूँका त्यूँ थियो । बीसको उन्नाइस पनि भएको थिएन । मलाई शंका लाग्यो—पक्कै पनि बुढा बाले औषधि समयमा खुवाउनु भएन ।
मैले बुढा बालाई समयमै औषधि खुवाउन र डोज पूरा गर्न अनुरोध गरेँ । बुढा बाको पनि आफ्नै पीडा रहेछ । उहाँ सुनाउँदै हुनुहुन्थ्यो,
“के गर्ने डाउटर बाबु, दिउँसो घर बस्न पाइँदैन । ज्याला मजदुरी नगरी हातमुख जोर्ने अरु उपाय छैन ।”
भोलिपल्ट म आफैं घरमा गएर बुढी आमालाई औषधि खुवाउन थालेँ । बुढा बालाई घरमा कहिलेकाहीँ मुस्किलले भेट्न पाइन्थ्यो । भेट्दा उहाँ भन्नुहुन्थ्यो,
“बाबु, सास फेर्ने फुर्सद छैन । गोठभरी डिँया छन् । बिहानभरि यिनैको सुसार गर्यो । दिउँसो मेलापात ।”
मैले उहाँलाई गाईवस्तु अलि कम गरे हुँदैन बुवा भन्थेँ । प्रत्युत्तरमा उहाँले भन्नुहुन्थ्यो,
“खेतबारी धेरै छ । सबैमा बाली लगाउनुपर्छ । मल पनि त चाहियो नि बाबु !”
म दैनिक घरमै गएर औषधि खुवाउन थालेँ । भान्सामा पस्थेँ । खानेकुरा केही पनि देख्दिनथेँ ।
मैले एकदिन बुढा बालाई भेटेर भनें,
“बुवा, आमालाई सकेसम्म पोषिलो खानेकुरा खुवाउनु है । हजुरले ल्याउने गरेको पसलबाट उधारो ल्याउनुस् । बरु म पछि तिरिदिन्छु ।”
मेरो यो कुरा सुनेर बुढा बाले गहभरि आँसु पारेर भन्नुभयो, “बाबु, अहिलेसम्म लाग्या थियो मैले पूर्वजन्ममा कति ठूलो पाप गरेको रहेछु, त्यसको फल अहिले भोग्दैछु । तर होइन रहेछ । कहीँ न कहीँ त मैले पक्कै पनि धर्म गरेको हुनुपर्छ । त्यही भएर भगवानले मलाई अहिले साक्षात् दर्शन दिनुभयो ।”
“कसलाई भगवान भन्नुभयो बुवा ? मलाई ?” मैले प्रतिप्रश्न गरेँ ।
“त्यस्तो होइन नि बाबु... यो त मेरो आफ्नै सामान्य कर्तव्यभित्र पर्छ । एउटा स्वास्थ्यकर्मीको नाताले मैले यतिसम्म पनि गर्न सकिनँ भने मलाई आफ्नै पेशाले धिकार्छ ।”
“बाबु, मलाई मात्रै होइन, हजुरले सबै गाउँलेलाई ऋणी बनाउनुभएको छ । रात–बिरात जतिबेला जहाँ भने पनि बिरामीको सेवामा हाजिर हुने हजुरको सत्गुणको तारिफ नगरी को बस्न सक्छ र ?”
मैले बुवासँग हाँस्दै भनें, “बुवा, म चाहन्छु कि सकेसम्म गाउँमा कोही बिरामी नपरुन् । परे पनि मेरो क्षमताले भ्याउनेभन्दा चर्को व्यथा कसैलाई नलागोस्...”
दिनहरू बित्दै गए । बिस्तारै आमाको स्वास्थ्यमा सुधार आउन थाल्यो । बुढी आमा बिस्ताराबाट उठ्न थाल्नुभयो ।
एकदिन बुढी आमा मलाई भेट्नै भनेर स्वास्थ्य चौकी आउनुभयो ।
“बाबु, म त हजुरलाई धन्यवाद दिन आ’को ।”
उहाँले बाँधी राखेको पटुकीको फेर निकाल्दै भन्नुभयो । बुढी आमाले पटुकीको गाँठो सकी–नसकी खोल्नुभयो । एउटा माला निकालेर मेरो हातमा थमाउँदै भन्नुभयो,
“बाबु, मैले हजुरको गुन त कहिले तिर्न सकुँला र ? मसँग भएको दिन लायक भनेकै यही बुटीको माला हो...”
आमाको अनुरोधलाई मैले नकार्न सकिनँ । म निकै भावुक भएछु क्यारे । कतिबेला आँखाको डिलबाट आँसु खस्यो पत्तै पाइनँ ।
“आमा, मलाई अरु केही चाहिँदैन । मात्र हजुरको आशीर्वाद भए पुग्छ ।”
बुढी आमाले पछ्यौरीको सप्कोले आँसु पुछ्दै भन्नुभयो, “बाबु, जुगजुग जिउनुस् । रोगव्याधीले कहिले नछोओस् । मनले चिताएको पुगोस् ।”
नभन्दै सरकारले कर्मचारी समायोजन गर्यो । बुढी आमाको आशीर्वाद लागेछ क्यारे- मैले निवेदन दिएअनुसार घर नजिकैको गाउँपालिकामा मेरो सरुवा भयो ।