काठमाडौँ— गौरी बहादुर कार्की संयोजकत्वको आयोगको प्रतिवेदनअनुसार भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा ठूलो संख्यामा गोली लागेका घाइतेहरू विभिन्न अस्पतालमा पुगेपछि स्वास्थ्य प्रणालीमा आपतकालीन अवस्था सिर्जना भएको चिकित्सकहरूले बताएका छन्।
राष्ट्रिय ट्रमा सेन्टर, केएमसी अस्पताल र सिभिल अस्पतालका चिकित्सकहरूका अनुसार प्रारम्भिक अनुमान विपरीत सामान्य लाठीचार्ज नभई व्यापक गोली प्रहार भएको देखिएको थियो। अधिकांश घाइतेको छाती, टाउको, स्पाइनल कर्ड लगायत संवेदनशील अंगमा गोली लागेको थियो।
अस्पतालहरूले तत्काल इमर्जेन्सी घोषणा गर्दै बेड खाली गर्ने, अपरेशन थिएटर तयारी अवस्थामा राख्ने र बिरामीलाई ‘रेड, येलो, ग्रीन’ जोनमा वर्गीकरण गरी उपचार गरेका थिए। चिकित्सकहरूका अनुसार सयौं घाइते उपचारका लागि आएका थिए भने केहीको उपचारकै क्रममा मृत्यु भएको थियो।
घाइतेको चाप, एम्बुलेन्समा अवरोध, उपकरण अभाव र अस्पतालमाथि नै आक्रमणको त्रासका बीच उपचार गर्नुपरेको चिकित्सकहरूले बताएका छन्।
राष्ट्रिय ट्रमा सेन्टर महाबौद्धका डा. रुपेश यादवको कागज ब्यहोराः
भाद्र २३ गते नियमित रुटिनमा काम कारवाही चलिरहेको थियो । म एनेस्थेसियोलोजिस्टको रुपमा काम गर्दछु। हाम्रो काम ३ वटा टिममा बाँडिएर गर्ने गरेका छौं । पहिलो टिमले आईसियु, पोस्ट अप र ईमर्जेन्सी हेर्ने गर्दछ, अर्को टिमले प्रि एनेस्थेटिक केयर युनिट र वार्डहरुको नियमित काम गर्दछ भने तेस्रो युनिटले अप्रेशन थिएटरमा काम गर्दछ । भाद्र २३ गते मेरो डिउटी ‘आईसियु’ मा थियो । उक्त दिनको आन्दोलन बच्चाहरुको भएकोले राज्य कठोर रुपमा प्रस्तुत नहोला, ठुलो सुरक्षा थ्रेट नहोला सामान्य लाठी चार्ज सम्म होला भन्ने आँकलन थियो । ट्रमा अस्पतालमा यस्ता आन्दोलन हुने क्रममा पूर्व तयारी ( मोक ड्रिल लगायत) साथ डिउटी स्टेनबाई रहेको हुन्छ। तर मिडियाबाट गोलीहरु चलेको भन्ने जानकारी पाएपछी हाम्रो अप्रेशन युनिटको नियमित अप्रेशनहरु छिटो सकाई अप्रेशन थिएटर सकेसम्म खाली राख्ने तयारी थालेका थियौं, ताकी कुनै घाईतेहरु आईहालेमा छिटो रेस्पन्स गर्न सकियोस्। त्यसैगरी आईसियु तथा पोष्ट वार्डमा भएका नियमित विरामीहरुलाई पनि सकेसम्म छिटो वार्डमा सिफ्ट गराई ती युनिटहरु पनि खाली गरियो । मेरो एचडियु युनिटमा भएका ४ जना स्टाफहरु तथा अन्य रिजर्व रहेका स्टाफहरु समेतलाई आईसियु तर्फ केन्द्रीत राख्यौं ।
अस्पतालमा डिजास्टर कन्डिसन्सको नेतृत्व सँधै एनेस्थेसियोलोजिस्ट युनिटले गर्ने गर्दछ । तर राष्ट्रीय ट्रमा सेन्ट्ररमा यो युनिटमा काम गर्ने थोरै जनशक्ति जम्मा ११ जना मात्र छौं । लगभग दिनको १३०० बजे तिर गोली लागेका घाईते बच्चाहरु अस्पतालमा आउन थाले । छर्रा सम्म लागेर घाईतेहरु आउलान् भन्ने अपेक्षा विपरीत ठुलो संख्यामा Gun Shot का घाईतेहरु ( जोर्नी, थाई, हिप, स्पाईनल कर्डमा गोली लागेका) अस्पतालमा ओईरिन थाले । त्यसपछी अस्पतालमा स्वास्थ्य ईमर्जेरन्सी घोषणा गरी सबै युनिटका डक्टर तथा नर्सहरु आई घाईतेको उपचारमा संलग्न रह्यौं । त्यसपछी घाईतेको अबस्था अनुसार Yellow, Green, Black, Red Zone मा विभाजित गरी उपचार प्रकृया अगाडि बढाईयो । दिनको करिव १४.०० बजेतिर घाईतेहरुलाई अप्रेशन थिएटरमा रिसिव गरी आन्द्रामा गोली लागेको, जोर्नीमा गोली लागेको, मेन भेसलमा गोली लागको, टाउकोमा गोली लागेको जस्ता केसहरुको करिव ७ वटा केशहरुको अप्रेशन गर्दा रातको करिव २३.०० बजेको थियो ।
भाद्र २४ गते पुनः अस्पताल पुगी अघिल्लो दिनका अप्रेशनका घाईतेहरुको फलो अपमा व्यस्त भईयो। २३ गतेको एकजना घाईतेको खुट्टा समेत काट्नु परेको थियो। २४ गते कोटेश्वर लगायतका स्थानहरुबाट घाईतेहरु आउन थाले, विशेष गरी अन्य अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि समेत ३ जना विरामीहरु आएका थिए । तर थप उपचारको लागि आएका विरामीहरु मध्ये केही त आन्दोलनमा सहभागी नभएका तर कफी पिउँदै गरेको अबस्थामा सर्भाइकल स्पाईनल कर्डमा गोली लागी गम्भिर अबस्थामा पुगेका रहेछन् । तर दोश्रो दिनको घाईतेहरु भने पहिलो दिनको भन्दा फरक विशेष गरी गोली नभई शरीर भरी छर्राहरु लागी उपचारार्थ आएका थिए । धेरै पछि सम्म लगभग तिहार सम्म देशैभरीबाट रेफर भई अस्पतालमा उपचारार्थ आएका छन् । यो घटनामा विशेष गरी १७/१८ वर्षकै वच्चा उमेरकै घाईतेहरु बढी थिए । उपचारको लागि आएका मध्ये २३ गते ३ जना घाईतेहरु तथा २४ गते १ जना घाईतेको मृत्यु भएको हो । भाद्र २३ र २४ गते उपचार नपाई कुनै घाईतेले फर्कनु परेको थिएन । जेन्जी आन्दोलनको क्रममा यस अस्पतालमा उपचार गरिएका घाइतेहरुको विवरण समेत संलग्न राखेको छु ।
के.एम.सि. अस्पताल सिनामंगलका डा. विनिता प्रधानको कागज ब्यहोराः
काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा कार्यरत रहेको छु। हाम्रो केएमसि अस्पतालमा डिजास्टर मेनेजमेन्ट कमिटि रहेको छ, उक्त कमिटिमा चेअरमेन, डाईरेक्टर, सिएमसि, प्रिन्सिपल, एचओडिहरु तथा नर्सिङ विभागबाट मेट्रोन ईन्वार्जहरु र सुपरभाईजरहरु हुनुहुन्छ । भाद्र २३ गते दिनको करिव १३.४५ बजेतिर घटना भएको भन्ने विषयमा मैले फोनमा कुराकानी गरिरहेको अबस्थामै हाम्रो अस्पतालमा घाईतेहरु ल्याउने क्रम शुरु हुन थाल्यो । हामीले ईमर्जेन्सी विभागको सबै १५ वटा बेडलाई Red Area मा परिणत गरी घाईतेहरुको उपचार शुरु गरेका थियौं । डाइरेक्टर मिना थापाको को-अर्डिनेसनमा सर्जिकल, अर्थोपेडिक, एनेस्थेसिया, नर्सिङ टिम लगायतका युनिटहरु समेतलाई संलग्न गराई सो दिनको उपचार विधि अगाडि बढाईएको थियो। अरु बेलाको आन्दोलनमा घाईतेहरु हात खुट्टामा चोट लागि आउने तर उक्त दिनका घाईतेहरुको अवस्थामा छाति र टाउकोमा गोली लागेको थियो । उपचार समय बचाउन फार्मेसीको सबै मेडिसिन भित्रै सिफ्ट गरेर उपचार गरिएको थियो।
४/५ जना मध्ये १ जना डेथ हुनुभयो र अर्को १ जनालाई तुरुन्त आईसियु अपरेशमा सिफ्ट गरियो । १५ वटा बेड एकैछिनमा प्याक भयो । त्यसपछि आएका अन्य विरामीहरुलाई Yellow, Green Area छुट्याई उपचार गराईयो । साँझ १९.३० बजे सम्म घाईतेहरु आए । त्यसपछी भने अन्य अस्तालबाट रेफर भएका घाईतेहरु मात्र आए । रातको करिव २२.०० बजेसम्म डे सिफ्टका डाक्टरहरु र नर्सहरू उपचारमा संलग्न भईयो । २३ गते जम्मा ३७ जना घाईतेहरुलाई रिसिव गरिएको थियो, सो मध्ये २ जनाको (सौरभ कृष्ण श्रेष्ठ र सुबास बोहोरा) सोहि दिन मृत्यु भएको थियो । भोलिपल्ट २४ गते भने छाति र टाउकोमा चोट लागेका घाईतेहरु देखिएन, पेट तिर छर्रा लागेका, Burn केसहरु आएका थिए । भाद्र २३ र २४ गते जम्मा ८३ जना घाईतेहरु हाम्रो अस्पतालमा रिसिभ भएको, हाल सबैजना डिस्चार्ज भएको तर अन्य अस्पतालबाट रेफर भई आएका १ जना (दौलत थापा - सिन्धुपाल्चोक, गोली लागी अचेत अबस्थामा) भने हालसम्म हाईकवरमा उपचारार्थ रहेका छन् । सबै घाईतहरुको निशुल्क उपचार गरियो। हामीले उपचार खर्चको सम्पूर्ण विल स्वास्थ्य मन्त्रालय तथा नगरपालिकामा पेश गरेका छौं, हालसम्म हामीलाई रकम प्राप्त भएको छैन । आन्दोलनको दिन भाद्र २३ गते डाक्टरहरु लगायतलाई रिसिव गर्न अस्पतालबाट गएको एउटा एम्बुलेन्सलाई प्रदर्शनकारीबाट ईमाडोलमा तोडफोड समेत गरियो ।
राज्यले यस्ता डिजास्टर अबस्थामा अस्पतालहरूलाई समेत सर्कुलर गरी स्टेन्वाई राखी घाईतेहरुको उपचार खर्चको ग्यारेण्टी गर्न सक्नु पर्दछ, जसले खर्च अभावमा घाईतले मृत्युको मुखमा जानु नपरोस्। अस्पतालमा पूर्व मन्त्री मो. आफताव आलमको उपचार गरिएकोले प्रदर्शनकारीहरुबाट अस्पताललाई समेत Target गरिएको सुचना आईरहेको, निजलाई बाहिर निकाल्नुहोस् नत्र ठिक हुँदैन भनी धम्की आएकोले अर्को मानसिक तनाव खेप्न परेको थियो ।
सिभिल अस्पताल नयाँ वानेश्वका डा. रमेश पन्तको कागज ब्यहोराः
मेरो NMC नम्बर 6928 हो । २०१२ डिसेम्बरमा सिभिल अस्पताल ज्वाईन् गरेपछि Disaster Plan गरेको हुं। Disaster Plan को Nepal Emergency Operation Centre (NEOC) गृह मन्त्रालयमा रहेको छ, सो सेन्टरमा स्वास्थ्यतर्फ स्वास्थ्य मन्त्रालयमा रहेको Health Emergency Operation Centre (HEOC) ले हेर्दछ, जुन मन्त्रालय छिर्ने बित्तिकै दाहिने पट्टी कन्टेनरबाट सन्चालन हुन्छ। त्यस अन्तर्गत देशभरीमा २५ वटा हब हस्पिटल र हब हस्पिटल वरीपरि नेटवर्कमा सेटलाईट हस्पिटलहरु रहेको छन्, जसलाई हब सेटलाईट नेटवर्क भनीन्छ । काठमाण्डौ उपत्यकाभित्र टिचिङ, आर्मी, विर, पाटन र सिभिल अस्पताललाई हब अस्पताल तोकिएकोछ । सिभिल अस्पतालको सेटलाईट अस्पतालहरु भक्तपुरका सबै, काठमाडौंका के एम सि, भेनस, तिलगंगा, एभरेष्ट अस्पतालहरु हुन्। सेटलाईट अस्पतालहरुको नेटवर्कको बीचमा मिटिङहरु र को-अर्डिनेशन भै रहेको हुन्छ। विपद अबस्थामा काम गर्नको लागि हब र सेटलाईट अस्पतालहरुको भाईवर ग्रुप छ। Zen-G आन्दोलन हुन सक्ने संभावित घटना मेनेज गर्न भाद्र २२ गते अलर्ट बस्नको लागी जानकारी गराएको थिएँ । विपद अबस्थाको लागि Red, Yellow, Green Zone छुट्याईएको हुन्छ । Red अबस्थाको एउटा बिरामी आउँदा Yellow अबस्थाको २, Green अबस्थाको ३ वटाको रेसियोका विरामीहरु अनुमान गरिएको हुन्छ। सोही अनुसार थप सामानहरु (लजेस्टीक) छुट्याएर राखिन्छ । Red Zone लाई Emergency हेड, Yellow Zone लाई Orthopaedic हेड र Green Zone लाई Genealogy हेडले कमाण्ड गर्छ ।
भाद्र २३ गते दिनको करिव १२.१५ बजेबाट घाईते आउन थाले । घाईतेको चापले Green Zone Yellow मा र Yellow जोन Red मा परिणत भयो, Green Area भने सबै लबिहरुलाई तोकियो । त्यसपछी सेटलाईट केएमसि अस्पतालमा डा विनिता जोशी र भक्तपुर अस्पताल समेतमा सम्पर्क गरेर अबस्थाको बारेमा बुझे। हाम्रो अस्पतालमा Neuro Surgery को उपचार नहुने भएको कारणले त्यस्ता बिरामीहरुलाई राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल रेफर गरियो, रेफर गरिएका बिरामीहरुलाई एम्बुलेन्समा राखि मुभ गर्न धेरै बाधा, अवरोधहरु भयो, बल्ल बल्ल लगियो, एम्बुलेन्स तोडफोड गरिएको अबस्थामा फिर्ता भयो । लजिस्टिक सामानहरुको अभाव भयो, अस्पताल बाहिर आगो लागिरहेकोले अस्पतालमै समेत तोडफोड वा आगजनी हुने त्रास हुन थाल्यो, अस्पताल भित्रै पनि अश्रुग्याँसले आँखा पोली रहेकोले मानिसक समस्या समेत खेप्नु प-यो । यस भन्दा अगाडीका आन्दोलनहरुमा लाठी लागेका, लडेका, हात-खुट्टा मर्केका, भाँच्चिएका घाईतेहरु आउने गरेकोमा उक्त दिन भने अधिकांश गोली लागेकै घाईतेहरु रिसिभ आए । भाद्र २३ गते २५२ जना घाईतेहरु उपचारको लागी आएकामा ३ जनाको मृत्यु भयो। Dead Body मर्चरीमा लैजान प्रदर्शनकारीहरुबाट थ्रेट थियो। भाद्र २४ गते विहानै हालका प्र.म. शुशीला कार्की, माननीय डा. तोसिमा कार्की समेत अस्पतालआउनु भएको थियो । दिनको १२.३० देखि गोली लागेका प्रदर्शनकारीहरु र बर्दीमा रहेका घाईते प्रहरीहरु समेत ल्याईयो ।
प्रदर्शनकारी र प्रहरीलाई एकैस्थानमा राखी उपचार गर्दा झन थ्रेट हुने अबस्था रहेकोले प्रहरीको बर्दी खोली अलगै डाइरेक्ट वार्डमा सिफ्ट गरियो। भाद्र २४ गते २१० जना घाईतेहरु उपचारको लागी आएकामा ३ जनाको मृत्यु भयो । बिरामीको चाप र अन्य व्यक्तिहरुको अत्याधिक भिडको कारणले सबै बिरामीहरुको अभिलेख राख सकिएन । ४६२ घाईते मध्ये बेड भर्ना गराई ५० जनाको अपरेशन गरियो, करिव ४०–४२ जना ट्रमा, टिचिङ र पाटन अस्पतालमा रेफर गरियो केही घाईतहरु सामान्य उपचार पश्चात तुरुन्तै बाहिर गएर प्रदर्शनमा सहभागी समेत हुन थाले । सम्पूर्ण उपचार निशुल्क उपचार गराईयो ।