नेपालमा स्वास्थ्य सेवाको चर्चा हुँदा प्रायः रोगको निदान, औषधि वा शल्यक्रियामा मात्र केन्द्रित हुने गरिन्छ। तर एउटा महत्त्वपूर्ण प्रश्न प्रायः छुट्ने गरेको छ: रोगको निदान, तथा औषधि वा शल्यक्रियाको क्रममा बिरामीको जीवन कस्तो हुन्छ? के उनी फेरि हिँड्न सक्छन्? काममा फर्किन सक्छन्? विद्यालय जान सक्छन्? परिवारको जिम्मेवारी वहन गर्न सक्छन्?
यिनै प्रश्नहरूको उत्तर खोज्ने चिकित्सा विशेषज्ञता हो- फिजिकल मेडिसिन र पुनर्स्थापना (PM&R) अथवा भौतिक र पुनर्स्थापना चिकित्सा वा फिजियाट्री।
विश्व स्वास्थ्य संगठनले पछिल्ला वर्षहरूमा पुनर्स्थापनालाई स्वास्थ्य सेवाको एउटा वैकल्पिक वा अन्तिम चरणको सेवा नभई स्वास्थ्य सेवाको आधारभूत स्तम्भका रूपमा परिभाषित गरेको छ। आज पुनर्स्थापना सेवा जन्मदेखि वृद्धावस्थासम्म, रोगको सुरुदेखि दीर्घकालीन अवस्थासम्म, र अस्पतालदेखि समुदायसम्म आवश्यक मानिन्छ।
युद्धभूमिबाट सुरु भएको आधुनिक पुनर्स्थापना चिकित्सा
आधुनिक PM&R को विकास विशेष गरी प्रथम र दोस्रो विश्वयुद्धपछि भएको हो। युद्धमा घाइते भएका सैनिकहरूलाई केवल बाँच्नु मात्र पर्याप्त थिएन, उनीहरूलाई पुनः समाजमा सक्रिय जीवनमा फर्काउनु आवश्यक थियो।
यसै क्रममा अमेरिकी चिकित्सक डा. हावर्ड रस्कले पुनर्स्थापनालाई आधुनिक चिकित्सा प्रणालीको अभिन्न अङ्गका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान दिए। आज उहाँलाई आधुनिक पुनर्स्थापना चिकित्साको पिता मानिन्छ। त्यसयता पुनर्स्थापना चिकित्सा विश्वभर एक स्वतन्त्र र प्रतिष्ठित चिकित्सा विशेषज्ञताका रूपमा विकसित भएको छ।
सन् १९२८ (Temple University): आधुनिक 'फिजिकल मेडिसिन' का पिता मानिने डा. फ्रान्क क्रुसेनले अमेरिकाको टेम्पल युनिभर्सिटीमा पहिलो पटक भौतिक उपचार सम्बन्धी छुट्टै विभाग स्थापना गरे। यसरी नै, पुनर्स्थापना चिकित्सा (Rehabilitation Medicine) र भौतिक चिकित्सा (Physical Medicine) लाई एकीकृत गरी संयुक्त रूपमा 'भौतिक चिकित्सा तथा पुनर्स्थापना' (Physical Medicine and Rehabilitation) चिकित्सा विशेषज्ञताको सुरुवात भयो।
सन् १९३६ (Mayo Clinic): डा. क्रुसेनले नै विश्वप्रसिद्ध मायो क्लिनिकमा चिकित्सा जगतकै पहिलो आधिकारिक फिजियाट्री वा 'भौतिक चिकित्सा तथा पुनर्स्थापना' रेजिडेन्सी तालिम कार्यक्रमको सुरुवात गरे, जहाँ उनले पहिलो पटक "Physiatrist" शब्द प्रयोग गरे।
सन् १९४२ (U.S. Army Air Forces): दोस्रो विश्वयुद्धको चरम अवस्थामा डा. हावर्ड रस्कले अमेरिकी सेनाको एयर फोर्सेस अस्पतालहरूमा घाइते सैनिकहरूलाई लक्षित गरी पहिलो पटक व्यापक पुनर्स्थापना कार्यक्रम (Convalescent Training Program) को थालनी गरे।
सन् १९४७ (Official Specialty Recognition): यो विधालाई औपचारिक चिकित्सा विशेषज्ञताको रूपमा स्थापित गर्न अमेरिकन बोर्ड अफ फिजिकल मेडिसिन (American Board of Physical Medicine) को स्थापना गरियो, जसमा सन् १९४९ मा आधिकारिक रूपमा 'रिह्याबिलिटेसन' (Rehabilitation) शब्द थपियो।
सन् १९५० (New York University - NYU): डा. हावर्ड रस्कले न्यूयोर्क युनिभर्सिटी मेडिकल सेन्टर अन्तर्गत नागरिकहरूका लागि विश्वकै पहिलो पूर्ण पुनर्स्थापना केन्द्र (जसलाई अहिले Rusk Rehabilitation Institute भनिन्छ) स्थापना गरी आधुनिक होलिस्टिक पुनर्स्थापना मोडेलको जग बसाले।
फिजियाट्रिस्ट को हुन्?
PM&R मा विशेषज्ञता हासिल गरेका चिकित्सकलाई फिजियाट्रिस्ट भनिन्छ। फिजियाट्रिस्टहरू एमबीबीएसपछि पुनर्स्थापना चिकित्सामा एमडी वा सो सरहको उच्च विशेषज्ञता (Fellowship in PM&R after MD) प्राप्त गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका हुन्छन्। उनीहरूले स्नायु प्रणाली, मेरुदण्ड, मांसपेशी, जोर्नी, दीर्घकालीन पीडा, अपाङ्गता तथा कार्यक्षमता सम्बन्धी समस्याहरूको समग्र मूल्याङ्कन र व्यवस्थापन गर्छन्। उनीहरूको मुख्य उद्देश्य रोगको नाम मात्र हेर्नु होइन, रोगले व्यक्तिको दैनिक जीवनमा पारेको प्रभाव बुझ्नु र त्यसलाई सुधार्नु हो।
"फिजिएट्रिस्ट (PM&R विशेषज्ञ) ती विशेषज्ञ चिकित्सक हुन्, जसले बिरामीको समग्र मूल्याङ्कन (Comprehensive medical, pathological and functional) गरी अन्तर्निहित रोग वा चोट (Underlying pathology) को चिकित्सकीय निदान गर्छन्, खतराका सङ्केतहरू तथा प्रतिकूलताहरू (Red flags/Contraindications) पहिचान गर्छन्, र अन्य सम्बद्ध जटिलताहरू (Comorbidities) लाई औषधोपचार मार्फत व्यवस्थापन गर्छन्। साथै, उनीहरूले औषधि, परीक्षण, इन्जेक्सन, सहयोगी उपकरणको प्रेस्क्रिप्सन, व्यायामको सीमा, सुरक्षाका मापदण्ड र पुनर्स्थापनाको लक्ष्य (Exercise and Modality Prescription) तय गर्दै पुनर्स्थापना योजनाको विशिष्ट चिकित्सा मापदण्ड (Medical parameters) निर्धारण गर्छन् (जस्तै: 'कोर स्टेबिलाइजेसनलाई लक्षित गर्ने, मेरुदण्डलाई ३० डिग्रीभन्दा बढी ननिहुराउने, वा मुटुको धड्कन प्रति मिनेट १२० भन्दा कम राख्ने, इलेक्ट्रिकल स्टिमुलेसन प्रयोग नगर्ने') र सम्पूर्ण चिकित्सा पुनर्स्थापना व्यवस्थापनको नेतृत्व गर्छन्।"
फिजियाट्रिस्ट र फिजियोथेरापिस्ट एउटै होइनन्
नेपालमा सबैभन्दा बढी भ्रम यही विषयमा देखिन्छ। फिजियाट्रिस्ट र फिजियोथेरापिस्ट दुवै पुनर्स्थापना टोलीका महत्त्वपूर्ण सदस्य हुन्, तर उनीहरूको भूमिका र शैक्षिक पृष्ठभूमि फरक छ:
फिजियाट्रिस्ट: विशेषज्ञ चिकित्सक हुन्, जसले रोगको निदान, औषधि, परीक्षण, इन्जेक्सन, पुनर्स्थापना योजना तथा सम्पूर्ण चिकित्सा व्यवस्थापन गर्छन्।
फिजियोथेरापिस्ट: पुनर्स्थापनाको महत्त्वपूर्ण विशेषज्ञ सेवा हो, जसले व्यायाम, गतिशीलता, सन्तुलन, मांसपेशी बल तथा कार्यक्षमता सुधारमा काम गर्छ।
त्यसैले यी दुई पेसा प्रतिस्पर्धी होइनन्, एकअर्काका पूरक हुन्।
अन्तर्राष्ट्रिय मापदण्ड र फिजियाट्रिस्टका मुख्य दक्षताहरू
नेपालमा फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (PM&R) मा फेलोसिप कार्यक्रम युनिभर्सिटी अफ ब्रिटिश कोलम्बिया (क्यानडा), स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर (SIRC) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा सुरुवात गरिएको हो। विश्वकै प्रतिष्ठित चिकित्सा संस्थाहरू, जस्तै Medical College of Wisconsin को सन् २०२६ को आवासीय चिकित्सक मूल्याङ्कन मापदण्ड र अमेरिकन एकेडेमी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (AAPM&R) ले निर्धारण गरेको फिजियाट्रीको व्यावसायिक कार्यक्षेत्रलाई हेर्ने हो भने एक सक्षम फिजियाट्रिस्टमा चिकित्सा ज्ञान मात्र नभई बहुआयामिक सीप र मानवकेन्द्रित गुणहरू अपेक्षित हुन्छन्। ती प्रमुख दक्षताहरूलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ:
१. बिरामीको हेरचाह र प्राविधिक सीप
बिरामीको समग्र मूल्याङ्कन (Comprehensive medical, pathological and functional): बिरामीको दैनिक जीवनमा न्यूरो–मस्कुलो–स्केलेटल रोगले पारेको प्रभाव र उसको शारीरिक क्षमताको विस्तृत र वैज्ञानिक मूल्याङ्कन र निदान गर्ने।
दीर्घकालीन दुखाइ व्यवस्थापन तथा इन्टरभेन्सन (Chronic Pain Management and Intervention): कम्मर, घाँटी, जोर्नी वा नसाको पुरानो दुखाइबाट ग्रसित बिरामीहरूको बिना-शल्यक्रिया उपचार गर्ने। यस अन्तर्गत दुखाइको स्रोत पत्ता लगाउन र त्यसलाई निको पार्न विभिन्न उपचारात्मक तथा निदानात्मक प्रविधिहरू (invasive and non-invasive modalities), सुई प्रविधिहरू (Therapeutic and Diagnostic Injections) जस्ता आधुनिक इन्टरभेन्सन विधिहरू प्रयोग गरिन्छ।
व्यायाम तथा उपचार योजना (Exercise and Modality Prescription): वैज्ञानिक आधारमा बिरामीको अवस्था सुहाउँदो व्यक्तिगत पुनर्स्थापना कार्यक्रम (Rehab Protocol) तयार गर्ने।
इलेक्ट्रोडायग्नोसिस (Electrodiagnosis): EMG (Electromyography) तथा Nerve Conduction Study मार्फत जटिल स्नायु र मांसपेशी सम्बन्धी रोगहरूको निदान गर्ने।
निदानात्मक र इन्टरभेन्सनल मस्कुलोस्केलेटल अल्ट्रासाउन्ड।
सहायक उपकरणको सिफारिस: ह्विलचेयर, कृत्रिम अङ्ग (Prosthesis), सहयोगी साधन (Orthosis), वाकर (Walker) तथा लौरो (Cane) जस्ता उपकरणहरूको सही छनोट र व्यवस्थापन।
२. चिकित्सा ज्ञान र क्लिनिकल निर्णय
उत्कृष्ट क्लिनिकल निर्णय क्षमता र जटिल मेडिकल डाटाहरूलाई एकीकृत गरी व्यावहारिक पुनर्स्थापना लक्ष्य निर्धारण गर्ने क्षमता।
प्रमाणमा आधारित चिकित्सा (Evidence-Based Medicine) को प्रयोग र अनुसन्धान तथा शिक्षण क्षमताको विकास।
३. व्यावसायिकता र मानवीय गुणहरू
मानवीय गुण (Humanistic Qualities): बिरामीसँग सधैँ समानुभूतिपूर्ण र नैतिक सम्बन्ध स्थापना गर्ने। बिरामीको उमेर, संस्कृति, अपाङ्गता, जातजाति र लैङ्गिकताको सम्मान गर्दै बिना भेदभाव सेवा प्रदान गर्ने र बिरामीको गोपनीयता (Patient Confidentiality) को पूर्ण रक्षा गर्ने।
सञ्चार सीप (Interpersonal & Communication Skills): बिरामी, उनीहरूका परिवार र अन्य स्वास्थ्यकर्मीहरूसँग स्पष्ट, सही र सुमधुर सञ्चार गर्ने।
४. प्रणालीमा आधारित अभ्यास
स्वास्थ्य प्रणालीको समग्र बुझाइ राख्दै स्वास्थ्य सेवाका फाइदा, जोखिम र लागतको मूल्याङ्कन गरी बिरामीको हितमा काम गर्ने क्षमता।
नेपालमा भौतिक र पुनर्स्थापना चिकित्सा (PM&R) वा फिजियाट्री किन अपरिहार्य छ?
नेपालमा सडक दुर्घटना, पक्षघात (Stroke), मेरुदण्डको चोट (Spinal Cord Injury), मस्तिष्कको चोट (Brain Injury), वृद्धावस्थाका समस्या, न्यूरो–मस्कुलो–स्केलेटल रोगहरू, मधुमेह, क्यान्सर तथा अन्य दीर्घकालीन रोगहरूको संख्या द्रुत गतिमा बढिरहेको छ। यीमध्ये धेरै बिरामीहरू आधुनिक आकस्मिक चिकित्साका कारण जीवित त रहन्छन्, तर आफ्नो साविकको कार्यक्षमता गुमाउँछन्।
विशेष गरी निम्न अवस्थाहरूमा पुनर्स्थापना चिकित्सा अपरिहार्य बन्न पुग्छ:
न्यूरो–मस्कुलो–स्केलेटल रोगहरू, कम्मर, घाँटी तथा जोर्नीको दुखाइ तथा खेलकुदजन्य चोटपटक।
पक्षघातपछि हातखुट्टा नचल्ने वा बोली लरबरिने अवस्था।
मेरुदण्डको चोटपछि जीवनभर ह्वीलचेयरमा निर्भर हुनुपर्ने बाध्यता।
दुर्घटना वा रोगका कारण अङ्ग विच्छेदन (Amputation) भएका बिरामी।
घुँडा वा हिप प्रत्यारोपण, अंग प्रत्यारोपणपछि हिँड्न हुने कठिनाइ।
सेरेब्रल पाल्सी र पार्किन्सन जस्ता रोग भएका बिरामीहरू।
दैनिक जीवनलाई नै प्रभावित पार्ने दीर्घकालीन रोग, दीर्घकालीन दुखाइ, क्यान्सर।
पुनर्स्थापना: एउटा बहुविषयगत टोलीगत सेवा
आधुनिक पुनर्स्थापना चिकित्सा कुनै एक व्यक्ति वा एक विधाले मात्र दिने सेवा होइन। यो एउटा संगठित टोलीगत प्रयास हो, जसको नेतृत्व फिजियाट्रिस्ट (PMR Physician) ले गर्छन् र यस टोलीमा निम्न विशेषज्ञहरू सामेल हुन्छन्:
Related Specialist: उदाहरणका लागि हाडजोर्नी तथा अस्थि शल्य चिकित्सक, स्नायु रोग विशेषज्ञ, न्युरोसर्जन
फिजियोथेरापिस्ट
अकुपेसनल थेरापिस्ट
प्रोस्थेटिस्ट एन्ड अर्थोटिस्ट
रिह्याबिलिटेसन नर्स
क्लिनिकल साइकोलोजिस्ट
स्पीच एन्ड ल्याङ्ग्वेज थेरापिस्ट
मेडिकल सोशल वर्कर
यस टोलीका साझा र एकमात्र उद्देश्य बिरामीको गुमेको कार्यक्षमता फर्काउनु, उसलाई आत्मनिर्भर बनाउनु र उसको जीवनस्तरमा सुधार ल्याउनु हो।
नेपालको नीतिगत संरचना त्रुटि, गुणस्तरीय सेवामा वञ्चितता र आगामी अवसरहरू
नेपालको स्वास्थ्य नीतिमा रहेका गम्भीर विचलन र फितलो कार्यान्वयनका कारण देशका लाखौँ स्नायु, मांसपेशी तथा हाडजोर्नी सम्बन्धी रोग र कार्यक्षमतामा ह्रास (प्रकार्यात्मक कमजोरी) भएका व्यक्तिहरू, अपाङ्गता भएका व्यक्तिहरू, वृद्ध नागरिकहरू र दुर्घटनाका घाइतेहरू अझै पनि गुणस्तरीय पुनर्स्थापना सेवा पाउनबाट पूर्ण रूपमा वञ्चित छन्।
उदाहरणका लागि, 'अपाङ्गता व्यवस्थापन नीति, रणनीति तथा १० वर्षे कार्ययोजना (२०७३–२०८२, दोस्रो संस्करण)' ले पुनर्स्थापनालाई बहुआयामिक र टोलीगत सेवाका रूपमा परिभाषित गर्दै फिजियाट्रिस्टसहितको विशेषज्ञ जनशक्ति विकास गर्ने स्पष्ट लक्ष्य राखेको थियो। तर, ठोस संरचनात्मक खाकाको अभावमा यो नीतिगत लक्ष्य कागजमै खुम्चियो।
यद्यपि, जनस्वास्थ्य सेवा नियमावली, २०७७ ले Physical Medicine and Rehabilitation (PM&R) लाई “विशिष्टीकृत सेवा” अन्तर्गत समावेश गरेको छ, तर यसलाई व्यवहारमा उतार्न आवश्यक पर्ने विशेषज्ञ जनशक्ति र सेवाको स्तर अझै पनि नीतिगत रूपमा स्पष्ट रूपमा परिभाषित गरिएको छैन, जसले गर्दा बिरामीहरूले पाउने केयरको गुणस्तर गम्भीर रूपमा प्रभावित भएको छ।
यसका बाबजुद, वर्तमान समयमा यो नीतिगत अस्पष्टता र सेवाको अभावलाई चिर्दै स्वास्थ्य प्रणाली सुधार गर्ने एउटा ठूलो अवसर सिर्जना भएको छ। नेपाल सरकारको नीति तथा कार्यक्रम २०८३ को बुँदा नं. ५८ मा अत्याधुनिक अपाङ्गता पुनर्स्थापना केन्द्र स्थापना गर्ने विषय समावेश हुनु अत्यन्त सकारात्मक, दूरगामी र स्वागतयोग्य कदम हो। यो अवसरलाई परिणाममुखी बनाउन अब ढिला नगरी नीतिगत स्पष्टता ल्याउन आवश्यक छ। यदि अहिले नै पुनर्स्थापनाको भौतिक संरचना, विशेषज्ञ जनशक्तिको दरबन्दी र सेवाको स्तरलाई नीतिगत रूपमै स्पष्ट रूपमा किटान गर्ने हो भने, वर्षौँदेखि गुणस्तरीय सेवाबाट वञ्चित नेपाली नागरिकहरूले उचित र मर्यादित स्वास्थ्य सेवा पाउने ऐतिहासिक अवसर प्राप्त हुनेछ।
अबको बाटो
नेपालमा पुनर्स्थापनाको आवश्यकता तीव्र रूपमा बढिरहेको छ, तर विशेषज्ञ जनशक्ति, समर्पित अस्पताल, प्रशिक्षण कार्यक्रम तथा नीतिगत संरचना अझै अपर्याप्त छन्। अबको हाम्रो राष्ट्रिय प्राथमिकता निम्न क्षेत्रमा हुनुपर्छ:
प्रत्येक प्रदेशमा कम्तिमा एउटा विशिष्टीकृत पुनर्स्थापना केन्द्रको स्थापना गर्ने।
देश भित्रै PM&R विशेषज्ञ (Physiatrists) उत्पादन गर्ने शैक्षिक कार्यक्रमहरूमा MD (PM&R) वृद्धि गर्ने।
फिजियोथेरापी, अकुपेसनल थेरापी, P&O तथा रिह्याबिलिटेसन नर्सिङको क्लिनिकल संरचनालाई सुदृढ गर्ने।
पुनर्स्थापना सेवालाई केवल केन्द्रीय अस्पतालमा सीमित नराखी समुदायस्तरसम्म विस्तार गर्ने।
राष्ट्रिय स्वास्थ्य नीतिमा पुनर्स्थापनाको स्पष्ट परिभाषा र स्थान सुनिश्चित गर्ने।
निष्कर्ष
रोग निको हुनु मात्र उपचारको अन्तिम लक्ष्य होइन। बिरामी परेको व्यक्तिलाई पुनः हिँड्न, काम गर्न, पढ्न, परिवारमा आफ्नो भूमिका निर्वाह गर्न र समाजमा सम्मानपूर्वक जीवनयापन गर्न सक्षम बनाउनु नै स्वास्थ्य सेवाको वास्तविक सफलता हो।
त्यसैले पुनर्स्थापना चिकित्सा कुनै विलासिता वा अतिरिक्त सेवा होइन; यो आधुनिक स्वास्थ्य सेवाको अनिवार्य र अपरिहार्य हिस्सा हो। नेपालले यदि साँच्चै नै समावेशी, पहुँचयोग्य र मानवकेन्द्रित स्वास्थ्य प्रणाली निर्माण गर्ने लक्ष्य राखेको छ भने, Physical Medicine and Rehabilitation (PM&R) तथा समग्र पुनर्स्थापना सेवाको विकास अब विकल्प होइन, टड्कारो आवश्यकता हो।
लेखकहरू:
डा. राजु ढकाल, एमडी (MD) पीएमआर (PMR) विशेषज्ञ, मेडिकल डाइरेक्टर - स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर (SIRC) एवं प्रोग्राम डाइरेक्टर (FPMR), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS)
डा. महेश पौडेल, एमडी (MD), फेलो ट्रेनी (Fellow trainee)- फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (PM&R), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS) (Scholarship supported by University of British Columbia, Canada)