काठमाडौं- काभ्रेको भकुण्डेबेशीस्थित मेथिनकोट प्रादेशिक अस्पतालमा पहिलोपटक अण्डाशयमा ३० सेन्टिमिटरको सिस्ट भएकी एक २२ वर्षीया महिलाले शल्यक्रियामार्फत सफलतापूर्वक बच्चा जन्माएकी छन्। यस्तो जोखिमपूर्ण अवस्थाको केस अस्पतालले सफलतापूर्वक सम्पन्न गरेको यो पहिलोपटक हो।
गाइनोकोलोजिष्ट डा. सरोज कुमार यादवका अनुसार ती महिलालाई सिपालीस्थित एक प्राथमिक स्वास्थ्य केन्द्रले मेथिनकोट अस्पतालमा रेफर गरेको थियो। डेलिभरीका लागि 'लेबर पेन' भइरहेको अवस्थामा ३९ हप्ताकी ती गर्भवतीलाई अस्पताल ल्याइएको थियो। अस्पताल ल्याएपछि भिडियो एक्सरे गर्दा उनको देब्रेतर्फको अण्डाशयमा ३० सेन्टिमिटर ठूलो सिस्ट भएको पत्ता लागेको हो।
सुरुवातमा ख्वप अस्पताल भक्तपुरमा गर्भ परीक्षण गराउँदा नै चिकित्सकले देब्रेतर्फको अण्डाशयमा २०–२२ सेन्टिमिटरको सिस्ट रहेको भन्दै उनलाई परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल (थापाथली) मा रेफर गरेका थिए। तर, उनी २० हप्ताको गर्भ परीक्षणका लागि मात्र प्रसूति गृह पुगेकी थिइन्। त्यतिबेला नै उनको सिस्ट २५ सेन्टिमिटर पुगिसकेको थियो। अस्पतालले फलोअपका लागि बोलाए पनि उनी पुनः प्रसूति गृह नगएको डा. यादवलाई बताएकी थिइन्।
लेबर पेन भएर डेलिभरीका लागि 'पाठेघरको मुख' खुले पनि सिस्टका कारण बच्चा जन्मिन सकेको थिएन। त्यसपछि सिस्टको शल्यक्रिया गरेर सुरक्षित रूपमा डेलिभरी गराइएको डा. यादवले बताए। यसअघि मेथिनकोट अस्पतालमा अन्य शल्यक्रिया हुने गरे पनि यस्तो जोखिमपूर्ण केस भने पहिलोपटक आएको उनको दाबी छ। "मेथिनकोट अस्पतालका लागि यो अनौठो केस हो," डा. यादवले भने, "हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ।" शल्यक्रियाका क्रममा महिलालाई रगत दिन नपरेको समेत उनले जानकारी दिए।
कसरी सम्भव भयो शल्यक्रिया?
गर्भावस्थामा सानोतिनो सिस्ट भएमा सामान्य (नर्मल) डेलिभरी हुनु सम्भव भए पनि यति ठूलो आकारको सिस्ट भएकाले अवस्था जोखिमपूर्ण थियो। शल्यक्रिया गरेर बच्चा निकालिसकेपछि पेटको पानी निकालेर मात्र सिस्ट निकाल्न सम्भव भएको डा. यादवले बताए। यस्तो अवस्थामा गर्भ रहेमा बच्चाको विकास अपेक्षा अनुसार नहुन पनि सक्छ।
अस्पतालमा ब्लड बैंक नभएकाले यस्ता जटिल केसहरू रेफर भएर आउँदा प्राविधिक कठिनाइ हुने गर्छ। डा. सरोज कुमार यादवको नेतृत्वमा डा. कोपिला, डा. सन्तोष, एनेस्थेसियामा राधेश्याम लगायत नर्स तथा अन्य जनशक्तिको सहभागितामा शल्यक्रिया सम्पन्न गरिएको थियो। ब्लड बैंक नहुँदा धुलिखेल तथा बनेपा लगायतका क्षेत्रबाट रगतको व्यवस्थापन गर्नुपर्ने बाध्यता छ। पर्याप्त स्रोत-साधन नहुँदा पनि रेफर भएर आएको केसलाई सफलतापूर्वक सम्पन्न गर्न पाउँदा आफ्नो टिम निकै खुसी भएको डा. यादवले बताए।
अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा दिन थालेको करिब एक वर्ष भएको छ। हाल स्त्री रोग सेवाका लागि अन्यत्र धाउनुपर्ने अवस्था नरहेको चिकित्सकहरूको भनाइ छ।
अण्डाशयमा सिस्ट कस्तो समस्या हो?
अण्डाशयमा सिस्ट भनेको अण्डाशयभित्र वा बाहिर बन्ने पानी वा तरल पदार्थ भरिएको थैली हो। यो महिनावारी हुने महिलाहरूमा सामान्य र अस्थायी हुन सक्छ। प्रायः यो आफैँ निको हुन्छ, तर आकार ठूलो भएमा तल्लो पेट दुख्ने, महिनावारी गडबड हुने र सन्तान उत्पादनमा समस्या जस्ता लक्षण देखिन्छन्।
मुख्य जानकारी र लक्षणहरू:
प्रकार: प्रमुख रूपमा फिजियोलोजिकल (सामान्य), इन्डोमेट्रियोसिस (रगत जमेको/चकलेट सिस्ट) र डर्मोइड सिस्ट हुन्छन्।
लक्षण: तल्लो पेटमा निरन्तर दुखाइ, भारीपन, अनियमित महिनावारी, धेरै रगत बग्नु, यौन सम्पर्कका बेला दुखाइ वा पेट फुल्नु।
कारण: हर्मोनको असन्तुलन, महिनावारी चक्रमा अण्डा नफुट्नु वा इन्डोमेट्रियोसिस।
उपचार: अधिकांश सिस्ट केही महिनामा आफैँ निको हुन्छन्। लक्षण देखिएमा अल्ट्रासाउन्ड जाँच गरी आवश्यकता अनुसार औषधि वा शल्यक्रिया गरिन्छ। यदि अचानक तीव्र पेट दुख्ने, ज्वरो आउने वा बान्ता हुने भएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ।