काठमाडौं- मनसुन सुरु भएसँगै नेपालमा डेंगु संक्रमण बढ्ने सम्भावनालाई ध्यानमा राखेर स्वास्थ्यकर्मीहरूले तयारी तीव्र बनाउन थालेका छन्। यस्तै बेला विश्वप्रसिद्ध चिकित्सा जर्नल द ब्रिटिस मेडिकल जर्नल (बीएमजे)मा गत वर्ष प्रकाशित डेंगुको मूल्यांकन र व्यवस्थापनसम्बन्धी लेख पुनः सान्दर्भिक हुन सक्छ।
सन् २०२५ मा प्रकाशित “एसेसमेन्ट एन्ड म्यानेजमेन्ट अफ डेंगु” शीर्षकको यो लेख बीएमजेको प्य्राक्टिस पोइन्टर शृंखलाअन्तर्गत प्रकाशित भएको थियो। विशेष महत्वको कुरा के छ भने लेखका लेखकहरूमध्ये नेपाली चिकित्सकहरू डा. सुदीप अधिकारी, डा. संगीता भुसाल तथा वरिष्ठ चिकित्सक तथा अनुसन्धानकर्ता प्रोफेसर डा बुद्ध बस्न्यात सहभागी छन्। नेपाललगायत डेंगु प्रभावित देशहरूमा काम गरेका चिकित्सकहरूको अनुभव र उपलब्ध वैज्ञानिक प्रमाणका आधारमा तयार गरिएको यो लेख विश्वभरका चिकित्सकहरूका लागि शैक्षिक सामग्रीका रूपमा प्रयोग भइरहेको छ।
डेंगुबारेको यो लेख प्रकाशित भएको एक वर्षभन्दा बढी भइसकेको भए पनि यसका मुख्य सन्देशहरू अहिले पनि उत्तिकै सान्दर्भिक छन्। नेपालमा हरेक वर्ष मनसुनसँगै डेंगुका बिरामी बढ्ने भएकाले रोगको सही मूल्यांकन, उपचार र अनुगमनबारे अद्यावधिक जानकारी आवश्यक रहन्छ।
बीएमजे प्य्राक्टिस पोइन्टर किन महत्वपूर्ण छ?
बीएमजेको प्य्राक्टिस पोइन्टर शृंखला अनुसन्धान नतिजा मात्र प्रस्तुत गर्ने लेखभन्दा फरक प्रकृतिको हुन्छ। यसको उद्देश्य चिकित्सकहरूलाई दैनिक उपचार प्रक्रियामा उपयोगी हुने प्रमाण–आधारित र व्यावहारिक मार्गदर्शन प्रदान गर्नु हो। यस्ता लेखहरू विश्वभरका चिकित्सक, प्रशिक्षार्थी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले निरन्तर चिकित्सा शिक्षाको स्रोतका रूपमा अध्ययन गर्ने गर्छन्।
डेंगुका अधिकांश बिरामी निको हुन्छन् , तर जोखिम चिन्नु आवश्यक
लेखले डेंगु भएका अधिकांश बिरामीहरू सामान्य उपचारबाट निको हुने उल्लेख गरेको छ। तर केही बिरामीमा गम्भीर समस्या विकसित हुन सक्ने भएकाले जोखिम संकेतहरू चिन्नु अत्यन्त महत्वपूर्ण हुन्छ।
विशेषज्ञहरूका अनुसार डेंगुमा ज्वरो घट्न थालेको समयलाई विशेष निगरानीको अवधि मानिन्छ। धेरै मानिसहरू ज्वरो कम भएपछि निको हुँदै गएको ठान्छन्, तर यही समयमा केही बिरामीमा रक्तनलीबाट तरल पदार्थ बाहिरिएर शरीरका विभिन्न भागमा जम्मा हुन थाल्ने (plasma leakage) तथा रक्तचाप घट्ने समस्या देखिन सक्छ। त्यसैले ज्वरो घट्दैमा जोखिम टरिसकेको निष्कर्षमा पुग्न नहुने चिकित्सकहरू बताउँछन्।
लेखमा उल्लेख गरिएका महत्वपूर्ण चेतावनी संकेतहरू यस्ता छन्–
- लगातार बान्ता हुनु
- पेट अत्यधिक दुख्नु वा कोमल हुनु
- गिजा वा नाकबाट रगत बग्नु
- अत्यधिक कमजोरी, बेचैनी वा सुस्तता
- सास फेर्न गाह्रो हुनु
- हातखुट्टा चिसो हुनु
- रक्तचाप घट्नु
- परीक्षणमा हेमाटोक्रिट बढ्दै जानु
यस्ता लक्षण वा संकेत देखिएमा बिरामीलाई नजिकबाट निगरानी गर्न तथा आवश्यक परे अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्छ।
चिकित्सकहरूका लागि महत्वपूर्ण सन्देश
लेखको मुख्य सन्देशमध्ये एक डेंगुको उपचारमा अनावश्यक हस्तक्षेपबाट बच्नु पनि हो।
नेपालसहित धेरै देशमा प्लेटलेट संख्या घट्न थालेपछि बिरामी र परिवार अत्यधिक चिन्तित हुने गर्छन्। तर विशेषज्ञहरूका अनुसार प्लेटलेटको संख्या मात्र हेरेर उपचारको निर्णय गर्नु उचित हुँदैन। बिरामीको समग्र अवस्था, रक्तस्रावको जोखिम तथा अन्य क्लिनिकल संकेतहरू बढी महत्वपूर्ण हुन्छन्।
त्यसैगरी, रक्तस्राव नभएको वा विशेष चिकित्सकीय आवश्यकता नभएको अवस्थामा केवल प्लेटलेट संख्या कम भएकै आधारमा प्लेटलेट चढाउन सिफारिस गरिएको छैन।
लेखले चिकित्सकहरूलाई निम्न अभ्यासहरूमा सावधानी अपनाउन सुझाव दिएको छ–
- प्लेटलेट संख्या मात्रका आधारमा उपचार निर्णय नगर्ने
- अनावश्यक प्लेटलेट ट्रान्सफ्युजन नगर्ने
- आवश्यकता भन्दा बढी सलाइन वा तरल पदार्थ नदिने
- स्पष्ट संकेत नभएसम्म एन्टिबायोटिक प्रयोग नगर्ने
- नियमित उपचारका रूपमा स्टेरोइड प्रयोग नगर्ने
विशेषगरी तरल पदार्थ व्यवस्थापन डेंगु उपचारको महत्वपूर्ण पक्ष मानिन्छ। आवश्यकताभन्दा कम तरल पदार्थ दिँदा रक्तचाप घट्ने जोखिम हुन सक्छ भने अत्यधिक तरल पदार्थ दिँदा फोक्सो वा शरीरका अन्य भागमा पानी जम्ने समस्या निम्तिन सक्छ। त्यसैले बिरामीको अवस्थाअनुसार तरल पदार्थको मात्रा सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने लेखमा जोड दिइएको छ।
सर्वसाधारणले के जान्नुपर्छ?
डेंगुको कुनै विशेष एन्टिभाइरल औषधि उपलब्ध छैन। उपचार मुख्यतः लक्षणअनुसार गरिन्छ।
चिकित्सकहरू ज्वरो आएको अवस्थामा पर्याप्त आराम गर्ने, पानी तथा झोल पदार्थ प्रशस्त खाने, चिकित्सकको सल्लाहअनुसार परीक्षण गराउने र चेतावनी संकेतहरूमा ध्यान दिन सुझाव दिन्छन्।
ज्वरो र शरीर दुखाइ कम गर्न प्यारासिटामोल सामान्यतः सुरक्षित मानिन्छ।
तर डेंगुको शंका भएको अवस्थामा चिकित्सकको सल्लाहबिना निम्न औषधिहरू सेवन गर्न नहुने लेखमा उल्लेख गरिएको छ–
- आइबुप्रोफेन
- डाइक्लोफेनाक
- नाप्रोक्सेन
- एस्पिरिन
यी औषधिहरूले रक्तस्रावको जोखिम बढाउन सक्ने भएकाले सावधानी आवश्यक हुन्छ।
त्यस्तै, प्लेटलेट संख्या घट्दै गयो भन्दैमा आत्तिनुपर्ने वा आफैं प्लेटलेट चढाउन खोज्नुपर्ने अवस्था प्रायः हुँदैन। उपचारको निर्णय चिकित्सकले बिरामीको समग्र अवस्थाका आधारमा गर्ने गर्छन्।
नेपालका लागि किन महत्वपूर्ण?
पछिल्ला वर्षहरूमा डेंगु नेपालका अधिकांश जिल्लामा फैलिएको छ। एक समय तराई क्षेत्रमा सीमित रहेको संक्रमण अहिले काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरूमा पनि नियमित रूपमा देखिन थालेको छ। जलवायु परिवर्तन, शहरीकरण र लामखुट्टेको विस्तारले आगामी वर्षहरूमा पनि डेंगुलाई सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा कायम राख्ने सम्भावना देखिएको छ।
यस्तो अवस्थामा नेपाली चिकित्सकहरूको सहभागितामा तयार भएको बीएमजेको यो लेख नेपालका चिकित्सकहरूका लागि मात्र होइन, डेंगु प्रभावित अन्य देशहरूका स्वास्थ्यकर्मीहरूका लागि पनि उपयोगी सन्दर्भ सामग्री बनेको छ। यसले डेंगुको मूल्यांकन र व्यवस्थापनबारे प्रमाण–आधारित तथा व्यावहारिक सन्देशहरू सरल भाषामा प्रस्तुत गरेको छ।
मनसुनसँगै डेंगु सिजन सुरु हुने तयारी भइरहेका बेला यो लेखले चिकित्सक र सर्वसाधारण दुवैलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ (डेंगुको व्यवस्थापनमा सही जानकारी, जोखिम संकेतहरूको समयमै पहिचान तथा प्रमाण)आधारित उपचार नै सबैभन्दा प्रभावकारी उपाय हो।'