केही दिनअघि स्वास्थ्य परीक्षणको सिलसिलामा पलाँता अस्पताल, कालिकोट पुगेको थिए । त्यहाँ कार्यरत डा. अलि हैदार रैनसँग भेट भयो। करिब एक वर्षअघि सुनसरीबाट कर्णाली आएर यहाँका नागरिकलाई सेवा दिइरहनुभएका उहाँमाथि भएको हातपात र अस्पतालमा गरिएको तोडफोडको घटना सुन्नासाथ मन भारी भयो। अर्को बिहान स्थानीय जनप्रतिनिधिसँग अस्पताल पुग्दा देखिएको दृश्यले झन् धेरै प्रश्नहरू जन्मायो।
अस्पतालको मुख्य ढोका फुटाइएको थियो। भिडियो एक्स–रे मेसिनसहित विभिन्न स्वास्थ्य उपकरणहरू क्षतिग्रस्त थिए। औषधिहरू छरपस्ट थिए। सीमित स्रोतसाधनका बीच सञ्चालन भइरहेको एउटा ग्रामीण अस्पताल यसरी क्षतविक्षत बनाइएको दृश्यले केवल भौतिक क्षति मात्र होइन, समाजको चेतनामा लागेको घाउ पनि देखाइरहेको थियो।
प्राप्त जानकारीअनुसार अस्पतालको वाइफाइ प्रयोग गरेर भिडियो गेम खेल्दै होहल्ला गरिरहेका केही युवालाई डा. अलि हैदारले अस्पतालभित्र यस्तो गतिविधि नगर्न अनुरोध गर्नुभएको थियो। सामान्य सम्झाइबुझाइको विषय विवादमा परिणत भयो। त्यसपछि उहाँसहित स्वास्थ्यकर्मीमाथि हातपात भयो र साँझ पुनः केही व्यक्तिहरूको समूहले अस्पतालमा तोडफोड गर्यो।
घटनापछि सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूले अर्को चिन्ताको विषय उजागर गरिदिए। केही व्यक्तिको गैरजिम्मेवार व्यवहारलाई आधार बनाएर सिंगो कालिकोट र कर्णालीमाथि अपमानजनक टिप्पणी गरियो। 'यस्ता ठाउँमा अस्पताल किन चाहियो?', 'डाक्टर पठाएर के हुन्छ?', 'यस्ता ठाउँमा सेवा पच्दैन' जस्ता अभिव्यक्तिहरूले घटनाको वास्तविक दोषीभन्दा बढी एउटा भौगोलिक क्षेत्र र त्यहाँका नागरिकलाई कठघरामा उभ्याउने प्रयास गरे।
केही व्यक्तिको गल्तीलाई आधार बनाएर सम्पूर्ण समाजको चरित्र चित्रण गर्नु न त न्यायसंगत हुन्छ, न त जिम्मेवार। संसारका विकसित भनिएका शहरहरूमा पनि स्वास्थ्य संस्था, विद्यालय वा सार्वजनिक सम्पत्तिमाथि आक्रमण हुने गरेका छन्। तर त्यस्ता घटनाका आधारमा सिंगो शहर वा समुदायलाई असभ्य घोषणा गरिँदैन। दोषी व्यक्ति पहिचान गरिन्छ, अनुसन्धान हुन्छ र कानुनअनुसार कारबाही गरिन्छ। यही मापदण्ड कालिकोटका हकमा पनि लागू हुनुपर्छ।
घटनापछि अस्पतालको वातावरण अझै सामान्य भइसकेको थिएन। त्यही समयमा टाढा–टाढाबाट बिरामी बोकेर आएका आफन्तहरू अस्पताल आइरहेका थिए। कसैले बिरामीलाई डोकोमा बोकेका थिए भने कसैले साना बालबालिकालाई पिठ्युँमा। स्वास्थ्यकर्मीहरू मानसिक रूपमा आहत थिए। उपकरणहरू बिग्रिएका थिए। सेवाप्रवाह प्रभावित भएको थियो। अन्ततः यसको प्रत्यक्ष असर ती निर्दोष नागरिकमाथि पर्यो, जो उपचारको आशामा अस्पताल आएका थिए।
त्यस क्षण मनमा एउटा रूपक बारम्बार आइरह्यो, दुई थोपा विषले सिंगो पोखरी विषाक्त बनाउँछ। विष हाल्ने व्यक्ति एक वा दुई जना मात्र हुन सक्छन्, तर त्यसको असर सम्पूर्ण पोखरी र त्यहाँ आश्रित सबै जीवहरूले भोग्नुपर्छ। पलाँता अस्पतालको घटनाले पनि यही यथार्थ सम्झाइदियो।
कर्णालीका अधिकांश नागरिक आफ्नो माटोप्रति गहिरो माया राख्ने, दुःख–सुखमा एकअर्काको साथ दिने र विकासको सपना बोकेर बाँचिरहेका मानिसहरू हुन्। उनीहरू आफ्नै गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा, खानेपानी, सडक र उज्यालो भविष्य चाहन्छन्। भूगोल कठिन छ, अवसर सीमित छन्, तर परिवर्तनप्रतिको चाहना कमजोर छैन।
यही कारणले सार्वजनिक सम्पत्तिको संरक्षण, सेवा प्रवाह गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक तथा कर्मचारीहरूको सम्मान र सुरक्षालाई नागरिक जिम्मेवारीका रूपमा लिन आवश्यक छ। कुनै पनि सेवा प्रदायकले सुरक्षित वातावरण नपाए दुर्गम क्षेत्रमा दक्ष जनशक्ति टिकाइराख्न झन् कठिन हुन्छ। त्यसको मूल्य अन्ततः स्थानीय नागरिकले नै चुकाउनुपर्छ।
पलाँता अस्पतालको घटना केवल एउटा आपराधिक घटना होइन, यसले समाज, राज्य र नागरिक सबैलाई आत्मसमीक्षा गर्ने अवसर दिएको छ। दोषीलाई कानुनअनुसार कारबाही हुनु आवश्यक छ। तर त्यत्तिकै आवश्यक कुरा के हो भने केही व्यक्तिको गैरजिम्मेवार व्यवहारका आधारमा सिंगो कालिकोट वा कर्णालीलाई बदनाम गर्ने प्रवृत्तिको पनि प्रतिवाद गरिनुपर्छ।
हामीले सम्झनुपर्छ- समाजको पहिचान केही व्यक्तिको गल्तीले होइन, बहुसंख्यक नागरिकको चरित्र, संस्कार र जिम्मेवारीले निर्धारण गर्छ। त्यसैले दुई थोपा विष पोखरीमा पर्न नदिनु, र परिहाले पनि समयमै हटाउनु, हामी सबैको साझा जिम्मेवारी हो।